PahiloPost

Jun 26, 2019 | ११ असार २०७६


निस्सिम किन मौन?


शिशिर वैद्य/पहिलोपोस्ट

निस्सिम किन मौन?

भनिन्छ, यो दुनियाँ एउटा रंगमञ्च हो र हामी सब कलाकार। यो रंगमञ्चमा हरक्षण, हरपल अनेक नाटकहरु मञ्चन भइरहन्छन्। कथा, विषयवस्तु उस्तै भए पनि पात्र, प्रस्तुती र भोगाइ फरक चलिरहन्छ। अनुभूति फरक हुन्छ। हेर्ने नजरिया पनि। किशोर किशोरी सामाजिक रंगमञ्चका नव कलाकार। युवावयमा पाइला चाल्न थालेका किशोर किशोरीको मनोविज्ञान बुझ्न सजिलो छैन।

उनीहरुका इच्छा र आकांक्षा अनेक हुन्छन्। युवावयमा पाइला चाल्न थाल्दा किशोर किशोरीहरु न केटाकेटी रहन्छन् न परिपक्व भइसकेका हुन्छन्। उनीहरु आफैँ चाहिँ परिपक्व, पोख्त र सक्षम भइसकेको ठान्छन्। तर, अभिभावकको नजरमा उनीहरु केटाकेटी, आलाकाँचा, अबुझ र अपरिपक्व नै हुन्छन्।

सञ्चारको तीब्र विकासले संसार सानो भएको छ। औंला चलाएको भरमा संसारभरिका खबर हात हातमा पुग्छ। खबरका साथमा पुग्ने गरेको छ अनेक असामाजिक, अश्लिल सामाग्री पनि। यस्तै सामाग्रीको लतले किशोर मनोविज्ञानमा नकारात्मक प्रभाव पार्ने सम्भावना अधिक छ। नकारात्मक मात्र होइन सकारात्मक र विकासका कुराले किशोरहरुमा उत्साह, उत्सुकता र बहस गर्न सक्ने क्षमताको विकास पनि गरेको छ, सकारात्मक पक्ष हेर्ने हो भन।

किशोर किशोरीहरुमा उत्साह र उत्सुकता हुन्छ। उनीहरु हरेक कुरामा बहस र तर्क गर्न चाहन्छन्। तर, परम्परागत ढर्राका शिक्षकहरु उनीहरुको यो व्यवहारलाई अनुशासनहीन, अमर्यादित ठान्दछन्। बुझाइको यिनै कमी कमजोरीले किशोर मनोविज्ञानमा नकारात्मक छाप परिरहेको छ।

संसार नै एउटा परिवार जस्तो भइसकेको अहिलेको विश्वमा हाम्रो समाज अझै संकुचित र संकीर्ण सामाजिक रितिथितिमा बाँधिएर बस्दा किशोर किशोरीहरुको स्वतन्त्र उड्ने चाहना नउम्रिँदै काटिएको चराको पखेटा जस्तै भएको छ। समाजमा देखिएका यस्तै समस्याका केही अंशलाई नाटकमा रुपान्तरण गरेका छन् घिमिरे युवराजले। नाटक ‘आँधीको मनोरम नृत्य’ मार्फत्। युवराज भन्छन् – किशोर किशोरीको मनोविज्ञान र उनीहरुले व्यक्त गर्न नसकेको कम्प्लेक्स समस्या नाटक मार्फत प्रस्तुत गर्नु ठुलो चुनौति हो।

समाज परिवर्तनशील छ। किशोर किशोरीहरु समाज परिवर्तनका सम्बाहक हुन्। किशोर किशोरीको चाहना र समाज परिवर्तनको गतिको सन्तुलन नमिल्दा बेला बेला अनेक द्वन्द्व हुने गरेको छ। आक्रोश प्रस्फुटन हुन नपाउँदा दुर्घटना हुने गरेका छन्। यो उमेरका किशोर किशोरीहरुमा शारीरिक परिवर्तन तीब्र गतिमा हुन्छ। विपरीत लिंगीप्रति आकर्षण बढ्छ। हावाले छुँदा पनि काउकुती लाग्ने उमेरमा प्रेम पलाउनु स्वाभाविक हो। तर, समाज र अभिभावकले यो काउकुती र प्रेमको पहिलो आभाषलाई सदियौंदेखि गलत भन्ने गरेको छ। अंकुश र बन्देज लगाउने गरेको छ। शिल्पी थिएटरमा चलिरहेको आँधीको मनोरम नृत्य नाटकमा किशोर किशोरीहरुको यिनै मनोदशाको सानो झलक देखाउन खोजेका छन् नाटककारले। यस्ता समस्याले भयावह रुप लिएका थुप्रै उदाहरण छन् समाजमा। नाटक अघि बढ्दै जाँदा, प्रकाशहरु परिवर्तित हुँदै जान्छन्। पात्रहरु फेरिन्छन्। संवादले कहिले गम्भीर बनाउँछ, कहिले हँसाउँछ। कहिले नृत्य, कहिले गाना गाउँदै गरेका युवा उमेरका कलाकारहरु किशोर–किशोरीको भूमिकामा निकै राम्रोसँग अटाएका छन् नाटकमा। काली (संगीता उराँव)को एकल संवादको क्षणले नाटकको सार बताउँछ। काली प्रश्न गर्छिन्– ‘के केटा र केटी असल साथी हुन सक्दैनन्? किन बुझ्दैन यो समाज हाम्रो भावना?’

निस्सिम पात्रलाई केन्द्रमा राखिएको छ नाटकमा। तर निस्सिम पात्रलाई आफ्नो मनोभावना पोख्न दिएका छैनन् नाटककारले। निस्सिम उड्न चाहन्छिन्। स्वतन्त्र भएर उड्न। उनले पढेकी छिन् महिला र पुरुष बराबर हुन्। क्षमतावान महिलाहरुको फेहरिस्त निकै लामो छ उनीसँग। निस्सिम ती महिलाजस्तै हुन चाहन्छिन् जसका नाम आदरका साथ लिइन्छ। तर, उसले पाउने शिक्षा अझै भृकृटी र सीताका आदर्श कथामा नै अल्झिएको छ। नाटक सकिन्छ तर निस्सिमको भावना छचल्किँदैन। यौन दुर्व्यवहार, असफल प्रेम, प्रधानाध्यापबाट पाएको मनोवैज्ञानिक त्रास, शिक्षकले लगाएका आरोप केहीबारे पनि बोल्दिनन् पात्र। उनी मौन बस्दा बस्दै नाटक सकिन्छ। निस्सिम किन मौन?

युवराज भन्छन्– सबै पात्र आफ्नो भावना पोख्न सक्दैनन् त्यसैले। कहिलेकाँही मौनताले धेरै कुरा बोल्छ।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट