PahiloPost

Mar 21, 2019 | ७ चैत्र २०७५

शासकको कानमा घनझैं बज्रेको एउटा गीत


 दुर्गा पंगेनी/पहिलोपोस्ट

शासकको कानमा घनझैं बज्रेको एउटा गीत

हाम्रो देश समय र परिस्थिति अनुरुप फेरिदै गयो। हामी जान्ने भएपछि नै देशमा निकै परिवर्तनहरु भए। युद्द सकिएर देशमा अमन चैन सुरु हुन थाले। युवा ढुक्क हुँदै थिए, अब देशमै केहि गर्न सकिन्छ भनेर। शान्ति प्रक्रिया सकिएर देशमा संविधान पनि आयो। निसन्देह यसमा नेताहरुको अहोरात्र योगदान रह्यो।

देश शान्ति प्रक्रियामा प्रवेश गरेपछि मात्र हामीले कतिवटा प्रधानमन्त्री पायौं? त्यो बिचमा कति सरकार फेरिए? किन फेरिए? कुन स्वार्थले हरेक नौ महिनामा प्रधानमन्त्री फेरिने परिपाटी विकास भयो? त्यस्तो कुन तत्वको प्रभावमा परेर नेताहरु पटक पटक सत्तामा पुग्न लालायीत देखिए?

यी यावत् प्रश्नहरु तमाम युवाको मनमा उब्जिए। तर उत्तर खोजिएन। अहिले पशुपति शर्माको गीतले खोजेको यिनै प्रश्नको जवाफ मात्रै त हो। यदि यस्ता प्रश्नको जवाफ खोज्नु अपराध हो भने मलाइ लाग्छ पशुपति शर्माले खुशी खुशी आफ्नो अपराध स्वीकार गर्नेछन्।

संविधान लागु भएपछि देशमा स्थायी सरकार बन्यो। देश विकासले एउटा गति लियो। सरकारले देश विकासको लागि आफ्नो सतप्रतिशत शक्ति प्रयोग गर्नु पर्दछ भन्ने धारणा तमाम युवाले बोकेको देखिन्छ। कम्तिमा चुनाव अगाडी नेताले गरेका वाचाहरुमा सत्तापक्ष अथवा चुनाव जितेर सरकारमा गएका दलहरु इमान्दार बन्नुपर्दछ भन्ने आम नेपाली जनताको बिचार हामी सबैले बोक्ने गर्दछौं। मलाई लाग्छ कि युवासंघ नेपाल भन्ने युवाहरुको समूह पनि यही चाहन्छ।  

पशुपति शर्माको गीत सार्वजनिक भएपछि तीनै युवाको ध्यान खिच्यो। उनीहरुले गीतको विरोध जनाएपछि सायद सिर्जनामार्फत त्यो हुण्डरी सृजना गर्नु शर्माको चाहना होइन। त्यसमाथि उनले पटकपटक भनेका छन् कि उनी शान्तिप्रिय मान्छे हुन्। गीतलाई माध्यम बनाउँदा मात्र होइन यथार्थ जीवनमा पनि उनी आफ्नो कारण कसैले चित्त नदुखोस् भन्ने चाहने व्यक्ति हुन्। कम्तिमा नजिकबाट चिन्नेलाई त्यस्तो लाग्छ। शर्मा स्वयं पनि भन्छन्- 'यदि कसैले मेरो कारण चित्त दुखायो भने, मलाई रातभर निद्रा लाग्दैन। निदाउन सक्दिन।'

सांगीतिक जीवनको यो लामो कालखण्डमा धेरै कलाकार एवं अन्य साथी भाइहरुसँग संगत गरें तर मलाई लाग्दैन, कुनै परिवेशमा पनि शर्माले कसैको चित्त दुखाए होलान्।

परिस्थिति सधैं उस्तै रहँदो रहेनछ। सधैं माया प्रेमका गीत र रमाइला लोकगीत गाएर चिनिए। माटो र आफ्नो मातृभूमि प्रति युवावर्गको मनमा रहेको प्रेमलाइ घनिभूत गराउँदै प्रवासिएका युवाहरुलाई स्वदेश फर्कन प्रेरित गर्ने उद्यश्यले गाए “मलाई अमेरिका यही” गीत सृजना गरे।

गीतले चर्चा कमायो। कतिपय नेपाल फर्कन चाहेका तर उत्प्रेरणाको कमीले फर्कने दिन तय गर्न नसकेकाहरुले त 'पशुपति शर्माकै कारण फर्किएर आएँ' भन्ने सम्मका कुराहरु सार्वजानिक रुपमै गरे।

त्यो सिर्जनाको प्रभाव थियो त्यो।

तर उक्त गीतले दिएको खुशीले धेरै लामो समय निरन्तरता पाउन सकेन। कार्यक्रमको शीलशीलामा देशका दुरा दराजका क्षेत्रहरुमा जाँदा भेटिएकाहरुको अनुभूति उनको गीतको शब्दहरु जति सकारात्मक थिएन। पशुपति आफुले सुनेका गुनासाहरु जम्मा पार्दै हिड्न थाले, दैनिक समाचारमा आएका कुराहरुलाई मनमा खेलाउदै हिड्न थाले, र समाजमा व्याप्त बिसंगतिहरुलाई जस्ताको तस्तै उन्दाउन्दै “लुट्न सके लुट” गीत तयार पारे। खासमा यो गीत पशुपतिको सृजना भन्दापनि उनले संकलन गरेका जन गुनासाहरुको संग्रह हो भन्दा फरक पर्दैन, यो संकलनको फेरिहस्त मात्र हो भनेर उनले पटकपटक भनिरहेका पनि छन्।

तर, गणतन्त्रिक नेपालमा त्यसरी जन गुनासाहरुलाई संकलन गरेर गीत बनाउनु अपराध साबित भयो। गीत हटाउन लगाइयो। सँगै पशुपति शर्माले साँच्चै गलत गरेका हुन् वा होइन भन्ने प्रश्न उब्जियो। हो भने यो अपराधको सजाय पशुपतिले पाउनुपर्छ र प्रजातान्त्रिक सरकारले दिने त्यस्तो सजाय भोग्न शर्माले किन्चित खुट्टा कमाउन हुने छैन।  

लगातार प्रेसले लेखिरहेका भ्रष्टाचारका मुद्दाहरु पढ्दा मनमा प्रश्नहरु उब्जनु स्वाभाविक हो। सुनकाण्डको सुरुवाती खबर सुनेका हामीहरुले त्यो काण्डका अपराधीहरु छुटेको समाचार पढ्न पायौं। त्यो बेलामा पनि हाम्रो मनमा केही न केही प्रश्न पक्कै उब्जियो।

तस्करहरुलाई छाड्ने न्यायाधिसहरु छानबिनमा परेको समाचार पनि हामीले पढेकै थियौं। यी सब घटनाहरुले कही कतै तरंग पैदा गरायो। प्रश्न भने गरेनौं। पशुपति शर्मा एक्ला कलाकार निस्किए जसले आफ्ना मनमा तरंगित भएका प्रश्नहरुको संगालोलाई गीत बनाए र त्यो गीत शासकहरुको कानमा घन झैं बज्रिन पुग्यो।  

हाम्रै उमेरका तल्लो तहका राजनैतिक कार्यकर्ता जो इमान्दार भएर राजनीति गर्छन् उनीहरुको ‘जुधाई’लाई नजिकबाट एकपटक नियाल्यौं। कार्यकर्ताको लडाई कुन स्तरको हुन्छ विचार गर्‍यौं। आफ्ना नेताले गरेको भ्रष्टाचारको समेत समर्थनमा गरेको देखियो। कार्यकर्ता कार्यकर्ता एक अर्काबीच असैद्दान्तिक द्वन्द गरे। जुन द्वन्द्व फगत एक ‘भुकाइ’ नै त हो! भुक्नु शब्दको प्रयोग काव्यिक हिसावले उचित नहोला तर देखिएको प्रवृत्ती केही फरक थिएन।

देशलाई आर्थिक भार पर्नेगरी हेलिकप्टरहरु किनिएको समाचारहरु पढ्दा उब्जिएका तर जवाफ नखोजिएका प्रश्नहरु सुसुप्त रुपमा हामी सबैको दिमागमा जमेर रहेका थिए। ती प्रश्नहरु बाहिर आउन शर्माको गीत आउनु पर्‍यो। त्यस हिसावले पनि यो गीत सार्वजानिक चासोका विषयमा उठ्ने प्रश्नहरुको व्यंग्यात्मक प्रस्तुति मान्न सकिन्छ। यो कुनै पूर्वाग्रह होइन भन्ने कुरामा समाज प्रष्ट भइसक्यो तरपनि शासककफ पछि लागेर स्वार्थ पुरा गर्ने समूह यो कुरा मान्न तयार छैन।

पशुपति शर्मा निरन्तर भनिरहेछन “मैले अहिलेको शासन सत्तालाइ लक्षित् गरेर  गीतको सृजना गरेको हुँदै होइन। अहिलेसम्म देखिएका र संस्थागत हुँदै गइरहेका बेथितिहरुलाई व्यंग्य गर्न पाउने आफ्नो नैसर्गिक अधिकारको प्रयोग स्वरूप मैले गीत रेकर्ड गरें। बजारमा ल्याएँ। मैले जत्तिको व्यंग्य मेरा अग्रज अनि समकालीनहरुले पटकपटक गर्नुभएको छ। त्यो व्यंग्य अतिरन्जित पनि हुन सक्छ भन्ने कुरा मैले सोच्न सकिन। परिस्थिति प्रतिकुल परिदियो मेरो सृजनाको अतिरंजना गरियो। मैले सबैको चित्त बुझाउन सकिन। तसर्थ मैले खुरुक्क गीत डिलिट गरें र शान्तसँग अर्को सृजनाको तयारीमा लाग्ने तयारि गरें। मैले शान्ति चाहेको हुँ।“

उनले प्रष्टिकरण दिदापनि गीतको राजनीतिकरण हुन रोकिएन।

सबैभन्दा अचम्मको कुरा त के भने अहिले पशुपति शर्मालाई कसैले कांग्रेस बनाउने प्रयत्न गरिरहेको देख्न सकिन्छ। कसैले घोर कम्युनिष्ट विरोधीको बिल्ला भिराउन लागेको देखिन्छ। उदेकलाग्दो कुरा त के भने समस्या सदनमा समेत उठ्यो र त्यहाँ पुरस्कार राशीको समेत घोषणा गरियो। राजनीतिक बिकृतिको यो भन्दा चरम रुप अर्को होला जस्तो लाग्दैन।

सक्रिय राजनीतिको मोह नभएका कलाकारलाई यसरी जबर्जस्ती राजनीतिमा घिसारेर के गर्न खोजेका नेताहरुले? राम्रो कामको प्रशंसा र गलत कामको आलोचना गर्न पाउने स्वतन्त्र देशको कलाकार ढुक्क  भएर आफ्ना सृजनाहरु रेकर्ड गराउन पाउने अधिकार स्थापित गरिदिए राम्रो हुन्थ्यो। गीतको पक्ष र विपक्षमा राजनीति विभाजित हुनु र कलाकार त्यसको कोपभाजन को शिकार हुनु जस्तो दुर्भाग्य केही होला जस्तो लाग्दैन।    

केही काव्यिक कमजोरीहरु भए होलान् त्यसमा पशुपतिले पनि  “मेरो गोरुको बाह्रै टक्का” गरेका छैनन्। सरकारका राम्रा कामहरु अनुभूत हुँदै जाँदा त्यस्ता कामहरुको पनि गीत बनाउनु कलाकारको जिम्मेवारी भित्र पर्छ त्यो पनि उनले  मनन गरेकै होलान्। समय आओस्, सुशासन र भ्रष्टाचार रहित समाज अनुभूत गर्न पाईयोस्, देशले विकास लक्ष हासिल गरोस त्यो बेलाको गीत पनि शर्माले अवश्य बनाउनुपर्छ, गाउनुपर्छ। त्यो बेलामा को सरकारमा छ अथवा कुन दलको सरकार छ भन्ने कुराले उनलाई पक्कै प्रभाव पार्नु हुँदैन।   




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट