PahiloPost

Sep 20, 2018 | ४ असोज २०७५

चकटी बहसमा अविजित


शिशिर वैद्य/पहिलोपोस्ट

चकटी बहसमा अविजित
मार्टिन चौतारीमा बुकाहोलिकले गरेको चकटी बहसमा थियो उपन्यास ‘अविजित'। दुई दर्जन सहभागी बीच पत्रकार राजकुमार बानियाँ पुस्तकको शल्यक्रिया गर्दै थिए। सँगै बसेका थिए नव आख्यानकार एवं कवि विप्लव प्रतीक, भुटानी राजाले झैं केही चपाएर मुसुमुसु हाँस्दै। बुकाहोलिकका सदस्यहरु ध्यानपूर्वक सुनिरहेका थिए बानियाका व्याख्या। बानियाँ बोलिरहेका थिए। बानियाका कुराहरु परिचित, कतै पहिल्यै कसैले सुनाइसकेजस्तो लाग्यो। यसो गमेँ, ए बिहान भर्खर त पढेको कोशेलीमा। काठमाडौं रिभिजिटेड थियो शीर्षक। राजकुमार तिनै कुरा त्यहाँ वाचन गरिरहेका थिए। 

लेखक साथमा राखेर कृति माथि समीक्षा अलि अप्ठ्यारै भएर हो कि आफ्ना खरा टिप्पणी 'विप्लव दाजु'ले सहज र सकारात्मक रूपमा ग्रहण गर्नेमा उनी विश्वस्त हुन चाहिरहेका थिए। उनी बेला बेला विप्लव दाजु मेरा एकदम प्रिय हुनुहुन्छ पनि भन्थे। बानियाको समीक्षापछि चकटी बहसको पालो आयो। सहभागीहरु एक एक गर्दै बोल्न थाले। कोही पुस्तकमा चिनो लगाएरै आएका थिए। कोही टिपोट लिएर। पुस्तकको कमजोरी र विशेषता आ–आफ्नो ढंगले पस्किँदै थिए सहभागी। 

छलफलमा उठेका मध्ये दुई विषय सबैले महत्वका साथ पस्किए। एक नारीको भूमिका। अर्को पुरानो काठमाडौं। उपन्यासमा नारी पात्रलाई एकदमै थोरै महत्व दिइएकोमा छलफलमा सहभागी नारी पुरूष दुवैथरीलाई चित्त बुझेको रहेनछ। उपन्यासका नायक अविजितको नारीहरुसँगको सम्बन्ध अस्थिर हुनु पाठकका रूपमा धेरैजसोलाई ग्राह्रय नभएको प्रतिनिधि बहसले उठाएको थियो। राजकुमार बानियाँले पुस्तक समीक्षाको शीर्षकमै लेखे जस्तै उपन्यास ‘काठमाडौं रिभिजिटेड' जस्तै रहेको सबैजसो पाठकले अनुभव गरेका थिए। 

सहभागीहरू कोही नारीवादी भएर बोलिरहेका थिए, कोही मधेशी, कोही भाषाविद्। उपन्यासकार विप्लव सबैका कुरा सुन्दै मसुक्क हाँस्दै ठट्टा गरिरहेका थिए, माहोल रमाइलो बनाउँदै। छलफलका बीच विप्लव सरासर उठेर आफ्नो ठीक सामुन्ने तर लामो टेबलको अर्को कुनोमा बसिरहेका एक पाको उमेरका मानिसतिर गए। उनको हात समाए र नमन गरे। विप्लवका आँखा रसाउन मात्र सकेका थिएनन्। भाव भने श्रद्धाको थियो। ती पाको उमेरका मानिसले आफू विप्लवका पिताका मित्र भएको बताएको क्षण थियो त्यो। माहोल एकाएक गम्भीर बनेको थियो।

अविजित त मैले पनि पढिसकेको हुँ। राजकुमार बानियाको जस्तै विप्लव प्रतिक मेरा पनि प्रिय दाजु हुन्। त्यसो त म कविता पारखी होइन। तर, पनि उनका कविता मलाई मनपर्छ। कविता भन्दा मलाई उनको कविता वाचन गर्ने शैली अझ बढी मनपर्छ, संगीत विनाको मीठो गीत सुने जस्तो। अविजित उनको पहिलो उपन्यास हो। अमेरिकातिर बरालिँदा कोरिएका प्रारम्भिक शब्दहरु संगालिएर कतिखेर उपन्यास बन्यो पत्तै भएन भन्छन् विप्लव। 'लेख्छु भनेर लेखेको होइन। म उपन्यासकार होइन। यो मेरो विधा पनि होइन। म कवि पनि होइन। समाजमा देखिएका र समाजले नदेखेका केही भावहरुलाई अभिव्यक्त गर्ने कोशिश गर्ने एक जरिया मात्रै हुँ,' भन्छन् विप्लव। विप्लवले जे भने पनि मैले उनका निबन्धहरु पढेको छु। कम लेखेका छन्। जति छन् राम्रा छन्। सहभागीमध्ये कसैले मेरो मनको कुरा भनिदियो। अविजित पढ्दा मेरा सामु दृष्यहरु खेल्दथे। हो, मलाई पनि त्यस्तै भएको थियो। पुस्तक पढुन्जेल मलाई चलचित्र हेरिरहे जस्तो अनुभूति भइरहेको थियो। बाबुको मृत्यु, आमा अर्कैसँग गएको, बडाहाकिम भिनाजु कहाँको बसाई, मदनसँगको भेट, राजनीतिक आवद्धता, जीवनका अनेक मोडमा भेटिने नारी पात्रहरु, काठमाडौं शहरका भट्टी र त्यहाँ पाइने नेवारी परिकार, देशको राजनीतिक अवस्था... र मृत्यु। यी दृष्यहरु नै त हुन्। श्रृंखलाबद्ध गरी हेर्दा एक अब्बल दर्जाको क्लासिक फिल्म जस्तो लाग्ने। हिरो अविजित। अविजित हिरो भएको फिल्मको कथा उसकै वरिपरि घुमिरहनु स्वाभाविक नै त हो। राजकुमारको शब्दमा इपिसेन्टर। अविजित नामक इपिसेन्टरबाट उठेका तरंगहरु छरिएर थुप्रै पूरक पात्रहरुमा मिसिन्छ। फर्किएर फेरि इपिसेन्टरमै मिसिन्छ। उपन्यासमा त्यस्तै भएको छ। कथा पूरक पात्रकहाँ पुगेर फेरि अविजितमा मिसिन आउँछ। 

विप्लव भन्छन् 'मेरो उपन्यासमा आउने पूरक पात्रहरु अविजितले जीवनमा भोगेका घटनाहरुका साक्षी हुन्। ती विना अविजितको जीवन पूर्ण हुँदैन। तर त्यसो भन्दैमा ती पात्रहरुको बारेमा पनि उपकथाहरु थप्दै जाने हो भने उपन्यास निकै लामो हुन्छ। त्यो पाठकलाई न्याय गरेको ठहरिँदैन। साथीहरुले देखाइदिएका केही कमजोरीहरु मैले अनुभव गरेको छु। प्रकाशकले अर्को संस्करण प्रकाशित गर्ने संकेत दिएमा ती सच्चिने छन्।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट