PahiloPost

Jun 17, 2019 | २ असार २०७६


ती सुपरभाइजर अनि यी सुपरभाइजर


दिनेश शर्मा/पहिलोपोस्ट

ती सुपरभाइजर अनि यी सुपरभाइजर

हातमा केही सीप नभएको, दिनभर क्यारेम बोर्ड खेलेर बरालिएको र आफ्नो बसमा नरहेको लठुवा छोरालाई सुपरभाइजरमा हाल्दिनु पर्‍यो भनेर कयौं अनुरोध गर्न आउँथे। अनुहार हेर्दै हामी चाल पाइहाल्थ्यौं र कुनै न कुनै बहानामा टारिदिन्थ्यौं। यस्ता सुपरभाइजर भर्ना गर्नुपर्ने बाध्यता त्यहीँ टुङ्गिँदैन थियो। निर्माण स्थलमा (साइटमा) स्थानीय नेता वा उनका नजिकका धुपौरेहरु पाए खानासहित नभए पनि नास्ता 'बजाउने' गरी थानका थान 'लठुवा'लाई सुपरभाइजर बनाइदिनु पर्‍यो भनेर ल्याउँथे। कयौ पटक बरु ती आगन्तुकलाई नास्ता दह्रो खुवाएर भए पनि सुपरभाइजर भर्ना गर्न बाट हामी छड्किँन्थ्यौं। छड्किँदा छड्किँदै कहिले काहीँ भने सुपरभाइजर भर्ना गर्नै पर्थ्यो, वाध्य भएर।

'सुपरभाइजर' भनेको प्रोफेसनल फ्याक्ट्री वा कम्पनीमा सय पचास जना श्रमिकलाई निर्देशन दिन सक्ने क्षमता भएको मानिसलाई भनिने चलन छ नेपालमा। तर, विदेशमा त सुपरभाइजर हुन धेरै ठूलो अनुभव चाहिने रहेछ। मतलब यस्तो पद चानचुने हुँदो रहेनछ। खैर, जे होस् हामीले चाहिँ आफूले भर्ना गरेको अधिकांश सुपरभाइजरलाई महिनामा एक दिन तलब मात्रै बुझ्न बोलाउँथ्यौं र सकेसम्म आधा तलबमा टार्थ्यौं।

बला अझै टर्दैनथ्यो। केही सुपरभाइजर त भर्ना गर्नैपर्थ्यो। जसलाइ भर्ना गर्थ्यौ, तिनले हाम्रो हावा टाइट गर्दिन्थे। उचाल्दा गह्रौ र समात्दा चिप्लो! न लौरो न हतियारका ती 'जन्तु'लाई झेल्नु पनि एउटा अलग्गै प्रोजेक्ट हुन्थ्यो। यद्दपि, सुपरभाइजरकै नाममा अरु स्टाफ भने हामी साइट अनुकुल राख्थ्यौ, जसको आजसम्म यकिन पद श्रृजना नै भएको छैन, सजिलोका लागि हामी पनि सुपरभाइजर नै भन्थ्यौ तिनलाई पनि।

राजनीति र नेतृत्व गर्ने व्यक्तिसँग यो प्रसङ्ग जोड्न मन लागेर यी नानाथरी व्याख्या गरेको हुँ। आफ्नो सिद्धान्तबाट समाज वा देशलाइ सकारात्मक परिवर्तन गर्छु भनेर पौराणिक कालका योगी झै कम्मर कसेर आफ्ना सिद्धान्त छर्दै हिँड्नेमात्र राजनीतिज्ञ वा नेता कहालाउने हक राख्छन् भन्ने लाग्छ। हाम्रो देशमा हामीले नेता भनेको बिहारका 'लालु ग्रुप' सँगमात्रै दाज्ने गर्‍यौं, लालुभन्दा माथि हामीले न देख्यौ न भेट्टाउन खोज्यौ। न लिङ्कन खोज्यौ, न त लि क्वान नै। चोर औला ठड्याएर ठूलो स्वरमा फलाक्न सक्ने भद्दा भुडीवाललाई अझ ठूला नेता हुन् भन्ने कुरा मानसपटलमा पाली नै रह्यौ।

यसो हुनुको पनि कारण भने छ। भारतकै कुरा गर्दा पनि अंग्रेज़ले अढाइ सय वर्ष शासनकालमा हिन्दुस्तानमा आफ्नो भाषा पढ्नै भए पनि दवाब दिँदै आए। ठीक उल्टो यताका राणाले पढ्नबाट बञ्चित गराइरहे। फलस्वरूप भारत र हाम्रो शिक्षा क्षेत्रको दुरी यति बढ्यो कि हाम्रा जिजुबाजेकै पालामा पनि भारतीय डाक्टर, इन्जिनियर वा व्यापारी जन्मिए। तर यहाँ पचास साठी वर्ष कटेका विद्वान समेत कम छन्।

कलेजमा झ्यालका सिसा फुटाएर, हुलदङ्गाको नेतृत्व गरेर, विद्यार्थी नेतृत्वको नाममा सरकारी कलेजलाई दुनियाँकै सबैभन्दा निकम्मा बनाउन बल पुर्याएका एकाथरी नेताले आज देश चलाएका छन्। अर्का थरी खेतीपाती गर्न दु:ख ठानेर नेता बन्न पुगे। भारत निर्वासनमा रहेका वा नेपालमै रहे पनि कुराको खेती गर्न जानेका र चोर औला ठड्याउँदै जेल पर्दै जीवन चलाएकै भरमा नेता सिद्ध हुँदै गरेका ब्यक्तिसँग पछिलागेकाहरुले पनि देशको स्टेरिङ जानी नजानी घुमाइरहे। जे भए पनि, भारत निर्बासनमा रहेका वा खेत जोत्न गार्‍हो मानेका दुवैथरी सँग त्यतिबेला चरम राष्ट्रप्रेम र चाहिँ थियो। पद र पैसाको मातले पछि त्यो प्रेम मरेको मात्र हो।

स्टेयरिङमा हात फैलाउने अर्का दुई हुल बेग्लै छन्। एक, छयालिस सालपछि विज्ञको खडेरी ठानेर फरक फरक पार्टीमा आयात गरिएका। दोश्रा, नेतृत्व तहमा पुगेकाको चरम चाप्लुसी गरेकै भरमा नेता सजिलै बनेका। र, नेताको विश्वासपात्र भइ मालिकका भ्रास्टाचारको मुन्सी पनि बनेका। यिनै मुन्सी जो वास्तविक लेनदेन माफिया नै आज सबैभन्दा शक्तिशाली छन्।

मुन्सी नेता र क्यारेमबोर्डवाला सुपरभाइजर एकै हुन्। जागिर खुवाइको तरिका पनि एउटै हो। वास्तवमा ती न लौरो हुन न हतियार। तर, विद्धान हरुको हावा टाइट तिनले नै गरेका छन्। कुन डक्टर, इन्जिनियर वा कुन विद्धानलाई झुकाउन सक्ने खुबी छैन र उनीहरुमा?

साइटका ती क्यारेमबोर्डे सुपरभाइजर र हरेक सरकारका मुन्सी सुपरभाइजरमा के फरक छ र? तीन दशकमा वास्तवमा कुन मन्त्रालयले "फिट सुपरभाइजर" पायो र? आफ्नो मनले त ती सुपरभाइजर र यी सुपरभाइजरलाई पावरको गणित बाहेक खासै अन्तर ठान्दैन।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट