PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

टेस्ट ड्राइभ : पुणेको टाटा प्लान्टमा नेपाल भित्रिँदै गरेको एच फाइभ अनुभव


ऋषिकेश दाहाल/पहिलोपोस्ट

टेस्ट ड्राइभ : पुणेको टाटा प्लान्टमा नेपाल भित्रिँदै गरेको एच फाइभ अनुभव

हामी यतिखेर पुणेको भेहिकल टेस्ट ट्र्याकमा छौं। फराकिलो ट्र्याकमा हामीसामु छ ह्यारिअर, टाटा मोटर्सको पछिल्लो गाडी। टेस्ट ड्राइभ गर्ने तयारी पूरा भएको छ। दुई बज्न अझै ३० मिनेट बाँकी नै छ। सबै तयारी पूरा भए पनि सेड्युल अनुसार हामीसामु आधा घन्टा बाँकी छ, स्टेरिङ समाउन।

कन्ट्रोल रुममा हामी पाहुना। यहाँबाट करिब ३ सय मिटर टाढा ठूलो ट्रक उकालो लाग्दै गरेको देखिन्छ। भरिभराउ ट्रकले त्यो उकालो कति सहज रुपमा पार गर्छ भन्ने मोनिटरिङ चलिरहेको छ। 

अर्कातिर ट्र्याकमा कुनै तीब्र गतिमा त कुनै धिमा गतिमा पूरै कभर गरिएका (ढाकिए)का गाडीहरु दौडिरहेका छन्। यसरी ढाकिएका गाडी सधै देखिरहने बाहेकले अन्दाज गर्न नसक्ने रहेछन्, कुन मोडलको हो भन्ने। 

हामी रहेको ट्र्याकमा आइपुग्नु अघि ती सबै गाडीहरुले कच्ची र ढुंगे बाटोसँगै समथर सडकमा परीक्षण पूरा गरिसकेका छन्, प्लान्टभित्रै। ती सबैमा खरो उत्रिएपछि मात्र यहाँ ल्याइने रहेछ – फाइनल टेस्ट ड्राइभका लागि।

यी सबै गतिविधिको तस्बिर उतार्न भने निषेध रहेछ। कम्पनीको नीति नै हो – हामीमात्र होइन, कसैले पनि तोकिएको भन्दा दायाँबायाँ फोटो क्लिक गर्न नपाउने। टेस्ट ड्राइभ अघि हामीले तयारी अवस्थामा राखिएका ह्यारीअरकै विभिन्न मोडल हेरिसकेका थियौं। फोटो पनि लिएका थियौं। 

फोटो लिन पुगेको यो ठाउँमा ह्यारिअर नै थियो तर त्यसमा मोडलको नाम थिएन। 

‘यो गाडी नेपाल लैजानका लागि त होइन?’

‘खोइ हुन पनि सक्छ,’ प्लान्टमा हामीलाई घुमाइरहेका टाटा मोटर्सको प्यासेन्जर भेहिकलको अन्तर्राष्ट्रिय बजार प्रमुख सुजन रोयले मुस्काउँदै जवाफ फर्काए। 

ह्यारिअर नेपाल आइसकेको छैन, यही नाममा आउँदैन पनि। नेपालमा आउँदा यो गाडीको फरक नाम रहने तय थियो। चासो चुलिँदै थियो - आखिर ह्यारिअर कुन नामबाट नेपाल भित्रिन्छ त? 

+++

टाटा मोटर्सभित्र धुमपान तथा सुर्तीजन्य पदार्थ निषेध। सबै कर्मचारीका लागि एउटै क्यान्टिन। र, त्यो क्यान्टिनमा सात्विक भोजनमात्र। तामसी पाक्दैन। टेस्ट ड्राइभमा जानुअघि यही क्यान्टिनमा हामी खाना खाइरहेका छौं। खानासँगै गफगाफ पनि जारी छ।

टाटा मोटर्सको प्यासेन्जर भेहिकल इन्टरनेसनल बिजनेस कन्ट्री म्यानेजर (नेपाल) अजित नारायण सिंहले प्रश्न गरे, ‘ह्यारिअरको नेपाली नाम के राख्दा ठीक होला?’

मुस्काउँदै उनले गरेको प्रश्नले जवाफ पनि उनीसँग छ भन्ने खुलाइरहेको थियो। 

प्यासेन्जर भेहिकल डिपार्टमेन्टको मार्केटिङका सिनियर डेपुटी म्यानेजर प्रशन्न पन्त पनि प्रशन्न मुद्रामै थिए। आखिरमा ह्यारिअरको 'न्वारन' गरे, रोयले। मतलब नेपाली नामाकरण। न्वारन चाहिँ कागजी प्रकृया अघि नै उनले खुलासा गरेका हुन्। 

‘नेपालमा यो एच फाइभ हुनेछ,’ रोयले भने।

मोडल : एच फाइभ एक्स (ह्यारिअर)

जन्म : २०१९

जन्मस्थान : भारत

सीसी : २०००

नेपालमा टोयटाले 'ह्यारिअर' नाम दर्ता गरेकाले टाटाका लागि नयाँ नाम सुझाउनुको विकल्प थिएन। ‘प्याटेन्ट राइट’ सँग जोडिएको विषय भएकाले नयाँ न्वारन अनिवार्य रह्यो नेपालको सन्दर्भमा। यद्यपि, टोयटाको ह्यारिअरका कुनै पनि मोडल नेपाली बजारमा देखिएको छैन। सन् १९९७ देखि टोयटाले यो गाडी उत्पादन थालेको हो। 

+++

ह्यारिअरको नेपाली नाम ‘एच फाइभ एक्स’ हुने खुलासा सात्विक भोजनसँगै भयो। त्यसअघि भने हामी टाटाको प्लान्टभित्र कसरी काम हुन्छ भन्ने हेर्न पुगेका थियौं।  

प्लान्टभित्र ब्रिफिङसँगै सुरु भएको थियो हाम्रो यात्रा। ‘भारतीय उद्योगका पिता’का रुपमा परिचित जमशेदजी नुसरवान टाटाले कसरी व्यापारबाट उद्योगमा आफूलाई स्थापित गरे भन्ने प्रसंग रोचक रहेछ। रोयले त्यसको ब्रिफिङ गरे –

मे, १८९३। जापानबाट क्यानडा जाँदै गरेको जहाजमा दुई जनामात्र भारतीय थिए, व्यवसायी जमशेदजी र स्वामी विवेकानन्द। जमशेदजीले विवेकानन्दसँग अमेरिका जाने र प्रविधि सिक्ने सुनाए। उनले भारतमा स्वतन्त्र औद्योगिक मुलुक बनाउन पहल थाल्ने योजना सुनाएका थिए। 

उनको कुरा सुनेपछि विवेकानन्दले भारतमै बस्न र उद्योग थाल्न सुझाव दिए। विवेकानन्दले उद्योग स्थापनाका लागि दुईखाले धार स्थापना गर्न सुझाए। पहिलो – पश्चिममा विकास भएको विज्ञान प्रविधिको भरपुर प्रयोग गर्ने र दोस्रो पूर्वीय दर्शन अनुसारको त्याग र मानवता यथावत राख्ने। यी दुवैलाई एकसाथ अघि बढाउन विवेकानन्दले दिएको टिप्स नै टाटालाई अगाडि बढाउने आधारशीला बन्यो। 

क्यान्टिनको सात्विक भोजन त्यसैको एउटा उदाहरण थियो, सायद। विवेकानन्दको त्यही सुत्रलाई ब्याख्या गर्दै थिए, रोय। 

‘यहाँ काम गरिरहन किन पनि ऊर्जा आउँछ भने टाटाको नाफाको ७० प्रतिशत च्यारिटीमा जान्छ,’ उनले सुनाए। 

पूर्वीय दर्शनकै प्रतिफल हो- टाटाले सामाजिक क्षेत्रमा खर्च गरेको धनराशी।

‘नेपालमा पनि टाटा मोटर्सले र सिप्रदीले मिलेर सामाजिक क्षेत्रमा धेरै काम गरेको छ,’ उनले सुनाए, ‘तर गरेको कामको प्रचार हामी गर्दैनौं।’

+++

छोटो ब्रिफिङपछि दुईवटा सटल बस हामीभन्दा अगाडि आएर रोकियो। हामी यिनै उदाङ्गो बसबाट टाटाको भारत भित्र रहेको दोस्रो ठूलो प्लान्टको अवलोकनमा छौं। ड्राइभिङ सिटमा रहेका टाटाका स्टाफले हामीलाई ब्रिफिङ गरिरहे, कुन गाडी कसरी बन्यो। एन्टिक भेहिकलदेखि इन्जिन बन्ने ठाउँसम्मै उनले ब्रिफ गरिरहे। एक किसिमले गाडीका मोडलहरुको खुला म्युजियम नै रहेछ भित्र। ठूला गाडीदेखि साना प्यासेन्जर कारसम्मको काम पनि भइरहेको थियो। टाटाका लागि चाहिने धेरैजसो उत्पादन यहीँभित्रै हुँदो रहेछ। 

टाटाले यही प्लान्टभित्र विद्युतीय गाडीको पनि परीक्षण गरिरहेको रहेछ। प्लान्टमा एउटा सेगमेन्ट विद्युतीय गाडीका लागि तयार छ, ब्लक पनि बेग्लै। बजारमा उतार्ने मिसन भने २०२० को रहेछ। 

बदलिँदो समयअनुसार गाडीको परिभाषा पनि फेरिएको छ। गाडी यात्रा गराउने साधनमात्र होइन, सूचना, मनोरञ्जन र आरामको मामिला पनि बनिसकेको छ। त्यसैले यहाँ उत्पादन भएका गाडीमा ३ सय भन्दा बढी कम्पनीले आफ्ना एसोसेरिज आपूर्ति गर्छन् – टायरदेखि तार र ग्याजेटसम्मै।   

त्यसो त टाटा मोटर्सभित्र टाटाका लागि मात्र उत्पादन हुने होइन रहेछ। धेरै ब्रान्डका गाडीहरुका लागि एसोसेरिज यही तयार हुने रहेछ। विशेषगरी स्टिल जोडिएका वस्तुहरु। गाडीको बाहिरी आवरणदेखि भित्री भागसम्म पनि। त्यसो त टाटा स्टिल नजोडिएको सवारी पाउन मुस्किल हुने रहेछ, जल, थल र आकाश जतासुकै चलोस्। एउटा अद्भुत ज्ञान पनि दिइरहेको थियो – यो प्लान्टले। टाटा होस् कि फोर्डका एसोसेरिज एउटै प्लान्टमा बन्ने रहेछ। कुनै पनि कम्पनी 'फुल फ्लेज्ड' चल्ने हो भने प्रतिस्पर्धीको उत्पादनमा पनि साथ दिनुपर्ने रहेछ। नेपालका उद्योगी/व्यवसायीले यस्तो व्यवसायिक वातावरण कहिले ल्याउने होलान् भन्ने लागिरह्यो यहाँ रहँदा।

हामी जुन दिन टाटाको प्लान्ट घुमिरहेका थियौं– त्यो दिन बिदा थियो, इदको। कामदार कम थिए। तर, अटोमेसनमा उद्योग चलिरहेकै थियो। रोबटले गाडीमा कसकास गरिरहेका दृश्य काँचका पर्दामा त देखिएकै थियो, यहाँ खुला आखासामु साक्षत्कार भयो।

प्लान्टमा सुरक्षा कडा रहेछ। कामदारको सुरक्षालाई पहिलो प्राथमिकता। यतिसम्म कि हामीलाई सटल बसबाट बाहिर उत्रिन समेत निषेध थियो। फोटोको त कुरै रहेन।    

+++

काठमाडौंबाट मुम्बई अनि पुणेसम्मको यात्रा फरक मिसनसहित थियो। नयाँ गाडीको टेस्ट ड्राइभ, गाडीको जन्मभूमिमै।

कन्ट्रोल रुमभित्रको ३० मिनेट प्रतीक्षा सकियो। हामी पालैपालो गाडी चलाउन तयार। इन्टेरियर र ठूलो स्क्रिनले सुरुमै तानिहाल्यो। आकर्षक ड्यासबोर्ड, हातमा मोर्डन स्टेरिङ।

नयाँ गाडी, नयाँ ठाउँ - पहिलो पटक ड्राइभ गर्दा संकोच लाग्नु स्वभाविक थियो। तर, संकोच ड्राइभिङ सिटमा नपुगुन्जेल मात्रै। गाडी मुभमात्र भएको थियो आवाज आयो - प्लिज फास्टन योर सिट बेल्ट (कृपया सिट बेल्ट लगाउनुस्)। अक्सर गाडीमा सिट बेल्ट नलगाउँदा आउने 'लाउजी टोन' थिएन यो। सिट बोल्ट कसेलगत्तै एक्सिलेटर बढ्यो। २ हजार सीसी क्षमताको इन्जिनले पिकअप लिन धेरै समय लगाउने कुरै थिएन। सहजै स्पिड अप भयो। १ सय २० किमी प्रति घन्टाको रफ्तार लिँदा पनि गाडीमा कुनै किसिमको हलचल महसुस भएन। त्यसभन्दा माथितिर एक्सिलेटर दबाउने हिम्मत चाहिँ आएन। टर्न गर्दा थोरै पनि असहजता नआएपछि लाग्यो- गाडी चाहिँ गजब हो।

भारतमा 'गरीबको ल्यान्डरोभर' नै भन्दारहेछन् यसलाई। नेपाली बजारमा त 'चुजी' ग्राहकको छनोटमा पर्ने हैसियत राख्छ यसले। 

हेक्साभन्दा भित्र केही साँघुरो चाहिँ हो तर असहज हुने खालको होइन रहेछ। खासमा हेक्साकै पुस्ता हो यो गाडी। भारतको सुरक्षा टेस्टमा अब्बल ठहरिएकाले हामीलाई गाडीबारे बताउनेहरु पनि धेरै नै आत्मविश्वासी देखिन्थे।

'सुरक्षाका लागि प्रविधि चुस्त बनाइएको छ,' रोयले गाडीबारे ब्रिफ गरे। मलतब, गाडीमा कुनै डिफेक्ट देखियो भने यसमा रहेको सेन्सरले स्पिडमा पूरै कन्ट्रोल गर्ने रहेछ। 

त्यसको उदाहरण पनि प्रत्यक्ष देखियो टेस्ट ड्राइभमा। टेस्ट ड्राइभकै लागि ल्याइएको एउटा गाडी ६० किलोमिटर प्रतिघन्टाको रफ्तारमा पनि मुस्किलैले गुडिरह्यो। त्यसमा फरकखाले 'नोइज' प्रस्ट सुनिन्थ्यो। गाडीले स्पिड किन लिएन त?

उत्तर प्राविधिकहरुले दिए - कुनै समस्या संकेत गर्यो् भने यसले गति नियन्त्रण गर्छ ता कि कुनै ठूलो दुर्घटना नहोस्। 

+++ 

गाडीमा समस्या आएपछि यसको स्पिडलाई नियन्त्रण गर्ने कुरा स्वभाविक नै हो। तर, स्पिडबारे अर्को रोचक तथ्य पनि यही पुगेपछि थाहा भयो - टाटा कम्पनीले आफ्ना लागि प्रयोग गरेका गाडीमा 'स्पिड लिमिट' तय गरेको रहेछ। ८० किलोमिटरभन्दा बढी रफ्तारमा टाटा मोटर्सका स्टाफकै गाडी कुद्न पाउने रहेनछन्। त्यसको पनि मुख्य कारण सुरक्षा नै हो। जतिसुकै फराकिलो सडक होस् या खाली बाटो - कुदाउँदा जति एक्सिलेरेटर दवाए पनि ८० किलोमिटर प्रतिघन्टाको रफ्तारभन्दा माथि जानै नसक्ने। हामीले एच फाइभको टेस्ट ड्राइभमा जतिसुकै रफ्तार लिन सकेको भए पनि हाम्रो सडकमा उत्रिँदा भने त्यसै अनुसार कुदाउन सकिने सम्भव छैन। सम्भव नै भयो भने पनि टाटाले आफ्ना स्टाफलाई सुरक्षित राख्न लिएको नीति जस्तै हामीले याद गर्नै पर्छ 
- तीब्र गति, जीवन क्षति।
(टेस्ट ड्राइभको अवसरका लागि सिप्रदी र टाटा मोटर्सलाई धन्यवाद।)




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट