PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

राष्ट्रकवि भन्छन् - विदेशीको अनुहार राम्रो भनेर त्यसैसँग पोइला जानु हुँदैन



राष्ट्रकवि भन्छन् - विदेशीको अनुहार राम्रो भनेर त्यसैसँग पोइला जानु हुँदैन

  • माधवप्रसाद घिमिरे-
सबैभन्दा पहिले, नेपाल संगीत तथा नाट्य-प्रज्ञा प्रतिष्ठान गठन भएकोमा एकदमै हर्ष प्रकट गर्दै उहाँहरुले जुन कामको थालनी गर्नुभएको छ, त्यसको सफलताको कामना गर्दछु। तपाइँहरु सबैले गीतको प्रसंग निकाल्दा माधव घिमिरे, माधव घिमिरे भनेर नाम लिइरहनुभएको छ, अब यसको बारेमा म ९६ वर्षको मान्छेले के भन्नु छ र !
 
आजको कार्यक्रममा राजेन्द्र थापाले हाम्रा परम्परामा रही देश विदेशकासमेत कुरा जोडेर गीतको परिभाषा गर्दै गीतका विधाका बारेमा पनि भनेका छन्।

म टिप्पणीकार त हैन, बूढो मान्छे, तर गीत भनेको नौरसको कविता हो। यसले मानिसको हृदयमा छोयो कि छोएन? यो हो मूल कुरा। परिभाषाका लागि अनेक हाँगाबिंगा होलान्। हात्तीको पुच्छर कसरी समाउने, कानतिरबाट समाउने कि कताबाट भन्ने अनेक कुरा होलान्। मूलत: गीत भनेको हृदयको गीत हो। त्यो हृदयस्पर्शी छ कि छैन हामीले विचार गर्नुपर्छ।

कलाको महत्वपूर्ण कुरा नै समयलाई पछ्याउनु हो। तर सँधै त्यस्तो हुँदैन। हरेक समयमा नयाँपन आइरहेको हुन्छ। हामीले गाउँदा पनि नयाँ नयाँ कुरा आएका थिए। गीतको बारेमा अरु साहित्यको जस्तो व्याख्या हुँदैन। गीत फरक विधा हो।

आज पनि दशैंमा, भनौं न नौरथामा त्यही पुरानै गीत गाइन्छ। जतिसुकै नयाँ गीत आउन् ती पुराना लयहरु बाँचिरहन्छन्। गीतमा समयको प्रभाव हुन्छ तर पुराना लय, शब्द वा संगीत असान्दर्भिक हुँदैनन्। महत्वपूर्ण कुरा, जुनसुकै समयको भएपनि गीतको मौलिकता छ भने ती कालान्तरसम्म बाँच्छन्। मौलिकता छैन भने जति झ्याङझुङ पारेर नयाँ बनाएर गाए पनि ती बाँच्दैनन्।

हाम्रो आफ्नै रितिथिति छन्। हाम्रा गाउँमा, पखेरामा एउटा छुट्टै लय छ। हाम्रो राष्ट्र लोकगीतमा संसारमै धनी राष्ट्र हो। देशका हरेक कुनामा बस्ने विविध जातिले आफ्नो छुट्टै लोकलयलाई सुरक्षित गरेर राखेका छन्।

अहिले प्रविधिले यो विश्वलाई सानो बनायो। संसार एकै बनायो। देख्ने र सुन्ने यन्त्रहरु बने। हामी यहीं बसेर तुरुन्तै अमेरिकाको मान्छेसँग प्रत्यक्ष कुरा गर्न सक्ने भयौं। यस्तो बेला हामीले अब संसारको साहित्य र कलामा नेपालीपन खोज्ने र जोगाउने बेला भयो। हामीले संसारलाई हाम्रो नेपालीपन चिनाउने बेला भयो।

हो, हामी संसारका साहित्य, संस्कृति, कलालाई हेर्न सक्छौं, उनीहरुबाट प्रभावित पनि हुन सकिन्छ, तर त्यसभित्र हाम्रो आफ्नो मौलिक नेपालीपन राख्नुपर्छ। विदेशीबाट प्रभावित भएर गिटार र ड्रम बजाएर डाङडुङ डाङडुङ पार्दै गीत गाउने हो कि हाम्रा गाउँ, कुना, कन्दराका एकान्तमा लुकेर रहेका लयलाई बाहिर ल्याउने हो भन्ने सोच्नु पर्छ। हाम्रा हिमालदेखि तराईसम्म छरिएर रहेका भाका, लयलाई बिर्सेर, आफूलाई बिर्सेर बुरुक्क बुरुक्क उफ्रेर मात्र गीत गाउने हो कि क्याहो?

हामीसँग आफ्नै राग छ। यो उपत्यकाले पनि एउटा छुट्टै राग संरक्षण गरेर राखेको छ। संस्कृतिले सम्पन्न उपत्यकाको आफ्नै राग छ। गीत लेख्ने, गाउने र संगीत दिनेले यी कुरा विचार गर्नुपर्छ।

आफ्नो अनुहार राम्रो भएन, विदेशीको नै अनुहार राम्रो भनेर त्यसैसँग पोइला जानु हुँदैन।

गीतको कुरा गर्दा अर्को महत्वपूर्ण कुरा पनि छ। आजकाल धेरै गायकहरुले गीत त गाउँछन्। स्टुडियोबाट गीत रेकर्ड गरेर बाहिर निस्किने बित्तिकै तपाइँले अहिले गाएको गीतको शब्द भन्नुस् त भन्यो भने शब्द राम्ररी खुट्टयाउन सक्दैनन्। जो मान्छेले शब्दको सही अर्थ र भाव खुट्याउन सक्दैन, त्यसले के गीत गाउला? गीतमा शब्द रचना, संगीत र गायकी मिल्यो भने मात्र त्यो चिरस्थायी हुन्छ।

हो, वर्तमान समयले गीत संगीतलाई प्रभावित गर्दैन भन्ने होइन। तर शब्दको मौलिकता, धूनको मौलिकताले जुनसुकै पुस्ताले पनि पुराना कुरालाई अहिलेको समयसँग जोड्न सक्छन्। हामीसँग हिमालको हावालाई तराईसम्म र तराईको हावालाई हिमालसम्म लगेर मिसाउने छुट छ। हाम्रा संस्कृति, हाम्रा आफ्ना वाद्यवादक यन्त्र छन्। यी बाट एउटा मौलिक धून निस्किन्छ। दमाई बाजाका कुरा गर्नुस्, सहनाईका कुरा गर्नुस्, यी बाजाको धूनमा मीठास छ, मौलिकपन छ। गीतका कुरा गर्दा यी कुरालाई बिर्सिनु हुँदैन।

यसको मतलब हामीले आफ्नै बाजा, आफ्नै लयमा मात्र सिमीत हुनुपर्छ भनेको होइन। अन्तर्राष्ट्रिय संगीत पनि जान्नुपर्छ। अर्केष्ट्राका कुरा होलान्, अन्य कुरा पनि होलान्। हामी त्यसबाट प्रभावित हुनु पनि पर्छ। प्रभावित हुनुको मतलब त्यसैमा समाहित हुनु होइन। त्यसबाट सिक्ने कुरा हो। उनीहरुको संगीतलाई हाम्रो संगीतमा मिलाएर नयाँ संगीत सिर्जना गर्न सकिन्छ। आफ्नो मूललाई नछोडी पनि अरुको कुरा सिक्न सकिन्छ। अन्तर्राष्ट्रिय मञ्चमा जाँदा उनीहरुकै धून बोकेर जानुको के अर्थ?

लोकगीत पनि दुईथरीका हुन्छन्, एउटा सोझो किसिमको। जस्तो ‘अघि बढ अघि बढ बाबु हो... भोलि नभन भोलि नभन.. ठ्याक् ठ्याक् ठ्याक्’ भन्ने किसिमका। अनि अर्को चाहिँ, ‘बल्ल बल्ल भेट भा’को दिन, सङ्लो पानी धमिलो मन किन?’ हेर्नुस् त साहित्यकारले वा भन्नुस् गीतकारले कति सजिलोसँग भनिदिएको छ। अनेकथरीका बिम्ब, प्रतिक भन्दै कुर्लिनै पर्दैन। ‘सङ्लो पानी धमिलो मन किन’, यही हो बिम्ब भनेको।

त्यसैले लोकगीत भनेको केही होइन भन्ने नठान्नुहोला। लोकगीतमा पनि गम्भीर साहित्य छन्। एकांकी कुरा गरेर संस्थानको काम छैन। हाम्रो संगीत कहाँ छ, विश्वको संगीत कहाँ छ? यसको बारेमा सोध गर्नुपर्छ प्राज्ञिक संस्थानले।

अब म मेरो लेखनको उदाहरण भन्छु। सबैले आफ्नै किसिमले लेख्नुभएको छ, राम्रो गर्नुभएको छ। सबैको योगदान महत्वपूर्ण छ। म बुढो मान्छेको आशिषले सबैको भविश्य उज्वल होस् भन्ने सिवाय मेरो भन्ने केही छैन।

यही एकेडेमीमा एउटा कविता महोत्सवमा एउटा विषय आयो ‘आधारभुत आवश्यकता।‘ अब आधारभुत आवश्यकतामा कविता लेख्नु पर्ने। ‘आधारभुत आवश्यकता हामीलाई नभै हुँदैन। यो हाम्रो जीवनलाई आवश्यक छ भनेर दशोटा पंक्ति लेखेपनि कवितामा ढल्दै ढलेन। यो त कथा हुन्छ, यो त भाषण गर्ने कुरा हो। कविले लेख्ने कुरा क्या हो त?
कस्तो हुन्थ्यो यो जुनीमा यति धोको पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे

तोपचरीको गुँडै राम्रो पूर्वतिर दैलो
भाइको भने घरै छैन कहाँ खेलूँ भैलो
कस्तो हुन्थ्यो– एक घर सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे

पल्लो घरको धुरीबाट धुवाँ आ’को छैन
मैले खाई के सार भयो, भाइले खा’को छैन
कस्तो हुन्थ्यो – एक गाँस सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे

फूल राम्रो गुराँस हो कि फूल राम्रो कपास
भाइको शिरमा टोपी छैन, कहाँ लाउने गुराँस
कस्तो हुन्थ्यो एक धरो सबैलाई पुगे
मेरो दिल दुख्छ हजुर, भाइको दिल दुखे


(नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान- संगीत विभागले बिहीबार आयोजना गरेको ‘आधुनिक गीत लेखनमा परिवर्तन र प्रभाव’ विषयक गोष्ठीमा प्रमुख अतिथि बनेका राष्ट्रकवि माधवप्रसाद घिमिरेले दिएको मन्तव्यको सारांश। गोष्ठीमा गीतकार राजेन्द्र थापाले आधुनिक गीत लेखनमा बदलिँदै गएको ढाँचा, यसका प्रभाव र परिवर्तन हुन प्रेरणा दिने स्रोतको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र माथि गीतकार कृष्णहरि बरालले टिप्पणि गरेका थिए।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell