PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

ए! नारा’न!! एनआरएन


डा.गोविन्द कार्की /पहिलोपोस्ट

ए! नारा’न!! एनआरएन
  • डा.गोविन्द कार्की -
केही मानिसलाई ए! नारा’न!! एन.आर.एन. भन्दा दु:ख लाग्ला तर , विदेशमा वसोवास गर्ने नेपालीहरुको पनि संगठन बनाउन आवश्यक ठानेर सन् २००३ मा परिकल्पना गर्दा सायदै आजको यो विरुप एनआरएनको कल्पना गरिएको हुँदो हो? संयोगले यसका सुरुवाती अभियन्तामध्ये एक उपेन्द्र महतो वा अरुसँग यो प्रश्न सोधुँला। अझ कुनै माध्यमबाट उत्तर दिए भने पनि आभारी हुनेछु। एनआरएनको स्थापना भएको करिब १५ वर्षको अवधिमा ७५ देशमा विस्तार भएको छ। कुनै पनि संगठनको १५ वर्ष अवधि पक्कै कम हैन। तर, संस्थाको शुरुवाती अवस्थाको लक्ष्य, उदेश्य हासिल गर्न सफल हुँदैछ त? विदेशमा बस्ने नेपालीको प्रतिनिधि संस्था हो त? उनीहरुको हकहितको संरक्षण गरेको छ त? समीक्षा गर्ने बेला भएको छ।

एनआरआइ (नन रेसिडेन्ट इन्डियन) को सिकोमा गठन भएको यो संस्था शुरुवातमा विदेशी नेपाली र नेपालमा राम्रै आकर्षणको थियो। किनकि माओवादी द्वन्द्व कालमा लगानी गर्न कोही इच्छुक नभएको बेलामा यसले जलविद्युत र भौतिक पूर्वाधारमा लगानी गर्ने आकर्षक नाराअघि सारेको थियो। बाहिरी संसार राम्रोसँग नदेखेका राजनीतिक दल र सरकारले समेत यो कुरा पत्याए। हाल संस्थाले अन्तराष्ट्रिय सम्मेलनमा समेत नेपाल सरकारबाट खर्च मागेर विवादित बनाएको छ। 

विगत १५ वर्षमा खाडी मुलुकबाट पठाएको रेमिट्यान्सको पाँच प्रतिशत पनि एनआरएनको तर्फबाट लगानी भएको छैन। बोली र व्यबहारबीचको फरक थाहा पाउन एनआरएनमार्फत भूकम्प पीडितलाई बनाइदिने भनेको घरहरुको गतिप्रगति हेरे मात्र पनि पुग्छ।

‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने नारा त विदेशमा बस्ने नेपालीलार्इ आकर्षक छँदै थियो। यसको निहितार्थ थियो दोहोरो नागरिकता। कुनै कारणले नेपाली नागरिकता त्यागेकालाई यही मेसोमा विदेशीमा स्थायी वसोवासपत्र नत्यागी फेरि नेपाली नागरिकता लिए दुवै हातमा लड्डु हुने भयो। एनआरएन यो उद्देश्यमा सफल पनि भयो। नागरकिताको नयाँ प्रावधान संविधानमा राखेर। त्यो आफैमा नेपालको दीर्घकालीन हितमा छ कि छैन? त्यसले नेपाल र नेपालीलाइ के फाइदा हुनेछ? केही वर्षपछि थाहा हुने नै छ। शुरुवाती अवधिको आकर्षक नारा, तत्कालीन नेतृत्वका तुलनामा राजनीतिकले निरपेक्ष, सार्वजनिक/सामाजिक रुपमा कम विवादित र आर्थिक रुपमा सम्पन्नशाली भएको कारण एनआरएन विवाद रहित र उदेश्य उन्मुख थियो भन्दा फरक नपर्ला। तर, समयसँगै लक्ष्यअनुसार काम गरेको छैन भन्न हिच्किचाउनु पर्दैन। ठाउँ र आस्थाअनुसार राजनीतिक दलको गोटीमा विकास हुँदै गएको जगजाहेर छ। अहिले यस्तो अवस्थामा पुगिसक्यो कि यसरी एनआरएन चल्ने हो भने यसको औचित्य र आवश्यकता दुवै सकियो भनेर घोषणा गरिएदिए पनि सही नहोला तर, गलत पनि हुने छैन।

एनआरएनको परिकल्पना गर्नु आफैमा महत्वपूर्ण र आवश्यक कदम थियो। यसको उद्देश्य कही व्यक्तिको सामाजिक छवि उँचो बनाउने मात्र नभई नेपालको भलोकै थियो भन्नेमा शंका नगरौं। कुनै पनि संगठनमा राजनीतिक विचारको महत्व नै छैन र विचारले संगठनलार्इ नै असर गरेको हुन्न भन्नेमा पनि दुर्इ मत नहोला। तर, के प्रत्येक संगठन राजनीतिक ‘बँधुवा मजदुर’हरुको खेल मैदान नै हुनुपर्छ र? के राजनीतिक संगठनको अभाव भएर नै एनआरएन जन्मिएको हो र? के प्रजातान्त्रिक अभ्यासको नाममा कुनै राजनीतिक दलको संस्थामा नै चुनावी मैदानमा उत्रनु पर्ने हो र? कुनै अमुक राजनीतिक दलका व्यक्ति किनारमा बसेर समर्थन र बिरोधमा ताली वा गाली बर्साउनै पर्ने हो र? एनआरएनका अभियन्ताले ठण्डा दिमागले सोच्ने बेला आएको छ।

केही समय यता एनआरएन स्थापना भएका र विवाद नभएको ठाउँ कहाँ होला। अमेरिकालगायत विकसित मुलुकको कुरा गरी साध्य छैन। यसको एउटै कारण हो राजनीतिक दलको ‘भगिनी संस्थ’मा लैजान खोज्नु। एक मात्र एजेन्डा हो अमुक व्यक्ति जसरी पनि नेतृत्वमा पुग्नु। योबाहेक अर्को कुनै एजेन्डा नै छैन। कसैले केही एजेन्डा ल्याईहाले पनि यति हास्यास्पद हुन्छ यो एजेन्डा एनआरएन कै हो रᵎ भन्न पनि लाजै लाग्ने।

एनआरएन अमेरिकाको मात्रै कुरा गर्ने हो भने केही सिमित मान्छे मात्र आकर्षित छन्। तीमध्ये आफ्नो युवा उमेर नेपालमा नै बिताएका, राजनीतिको नशा लागेका तर, आफ्नो आर्थिक उन्नत्तिको खासै भविश्य नदेखी आफू र सन्ततिको सुरक्षित भविश्यको लागि ‘भतुवा’ लागेका र पारिवारिक दायित्व नभएका पहिलो पुस्ते, अधबैसे वा प्रौढहरु पर्छन। यद्दपी व्यवसायिकमा आफ्नो सफल छवि बनाएर सामाजिक छवि बढाउन लागेका एकाध अधबैसे पनि सम्लग्न नभएका भने हैनन्। राजनीतिभन्दा नितान्त अलग तर, पेशागत र व्यवसायमा सफल र असल छवि बनाएका पेशाकर्मी, अनुसन्धानकर्ता, प्रोफेसर, युवावर्ग र दोश्रो पुस्ताको नेप्लिज अमेरिकनको संलग्नता एनआरएनमा सुन्य छ भन्दा पनि हुन्छ। अमेरिकामा वसोवास गर्ने नेपाली करिब एक लाख पचास हजारभन्दा बढीमध्ये करिब पन्ध्र हजार मात्रै सदस्य भएकोबाट पनि बुझ्न सकिन्छ। यो संस्थाप्रतिको अनाकर्षण। यसका अरु धेरै कारण हुन सक्छन तर एउटा मूल कारण भनेको संस्थालाई राजनीतिक भगिनीमा विकास गर्नु र प्रजातान्त्रिक अभ्यासको नाममा प्रत्यक्ष्य राजनितिक सहभागिता हुनु हो। 

अझ प्रष्ट भनौँ, केही राजनीतिक दलका ‘हनुमान’हरुले आफ्नो स्वार्थ सिद्दका लागि एनआरएनलाई माध्यमको रुपमा प्रयोग गर्नु। अन्य कारणहरुमा नेतृत्वकर्ताहरुको व्यवहारमा एक रुपता नहुनु, मूल एजेन्डाबाट बिमुख हुनु, पेशागत र सामजमा उचो छवि भएकालाई संगठनमा आकर्षण नगर्नु र भएकालाई अपमान गरी पार्टी भजन मण्डलेहरुको निर्माण गरी त्यसैबाट परिचालित हुनु र पारदर्शिता र जवाफदेहिता नहुनु आदि रहेका छन्।

संस्थालाई नेतृत्व दिने क्षमता के हुनुपर्ने? नेतृत्वको विकास कसरी गर्ने? नवीतम प्रविधिसँग अध्यावधिक युवा पुस्ता र अनुसन्धानकर्तालाई कसरी आकर्षित गर्ने? युवालाई आकर्षित गरी नेपालमा कसरी पुर्याहउने? भन्नेमा ध्यान नै पुगेको छैन। यस्तो लाग्छ एनआरएन हुनु भनेको चुनाव जित्ने र आफ्नो स्वार्थ पूरा गर्ने एक मात्र उद्देश्य हो बाँकी सदस्य तिनका माध्यम मात्र।

अन्त्यमा,
विगत केही वर्षदेखी एनआरएन स्थापना भएका प्राय: सबै ठाउँको गतिविधि नियाल्दा यो संस्था यसरी नै चल्ने हो भने केही पहिलो पुस्ते ‘भतुवा’ र अमुक राजनीतिक दलका हनुमान र धनाढ्यहरुको राजनीतक क्लब मात्रै हुनछ। उनीहरुले आफ्नो बहिर्गमनसँगै यो संस्थाको आवश्यकता र औचित्य दुवै समाप्त पारी अवशानसमेत गर्नेछन। एनआरएनले साँच्चै परिकल्पना गरेको लक्ष्य प्राप्त गर्ने हो भने अमुक पार्टीको राजनीतिक गन्ध आएका प्राणीलाई अलग्गै गरी, सामाजिक/सार्वजनिक छवि उच्च भएका, र नयाँ सोच भएका युवा पुस्तालाई नेतृत्व गर्ने गरी आकर्षित गर्न सक्नुपर्छ। आगामी अन्तरास्ट्रिय सम्मेलनले यसमा सोचोस् भनेर कामना चै गरौँ। र भनी हालौँ, पवित्र उद्देश्यमा सामजिक काम गर्न, व्यवसाय गर्न वा प्रत्यक्ष र परोक्षमा जहाँ भए पनि नेपाल र नेपालीको हित गर्नु एनआरएनमा बिकल्प हुँदै होइन। एनआरनएनले अहिलेको चर्तिकला समयमै नसच्याउने हो भने हामी सबैले भन्नै पर्नेछ ए! नारा’न!! एन.आर.एन.

(पेसाले सिभिल इन्जिनियर तथा हाइड्रोलोजिस्ट र हाल अमेरिका स्थित एक अन्तरास्ट्रिय कन्सल्टिङ फर्ममा ड्रेनेज इन्जिनियरको रुपमा कार्यरत) 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट