PahiloPost

Aug 22, 2018 | ६ भदौ २०७५

परिचित 'स्माइल'वाला विवेकशीलको खोजी : खोइ कहाँ पुग्यौ?


स्वेच्छा राउत/पहिलोपोस्ट

परिचित 'स्माइल'वाला विवेकशीलको खोजी : खोइ कहाँ पुग्यौ?
स्माइलवाला चिन्ह ब्रान्ड बन्दै थियो। मुस्काइरहेको मुहारलाई ब्याच बनाएर छातीमा भिर्दै 'नेपाल खुला छ' भन्दै जब सडकमा भर्खरका युवा उत्रिन्थे, एक किसिमको जोश आउँथ्यो। राजनीतिबाट टाढा रहन रुचाउने मजस्ता धेरैलाई मुस्कानसहितको ब्याचधारीले आकर्षित गरिरहेका थिए। संविधान बनाउन सडकमा थाल ठटाउँदै हिँड्दा होस् या सामाजिक मुद्दालाई लिएर बालुवाटार घेर्दा, जाउँजाउँ लाग्थ्यो। राजनीतिमा म र मेरो पुस्तालाई चासो राख्नुपर्छ भन्ने सिकाउँदै थियो – स्माइलवाला ब्रान्ड। उनीहरु त्यही ब्रान्डबाट विवेकशील बनाउँदै थिए, मजस्ता भने राजनीतिमा चासो राखेर विवेकशील बन्न सिक्नुपर्छ भन्नेमा आकर्षित हुँदै थियौं। नहुनु पनि किन स्थानीय चुनावपछि मात्र धेरैले चिनेको रञ्जु दर्शनाहरु सधै चलिरहेको खराबतन्त्रको विरुद्ध झ्याली पिटिरहेका थिए। उनीहरुको अभियानमा लोभी लालची देखिँदैन थिए। 

नामले पहिचान नभए पनि रञ्जुको जोशिलो अनुहार, मिलन पाण्डेको मिलनसार व्यवहार, उज्जव थापाको इमान्दार सोचले परिवर्तनको प्रस्ट संकेतहरु देखाइरहेका थिए। राजनीतिमा लामो समयदेखि देखिएका वैराग्यलाग्दा मुहारसामु यी अनुहारहरुले सम्भावनाको पर्दा खोलिरहेको थियो। मलाई त्यसैले आकर्षित गर्थ्यो – भविष्य यिनीहरु नै हुन् भन्ने लाग्थ्यो। 

सामाजिक मुद्दाको समर्थनमा जुलुस र नारावाजी। राजनीतिक अनियमितताको विरोध। भ्रष्टाचारका विरुद्धमा र्‍याली। विरोधको शैली पनि लोभलाग्दो। न ढुङ्गामुडा, न चक्काजाम। विवेकशीलको जग हँसिला मुहारहरुले यसरी गाडे कि मजस्ताको ध्यान खिचिनु स्वभाविक बन्यो। विवेकशील भनेको कुनै दल वा व्यक्तिमा थिएन। न त्यो उज्वल थापाको अनुहार वा मिलन पाण्डे र रञ्जु दर्शनाहरुकैमात्र मुहारको प्रतीक थियो। राजनीतिलाई 'डर्टी गेम' बुझ्ने हामी युवामा यसको आवश्यकता बारे चेत भर्ने यो समूह आफैँमा एउटा गजवको प्रयास बन्यो। 

नेपाल खुल्ला छ। अब संविधान देउ। गोविन्द केसीका मुद्दामा समर्थन। भूकम्प पीडितलाई सहयोग। पुनर्निर्माणका लागि दवाव। वाग्मती सफाई अभियान। सामाजिक सञ्जालमा उत्तिकै सक्रियता। विवेकशीलका गतिविधिहरु देशभित्रै र देशबाहिर पनि फैलियो। देशमा केही हुन्छ भन्ने अपेक्षा गर्नेहरु बढ्न थाले। मजस्तै उमेर समूहका धेरै विदेशिइसकेका छन् अहिले पनि। उनीहरु पनि देशमा आफूजस्तै उमेर समूहकाको गतिविधि हेरिरहेका थिए। उनीहरुलाई पनि लाग्यो – यिनीहरुले चाहिँ केही गर्छन्। 

***
विवकेशील राजनीतिक दल बन्यो। मेनस्ट्रिम पोलिटिक्समा भिज्नुअघि र मतदाताले पार्टीलाई चिन्नुअघि ३ प्रतिशत थ्रेसहोल्डको रिस्क लिएर चुनावी तयारी आफैँमा एउटा हिम्मत थियो जुन उज्जवल थापाहरुले देखाए। ठूला भनिने दलहरुलाई धक्का दिन चुनावी मैदानमा कोही आउँदैछ है भन्ने संदेश प्रवाह भयो गजबले। जनताले विवेकशीललाई चिने। विवेकशीलले मतदातामा बनाएको 'ह्विम' बलियो थियो भन्ने उदाहरण हो - स्थानीय तहमा रञ्जु दर्शनाले पाएको मत। 

स्थानीय निर्वाचन लगत्तै विवेकशील र साझा पार्टी एकीकरण भयो। साझा पार्टीमा रवीन्द्र मिश्र र किशोर थापाहरु थिए। आफ्नो पेशाका दिग्गज। परिवर्तनको नारासहित दुई युवा केन्द्रित दलको एकीकरणले धेरैलाई झन् आशावादी तुल्यायो। देशभित्र कब्जा जमाएर बसेका राजनीतिक दलका नेतासामु विवेकशील साझाले हम्मेहम्मे पार्ने देखियो। विदेशमा बसेका नेपालीहरु भर्चुअल रुपमा नेपालसँग जोडिइरे। 

तर, यति धेरै उत्साह र समर्थन पाउँदा पाउँदै विवेकशीलले गाडेको सामाजिक मुद्दाको जग भने धर्मरायो।  जनतासँग जोडिएका एजेन्डाका प्रतिविम्बहरु मधुर भइरहँदा केही अनुहारमात्र 'ब्रान्ड' बन्दै थिए विवेकशील साझाका। मिडियाको नजरमा पनि साझाका रवीन्द्र मिश्रहरुको मुहारमात्र झल्किँदै गयो। उज्वल थापा, मिलन पाण्डे, पुकार बमहरु मिडियाका 'विकाउ माल' बनेनन्। जनताका मुद्दालाई बोकेर आफ्नै शैलीमा आफूलाई चिनाई रहेका यिनीहरु सम्पादकहरुका आँखामा परेनन्। मिडियामा मिश्र र सुर्यराज आचार्यहरु छाइरहँदा सिंगो विवेकशीलको अनुहार क्रमश: छायाँमा पर्‍यो। आफ्नै चुनाव चिन्ह तराजुमा विवेकशीलहरुको तौलमाथि उनीहरुकै संगठनको आडमा चुनाव लडिरहेका साझाका उम्मेदवारहरु भारी हुँदै गए। प्रचार प्रसारको क्रममा सामाजिक सञ्जालमा छाएका भिडियो, पोस्टर र नाराहरुले विवेकशील साझालाई चिनाउन त चिनायो। विवेकशील साझा चिन्नेले तराजु चिने। तराजु चिन्नेले रवीन्द्र मिश्रलाई चिने। तर, धेरै युवाले चिनेको विवेकशीलका उज्जवल थापा, सुबुना बस्नेत, मिलन पाण्डे, पुकार बम, अनुपा श्रेष्ठहरु सिनबाट 'फेड आउट' हुँदै थिए। १० प्रतिशत मत नपुग्नाले गगन थापाकी प्रतिस्पर्धी रहेकी सुबुना बस्नेतको त जमानत जफत नै भयो। 

***
महिनाको सात लाखको जागिर छोडेर राजनीतिमा लागेको चर्चा अगाडि राजनीतिका लागि योग्य बन्न सात वर्षभन्दा बढी समय लगानी गरेकाहरु कता हराए कता। न विवेकशीलले तय गरेको शहर केन्द्रित मुद्दामा अडिग रहन सके न दुर्गम क्षेत्र, निम्न वर्ग र पिछडिएकाहरुको आवाज बन्ने छाँट देखाए। विवेकशील 'इलिट'को मुद्दामा हरायो। उनीहरुको उम्मेद्वारी र प्रचार प्रसार त महिला, जनताजि, दलित, मधेशी, मुस्लिम केन्द्रित भएन नै।

जनस्तरमा पनि देशका सीमान्तकृत, भूमिहीन, अधिकारबाट बञ्चितहरुको समस्याको सम्बोधन भएन उनीहरुबाट। समाजभित्रै नागरिकता नपाउनेहरुका मुद्दा, हरेक वर्ष बस्ने छाप्रो फेर्दै जङ्गल जङ्गल चहार्नेका चासो, भाषा समस्याका कारण स्कूलको पढाई पूरा गर्न नसक्नेहरुका इस्यू पनि अटेनन्। यी मुद्दा छाडेर विवकेशील साझाले भन्यो – समृद्धि हाम्रै पालामा। भ्रष्टाचारमुक्त समाज। आदि आदि। एकैपटक राष्ट्रिय दल अनि अर्को पटक शासन सत्ता नै लिने अद्‍भुत सपना।  

नारा त वर्षौंदेखि नेकपा एमालेले, नेपाली कांग्रेसले बोकेकै त थिए। माओवादीले यिनै नारासँग युवापुस्तालाई ह्वात्तै युद्धमा होमेकै हो त। परिवर्तन पनि ल्याएका हुन्। डिजिटल पोस्टमा अटाएका लोभलाग्दा नारामात्र हेरेर मजस्ता पुस्ताले विवेकशील साझामाथि किन भर पर्ने?

***
आफूभन्दा सम्पन्न कोही देख्दा लाज र अप्ठ्यारोले लुक्ने जनता नेपालमा छौं। सुटबुटमा कोही नयाँ मान्छे देख्दा 'सिनेमाको हिरो' सोचेर पच्छ्याउने पनि हामी बीचमा नै छौं। इन्टरनेटमा युरोप, अमेरिका हेरेर हाम्रो देश त्यस्तै होस् भन्ने चाहना राख्ने पनि छौं र गाडी/सडक कहिल्यै नदेखेको नेपाली पनि यही छौं। त्रिभुवन युनिभर्सिटीको सिस्टम भएन भनेर गाली गर्नेहरुभन्दा पर पाठ्यक्रममा भाषा समस्याका कारण स्कूल हाप्ने पनि देश भित्रै छौं। भेष र भाषाका कारण जनता र विवेकशील साझाका नेताबीच त्यो 'ग्याप' नहोस्। 

हामीले चाहेको हामी भित्रकै आवश्यकताहरुको अध्ययन हो। पहिचानको मुद्दा, मानव अधिकारको मुद्दा, भूमि अधिकारको मुद्दा- जुन काठमाडौं र सहरी क्षेत्रभन्दा टाढा टाढा मात्र भेटिन्छन्। त्यो अध्ययन अनुसन्धान, भिडियो बनाउँदा लाइट, क्यामेरा र एङ्गल मिलाएको जस्तो सजिलो पक्कै छैन। सजिलो भएन र त आजसम्म परिवर्तन भएन। परिवर्तन भएन र त विकल्प खोजिँदैछ। विकल्प खोजिँदै छ र त दुई महिना अघि एकीकृत विवेकशील साझा समानुपातिकतर्फ अन्य पुराना पार्टीसँग प्रतिस्पर्धामा रह्यो। आशाको बीच विवेकशील साझा पार्टी अब विकल्प बन्ने या वैकल्पिक शक्ति बन्ने जनतालाई प्रष्ट पारुन्। विकल्प बन्न आज विवेकशील साझाले पोस्टरमा बनाएको नारा केन्द्रित कामले पुग्ला। तर, वैकल्पिक शक्ति बन्नका लागि पार्टीको संगठन संरचना, कार्यनीति, सिद्धान्त आवश्यक छ।  

***
नयाँ सोच र वैकल्पिक राजनीतिको लक्ष्य लिएर हिँडेको विवेकशील साझा पार्टीले 'अरु बेइमान छन्, हामी इमान्दार छौं' भनिरहे। आफू ढंग भएको र अरु बेढंगी भएको आरोपलाई परिचयमा ठाउँ दिए। तर विवेकशील साझाले मुल्याङ्नको जिम्मा त जनतालाई दिनुपर्नेमा न्यायाधीश बनेर आफै फैसला सुनाइरहे। 

अरुलाई नराम्रो देखाएर राम्रो बन्ने मिसन विवेकशील साझाको फ्लप भयो। मेरो पुस्तालाई विवेकशीलको विवेकशील बन्न सिकाउने पुरानै स्वरुपको खोजीमा छु। पार्टीको एजेन्डामा समावेश 'राष्ट्र निर्माणको वृहत प्रक्रिया' भनेको युरोपको सडक र अन्य भौतिक पुर्वाधार हेरेर कोरिएका डिजिटल चित्र मात्र होइनन् भने नेता र पार्टी कम्फर्ट जोनबाट निस्किएर कुना काप्चामा पुगुन्। मजस्ता आउँदा पुस्तालाई राजनीतिमा लाग्न जोश बढावस्।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट