PahiloPost

Aug 20, 2019 | ३ भदौ २०७६


ग्रहण लागेको नेपाली क्रिकेटमा आत्मसमीक्षाको खाँचो, भविष्य भने उज्ज्वल


सञ्जय धरेल/पहिलोपोस्ट

ग्रहण लागेको नेपाली क्रिकेटमा आत्मसमीक्षाको खाँचो, भविष्य भने उज्ज्वल

भनिन्छ, जे हुनुछ त्यो भएरै छाड्छ। लिखित कुरा मेटिन सक्दैन। आजसम्म नेपाली क्रिकेटमा भएकै पनि यही हो। 'चमत्कार' र 'बाल हृदय' क्रमश खेलाडी र समर्थकहरुका लागि उपनाम बन्दै आयो। हो,अधिकांश भगवान भरोसा। हो,अधिकांश पारस भरोसा।

उनी चले इतिहास लेखियो, उनी ढले वर्तमान लडियो। यो तितो सत्यबाट अगाडि बढेको, बढ्दै आएको नेपाली क्रिकेटको आजसम्मको इतिहासको सबैभन्दा ठुलो भूकम्प नै सिंगापुरविरुद्धको पराजय हो। सुरुवाती खेलमा कतारसँग र अन्तिम खेलमा सिंगापुरसँगको पराजय आयरल्यान्डले इंग्ल्यान्डलाई हराएको भन्दा पनि चर्को थियो। लाग्थ्यो, नेपाल सो खेलमा टिक्नै सकिरहेको छैन। माथिल्लो रेङकिङको नेपाल यति कमजोर देखिनुका कारण विविध छन् जुन क्रमश चर्चा हुदै जानेछन्।

नेपाली क्रिकेटमा मिहेनत के कति कहाँ कसले कसरी गरिरहेको छ सर्वविदितै छ। बर्सायामको पानी छल्न र सिंगापुरको पिच बुझ्न मलेसिया जानुलाई हामी मिहेनत ठान्छौ भने हामी गम्भीर भुलभुलैयामा छौ। खेलाडीहरुले पनि यही पिरियडलाई मिहेनत ठान्नु हुदैन। नेपाली क्रिकेटमा स्थिर मिहेनतको खाँचो छ जस्तो हङकङका खेलाडीहरुले गर्ने गर्छन्। गुजाराका लागि ५ दिन काममा जानुपर्ने र बचेको २ दिन क्रिकेट अभ्यास गर्ने। यस्तै स्थिर मिहेनतको खाँचो नेपाली खेलाडीले गर्नुपर्छ भन्ने चर्चा आम वृत्तमा चल्नु अस्वभाविक होइन।

'नेपालको बानी नै परेको छ अन्तिम समयमा खेल जित्ने' भनेर जसरी एक खेलाडीले भने, यसले के जनाउँछ भने नेपाली खेलाडीमा यो मनोविज्ञान गडिसकेको छ। यो मनोविज्ञान खेलाडीहरुले हटाउनुपर्छ। यही नै नेपाली क्रिकेटको हितमा छ। प्रशिक्षक उमेशको पछिल्लो बयानले त झन भयाभह छ। उनले नेपाली टिम लायक नै नभएको र यो टिम क्वालिफायर पुगेको भए झन् खत्तम हुने विवादास्पद अभिव्यक्ति दिए। ८० वर्ष क्रिकेट अनुभव भएका ४ सिनियर खेलाडी, विश्वस्तरिय टि २० लिगमा छनोट भएका २ खेलाडी भएको नेपाली टिमप्रति उनको यो अभिव्यक्ति किन आयो,यो उनैले बयान देलान् तर डिभिजन लिगबाट आएको नेपाललाई पुबुदुले कसरी टि २० विश्वकप पुर्याए, उनले यो इतिहासको आत्मसमिक्षा भने गर्नैपर्छ।

जे हुनु भइसक्यो। सत्य यही हो,फेरि पनि 'चमत्कार' भए नेपाल विश्वकप छनोट पुग्न सक्छ तर नेपाली क्रिकेटले यो 'चमत्कारिक' मनोविज्ञान भने त्याग्नै पर्छ। लाखौ क्रिकेट समर्थक भएको नेपाल देशमा क्रिकेटको भविश्य भने उज्यालो छ तर लाग्दै आएको ग्रहण हटाउन भने सुक्ष्म आत्मसमीक्षाको आवश्यकता छ जुन नेपाली क्रिकेटमा कम हुने गर्छ।

पैसा,लगानी र संरचनाले मात्रै खेल जितिदैन। त्यसो हुँदो हो त भारतले हरेक खेल, हरेक विश्वकप जित्नुपर्ने। क्रिकेटमा रणनीतिको पनि ठूलो भूमिका हुने जगजाहेर कुरा नै हो। नेपाली टिमको प्लेयर सेट हेर्ने हो भने रणनैतिक हिसाबले सुधारको खाँचो पनि छ। जस्तै, यदि हामी विनोद भण्डारीको क्षमतामा विश्वास गर्छौ भने उनलाई ७ होइन, ३ नम्बरमा खेलाउन सक्नुपर्छ। यदि हामी पवन सर्राफको अफस्पिनमा विश्वास गर्छौ भने हाल्ने/निकाल्ने भन्दा पनि सिनियर प्लेयर नै किन नहोस्,विश्राम दिएर मौका र रणनैतिक ट्रयाकमा युवा खेलाडीलाई प्रवेश गराउनु पर्छ। रणनैतिक चुक जाने मानेको देशमा त हुन्छ, हाम्रो त झन् सिक्दै गरेको देश, उदाउँदो देश बिग्रिएको केही छैन।

नेपालले हार्दा राति निदाउन नसक्ने, कलेजमा पढाई रहँदा मोबाइलमा महँगो डाटा किनि किनि गेम/अपडेट हेर्ने, खुत्रुके फुटाएर गाडी भाडा जोहो गर्दै मैदान पुग्ने, पर्दा जे पनि गर्ने, अन्तरार्ष्ट्रिय मञ्चमा नेपाली क्रिकेटको बलियो शक्ति बनेका समर्थकहरु छिमेकका तुलनामा अति संवेदनशील र सभ्य छन्। यसमा पूर्व खेलाडीले बोल्दा विचार पुर्‍याउनुपर्छ। आक्रोश र रोदनलाई गाली होइन माया सम्झिऔ। निराशा पटक्कै होइन। ३६ ओडिआई सामुन्ने छ। क्यान निलम्बन फुकुवाको संघारमा छ। खेलाडीको मेहनत छ। समर्थकको अपार साथ छ। राखेपको अभिभावकत्व छ। आईसिसिको सद्भाव छ। नेपालको भविष्य उज्यालो छ।

-लेखक नेपाली क्रिकेट समर्थक समाजका संस्थापक सदस्य हुन्।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट