PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नाराबाजीका बीच अघि बढ्यो संविधान संशोधन विधेयक



  • रमेश वाग्ले/पहिलोपोस्ट-
काठमाडौँ : संसदमा संविधान संशोधन विधेयक माथिको सैद्धान्तिक छलफल सोमबारबाट सुरु भएको छ। तर प्रमुख दलहरुको सहमति र वार्ताका लागि सहजता प्रदान गर्न छलफल लम्ब्याइएको छ। 

यो सँगै संविधान संशोधन प्रक्रिया एक कदम अगाडि बढेको छ। २९ मंसिरमा सदनमा टेबल भएको विधेयकको सैद्धान्तिक छलफल दलहरुबीच वार्तामा सहजताका लागि भन्दै अगाडि बढाइएको थिएन। 
 
आन्दोलनरत मधेसकेन्द्रित दलहरुको नाराबाजीबीच सुरु भएको बैठकमा एमालेका केशव बडाल र एमाओवादीका गौरीशंकर चौधरीले छलफलमा भाग लिएका थिए।

लगत्तै सभामुख ओनसरी घर्तीले संशोधन विधेयकको सैद्धान्तिक छलफल रोकेर अर्को कार्यसूचीमा बैठकलाई प्रवेश गराएकी हुन्। 'अब संविधान संशोधन विधेयक माथिको  सैद्धान्तिक छलफल अर्को बैठकमा जारी रहन्छ', घर्तीले भनिन्। थप छलफल मंगलबार १ बजेबाट सुरु हुनेछ। 

त्यसअघि छलफलमा भाग लिँदै एमालेका केशब बडालले संविधान संशोधन नगर्दा पनि समावेशिताको चरित्रकै भएपनि मधेसकेन्द्रित दलहरुको आन्दोलन र प्रमुख तीन दलको प्रतिबद्धता अनुरुप विधेयक अगाडि बढाउन आवश्यक भएको बताए।

'आन्दोलनरत दलका नेताहरुको भावना पनि संविधानमा उतार्न यो  दुई बुँदा संशोधन सर्वसम्मतले पास गर्न आग्रह गर्छु', उनले भने।

एमाओवादीका गौरीशंकर चौधरीले एकातिर नाकाबन्दी अर्कोतिर थारुहरुको आन्दोलन पनि चलिराखेको अवस्थामा सरकारले संशोधन विधेयक ल्याएको उल्लेख गर्दै सामाजिक न्यायको हक सुरक्षित गर्न यो विधेयक आवश्यक रहेको बताए।

यसअघि पनि पटक पटक सभामुख घर्तीले दलहरुलाई सहमतिका लागि समय प्रदान गर्ने भन्दै संविधान संशोधन विधेयक माथिको छलफल रोकेकी थिइन्। कांग्रेस सरकारले गत असोज २० गते संसद सचिवालयमा दर्ता भएको विधेयक सरकारले २९ मंसिरमा टेबल गरेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell