PahiloPost

Dec 13, 2018 | २७ मंसिर २०७५


बाफ रे बाफ ! स्कुल ब्यागको भारी


शिशिर वैद्य /पहिलोपोस्ट

बाफ रे बाफ ! स्कुल ब्यागको भारी
जेम्स तुलाधर यो वर्ष विदामा बुबासँग नेपाल घुम्न आएको छ। बहिनी टिफनी पनि सँगै छिन्। उनीहरु दुवै नेपाली बोल्न जान्दैनन्। तर, आमा बुबासँग सँधै देश विदेश घुमिरहने भएकाले यहाँको माहोलमा घुलमिल गर्न उनीहरुलाई असहज छैन। जेम्स लण्डनमा बस्छन। मेरो छोरा अभिनव भन्दा जेम्स एक वर्षले मात्र कान्छो छ, उमेर एघार वर्षमात्र। पहिलो भेटमा छोराले जेम्सलाई तिमी कति कक्षामा पढ्छौ भनेर सोध्दा ऊ अलमलियो। क्लास! सेक्सन! सोध्दा उसले केही बुझेन। उसको बुबाले बुझाए पछिमात्र बुझ्यो। 

उसले भर्खर सिस्थ लेभल पास गरेको रहेछ। यहाँसम्म त ठीकै थियो। तर अभिनवको स्कुल जाने झोला देखेर जेम्स छक्क पर्यो। उसले झोला उचाल्न खोज्यो, अलिकबेर बोक्यो पनि। अनि फ्यात्त भुईंमा झार्यो। उमेरमा सानो भए पनि जेम्स हृष्टपुष्ट छ, अभिनवको तौलको झन्डै दोब्बर। तर पनि उसलाई अभिनवको स्कुल ब्याग बोक्न हम्मे पर्यो। 

तिमी यत्ति धेरै किताब कापी बोकेर कसरी स्कुल जान्छौ? जेम्सले अचम्म मान्दै सोध्यो। अभिनव हाँस्यो मात्रै। जेम्सको कौतुहलता मेटिएन। उसको कौतुहलता देखेर अभिनव अचम्ममा पर्यो। 'तिम्रो स्कुल ब्याग गह्रुँगो हुँदैन?,' अभिनवले सोध्यो। जेम्सले 'नो' भन्दै टाउको हल्लायो। 'होमवर्क नि?,' अभिनवले फेरि सोध्यो। जेम्सको जवाफ थियो, कहिले काहीँ मात्रै हुन्छ, त्यो पनि क्लासमा नभ्याए। जेम्ससँग छुट्टिएपछि अभिनवले मसँग सोध्यो, 'बाबा हाम्रो स्कुल ब्याग किन गह्रुँगो? हामीलाई किन सधैँ यत्ति धेरै होमवर्क?'

वास्तवमै कति गह्रौ रहेछ त छोरी र छोराको स्कुल ब्याग? मलाई तौलिन मनलाग्यो। एक दिन स्कुल जाने बेला घर नजिकैको पसलमा गएर पहिले छोरीको ब्याग डिजिटल तराजुमा राखें। झण्डै सात किलो थियो। अनि छोराको ब्याग जोखेँ। साढे पाँच किलो। बाफ रे बाफ! 

यी कलिला छोराछोरी दिनहुँ यत्रो भारी बोकेर स्कुल आउने जाने गर्दा रहेछन्। स्कुल जाने बेला सधैँ हातमा दुई तीनवटा किताब र कापी बोकेको देखेर एक दिन मैले छोरीलाई गाली गरेको थिएँ, 'किताब ब्यागमा नराखेर किन बोकेकी?' छोरीले झर्किएर उत्तर दिएकी थिई –  ब्याग कस्तो गह्रुँगो छ! 

सधैं कुम दुख्यो भन्ने, स्कुलबाट फर्किंदा थकित हुने, अनि केही भन्दा झर्किने त बानी नै परिसकेको थियो। कारण बुझ्न मलाई समय लागेन।
कूल आठ विषय। हरेक विषयका दुईवटा कापी। मोटा मोटा किताब। किताबको आकर्षक गाता माथिबाट स्कुलको नाम र लोगो अंकित अर्को ज्याकेट। यी सब अटाउने ब्यागको आकार कतिपय विद्यार्थीको ढाड भन्दा ठुलो हुने रहेछ। निजी स्कुलहरुको शैक्षिकस्तरको प्रतिस्पर्धा, पात्रो पूरा गर्नैपर्ने होड, अनि पुस्तक पसलेसँगको साँठगाँठमा हुने व्यापारिक फाइदाका लागि साना बालबालिका भरिया बनाइरहेका त होइन? अझ बीच बीचमा व्यावसायिक शिक्षा, पोर्टफोलियो, स्पोर्टस के के हो के के? थपिने सामाग्रीले उनीहरुले बोक्ने तौलको मात्रा झनै बढाउँछ। दैनिक बोक्नुपर्ने यो भारीका कारण थाकेको र गलेको बाल मस्तिष्कले के सिक्छ, के बुझ्छ? 

एक अन्तर्राष्ट्रिय अध्ययनले विद्यार्थीले बोक्ने झोलाको तौल बच्चाको तौलको दश प्रतिशत भन्दा बढी हुनुहुन्न भन्ने निष्कर्ष निकालेको छ। अध्ययनले ६८ प्रतिशत बालबालिका अधिक तौलको झोला बोकेर विद्यालय जाने गरेको पनि पत्ता लगाएको छ। 

बालबालिकाको मेरुदण्ड कलिलो हुन्छ। बढ्ने उमेरका बालबालिकामा लादिने अत्यधिक भारले मेरूदण्डको विकासमा नकारात्मक असर पुर्याउँछ। साथै भविष्यमा ढाड, कुम, गर्दन दुख्ने सम्भावना बढ्छ। हालै अष्ट्रेलियामा गरिएको एक अध्ययनले स्कुल व्यागको अधिक तौल, बोकिने समय, स्कुल पुग्ने दुरी र माध्यमका कारण साना बालबालिकामा गर्दन दुख्ने समस्या बढेको पत्ता लगाएको छ। हामीकहाँ यस्ता अध्ययन भएको पाइँदैन तर हाम्रा बालबालिकाले पनि भोग्ने समस्या यिनै हुन्। तौल प्रतिशत मापदण्ड र विद्यार्थीहरूले भोगिरहेको समस्याका बारेमा हाम्रा विद्यालय संचालक, शिक्षक र सरकार कोही पनि जानकार भएको देखिँदैन। न कसैले वास्ता नै गरेको छ। 

तस्बिर: expertisesmaritimesrhamel.com
पुस्तकको भारी जतिसुकै बोकाए पनि हाम्रो शिक्षण पद्धती तीन चार दशक अघिकै अवस्थामा छ। विद्यार्थीहरु गुरुले जे सिकायो त्यही घोक्छन्। विद्यार्थीहरुलाई सिकाइएको कुरा उनीहरुले कुन हदसम्म बुझेका छन्? जाँच गर्ने आधुनिक प्रविधि र शैली छैन। केवल पास हुने उद्देश्यले कण्ठस्थ पार्न सिकाइएको शिक्षाले विद्यार्थीमा जीवनोपयोगी कुराको विकास हुन दिँदैन। अनि फरक ढंगले लेखिएको उत्तर गुरुलाई चित्त बुझ्दैन। किनभने हाम्रा गुरुहरुलाई फरक कुरा जाँच्ने फुर्सदै हुँदैन। क्षमताभन्दा बढी विद्यार्थी भर्ना लिएका विद्यालय संचालकको दबावमा कोर्स पूरा गर्ने बाहेक उनीहरुको अरु ध्यान नै हुँदैन। 

विद्यालय सञ्चालकहरु विद्यार्थीलाई जति पुस्तकको भारी बोकाइयो विद्यालयको गुणस्तर त्यति नै राम्रो हुन्छ भन्ने धारणा राख्दछन्। धेरै पुस्तक, धेरै कपी नदिए विद्यार्थीले पढ्न सक्दैनन् ठानिन्छ। अनि अभिभावकले विद्यालयलाई राम्रो ठान्दैनन् कम भारी बोकायो भने।

विद्यालय सञ्चालक र शिक्षकहरुमा बढ्दो यस्तो मानसिकताले भारी झोलाको समस्या समाधानतिर जानु भन्दा झन् बढ्दै गएको छ। मनोविद् मोरिस एल बिगीका अनुसार– ‘विद्यालयको उद्देश्य विद्यार्थीलाई स्थानान्तरका लागि सिकाउनु हो ।’ यदि हाम्रा बालबालिका आफूले पढेका कुराबाट अर्थपूर्ण सिकाइको विकास गर्न सक्दैनन्, स्वतन्त्र र आत्मनिर्भर हुन प्रोत्साहित हुँदैनन् र आफुले सिकेका कुरा परिस्थिति अनुसार प्रयोग गर्न सक्दैनन् भने त्यो शिक्षाको अर्थ केही रहँदैन। बोक्न नसक्ने भारी झोलाले मात्रै पक्कै दिमाग भरिने होइन। 

स्कुलमा नै लकरको व्यवस्था गर्न सके विद्यार्थीको भारी झोलाको समस्या निकै कम हुनेछ। यसमा विद्यालय सञ्चालकहरु सचेत हुन आवश्यक छ। बालबालिकाको स्वास्थको ख्याल गरेर अभिभावक आफै पनि सचेत हुनु जरुरी देखिन्छ। यसका लागि सकभर स्कुल ब्यागको तौल बच्चाको तौलको १० प्रतिशतमा सीमित राख्ने प्रयास नै न्यायोचित हो। अनावश्यक पुस्तक र कपी घरमै राख्दा केही फरक पर्दैन। ब्यागको साइज अथवा चौडाई बच्चाको छातीको चौडाई भन्दा बढी हुन नदिने मापदण्ड नै आवश्यक छ। चौडा बेल्ट (स्ट्रिप) भएको ब्यागमात्र बोक्न दिनुपर्छ। दुवै कुममा बराबर पर्ने गरी ब्याग बोक्न प्रोत्साहन गर्नुपर्छ। एक कुमलाई मात्रै बोझिलो हुने गरी ब्याग बोक्न दिनु पूरै गलत हो। ब्याग कम्मर भन्दा मुनि झुन्डिने गरी बोक्न दिँदा थप तौल बढ्छ। यी ब्याग बोक्ने वैज्ञानिक काइदाले बालबालिकाको मेरुदण्ड, कुम र गर्दनलाई अधिक भार बोक्दा हुने नोक्सानबाट बचाउने काइदा हुन्। अन्तर्राष्ट्रिय अध्ययनले प्रमाणित गरेका यी तरिका बढ्ने उमेरका बालबालिकाको सिकाइमा सहयोगीको भूमिका निभाउने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट