PahiloPost

Oct 17, 2018 | ३१ असोज २०७५


आतंकको बाटो रोज्नेलाई राजनीतिको जामा नपहिर्‍याऊ, नत्र फेरि अस्थिरता


प्रभात भट्टराई/पहिलोपोस्ट

आतंकको बाटो रोज्नेलाई राजनीतिको जामा नपहिर्‍याऊ, नत्र फेरि अस्थिरता
  • प्रभात भट्टराई
निर्वाचनको मुखमा दर्जनौँ बम आक्रमण भएपनि अन्ततः मतदाताको उत्साहित उपस्थितिमा प्रतिनिधि र प्रदेशसभा चुनाव सम्पन्न भएर धमाधम परिणाम आइरहेका छन्। वाम गठबन्धनको निरन्तर जितको खबरले चुनावको पूर्वसन्ध्यामा भएका हिंसा र आततायी गतिविधिलाई बिर्साएको भान परेको छ। 

सात वर्षीय बालकदेखि उम्मेद्वार एवं सुरक्षाकर्मीसम्म बिना कारण बम आक्रमणमा परेका थिए। प्रहरीले प्रायः सबै हिंसाका घटनामा एउटै पात्रको हात ठहराएको छ- नेत्रविक्रम चन्द 'विप्लव'। 

राजनीति र हिंसा कहिल्यै एक हुन सक्दैन। तर, नेपालमा एउटा गलत नजिर स्थापना भइसकेको छ। पुष्पकमल दाहाल 'प्रचण्ड' हिजो हिंसात्मक समूहको नेतृत्व गरेकै कारण आज मुलुकको प्रमुख नेताको रुपमा स्थापित भएको यथार्थले विप्लवलाई पनि लोभ्याएको छ। त्यसैले १० वर्षे द्वन्दताका प्रचण्डको एक 'सिपाही' देखिएका विप्लव शान्ति प्रकृयामा लामो समय टिक्न चाहेनन्। सुरुमा मोहन वैद्यलाई अघि सारेर माओवादी पार्टी फुटाए। पछि मोहन वैद्यलाई समेत छोडेर छुट्टै समूह बनाए।

विप्लव नेकपा माओवादी पार्टी नामको संगठन खोलेर यो सबै गर्न किन हतारिए त भन्ने प्रश्नको जवाफ पनि अब लगभग फेला परि सकेको छ। उनको दिमागमा हिंसाप्रतिको राग यति गहिरोसँग गाडिएको छ कि अहिले बेरोजगार युवालाई अनेक सपना देखाएर शान्तिपुर्ण सभा समारोह देखि बाटो र व्यक्तिका घरसम्म बम बिष्फोट गर्न उकासि रहेका छन्। 

उनी राजनीतिकवाद या आदर्श बचाउन यसो गरिरहेका छैनन्। हिंसाबाट शक्ति र सम्पत्ति आर्जन उनको मूल ध्येय देखिन्छ। व्यवसायीहरुलाई अनेक बहानामा चन्दा दिन बाध्य पारि रहेका छन्। विप्लवले कतै कसैको सम्पत्ति कब्जाको घोषणा गरे भने बुझ्दा भएको छ- उनले मागेजति पाएनछन्। 

विप्लव हिंसाका पुजारी हुन्। त्यसैले उनीसँग बिचार भन्ने चिज छैन। जो उनको बाटोसँग असहमत हुन्छ उनले भौतिक आक्रमणको धम्की पाउँछ। विप्लवको आततायी बम बिष्फोटमा परि एक म्यादी प्रहरीले दाङमा ज्यान गुमाए। परिवार र लालाबालाको जीवनमा थोरै भए पनि उज्यालो ल्याउने सपना देखेर महिना दिनका लागि प्रहरी बन्न गएका ती निर्दोष अब कहिल्यै नफर्किने गरि गए। कांग्रेस उम्मेद्वारहरु रामशरण महत एवं गगन थापा लक्षित गरि गम्भिर आक्रमण भयो। तर, हिजो हिंसाकै बाटोबाट राजनीतिमा आएका केहि नेताले यो घटनालाई समेत मजाक बनाएर ‘आफैँले बम पड्काएको’ भन्नेसम्मका अभिव्यक्ति दिए। 

पुर्व प्रधानमन्त्री एवं भावी प्रधानमन्त्री रुपमा हेरिएका केपी शर्मा ओलीले समेत यस्तै अभिव्यक्ति दिएका थिए। लोकतन्त्र प्रति प्रतिबद्ध कुनै पनि राजनीतिक नेताले आफुसँग शान्तिपुर्ण प्रतिश्पर्धामा रहेको दलको नेता माथि भएको हिंसामा यसरी खुच्चिङ मच्चाउन सक्दैन। ओलीको अभिव्यक्तिले उनीभित्र गडिएको दम्भ र आफ्नो स्वार्थ पूर्ति भएको खण्डमा हिंसालाई पनि क्षम्य मान्ने सोच प्रकट भएको छ। यस्तै सोचका साथ उनी पाँच बर्षका लागि प्रधानमन्त्री बने भने देशले निकाश पाउने होइन नागरिकले शान्तिपुर्ण रुपले सास फेर्न समेत कठिन पर्न सक्छ। त्यसैले अब पाँच बर्षका लागि स्थिर सरकार बन्ने भयो भनेर ढुक्क भइ रहेका बेला यो चुनौतीलाई नजर अन्दाज गर्न सकिँदैन।

अहिले विप्लव जे गरि रहेका छन् हिजो १० बर्षे हिंसा पनि यसै गरि सुरु भएको थियो। त्यस बेला गाउँ घरको सुरक्षामा खोलिएका प्रहरी चौकी, जहाँ एकाध हतियार दिएर ४/५ जना जवान खटाइएका हुन्थे, मा गुरिल्ला आक्रमण गरि ज्यान लिने र भएको हतियार खोस्ने लगायतका कृयाकलाप सुरुमा देखियो । आफ्नो बिचारसँग असहमत गाउँ ठाउँका शिक्षक एवं अरु भद्र भलाद्मीलाई विस्थापित हुन बाध्य पार्ने, अटेर गर्नेको ज्यान नै लिने जस्ता हर्कतमा राज्यले सुरुमै प्रभावकारी कारबाही गर्न नसक्दा झिल्को देखिएको समस्या पछि डढेलो बन्यो। अन्ततः १७ हजार नागरिकले ज्यान गुमाउने पुगे। 

अब पनि बेलैमा सचेत नहुने हो भने त्यहि अवस्था दोहोरिँदैन भन्न सकिँदैन । ठाउँ ठाउँमा बम र बारुद राखिएको हल्लाका बीच पनि ७० प्रतिशत मत खस्नुले पुष्टि गर्छ कि आम जनता लोकतन्त्रको संस्थागत विकासका लागि कति धेरै ब्यग्र छन्। यो तथ्यलाई राजनीतिक नेतृत्वले पनि यही ढंगले बुझ्न जरुरी छ । हिजोको १० बर्षे द्वन्दले मुलुकलाई दशकौँ पछि धकेलि सकेको छ । अब फेरि कसैले क्रान्तिको नारा दिएर हिंसा थाल्ने र त्यसलाई राजनीतिको जलप लगाएर लम्ब्याउन तर्फ मुलधारमा रहेका कुनै पनि दल लाग्नु हुँदैन । हिंसा र आतङ्कलाई त्यही रुपमा लिने र त्यस्तै व्यवहार गर्नु पर्छ ।

फरक धारको राजनीति गर्नेले लोकतन्त्रमा चुनाव बहिष्कार गर्न पाउँछ । बहिष्कारका लागि शान्तिपुर्ण आह्वान पनि गर्न पाउँछ । तर, जब बहिष्कारका नाममा उम्मेद्वार, सभा समारोह या सडक लक्षित गरि बम बिष्फोट हुन थाल्छन् त्यहीँबाट छुट्टिन्छ राजनीति र हिंसाको सीमाना । अनेक त्राश र धम्कीका बीच आम जनताले मतदानमा सरिक भएर शान्ति प्रतिको आफ्नो प्रतिवद्धता पुनः प्रदर्शन गरि सकेका छन् । अब हिंसा मार्गीलाई जवाफ दिने पालो मुलधारमा रहेका राजनीतिक दल र राज्य संयन्त्रको हो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट