PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'मधेस आन्दोलन हिंस्रक हुनुमा केन्द्रीय मिडियाको समेत कमजोरी'



'मधेस आन्दोलन हिंस्रक हुनुमा केन्द्रीय मिडियाको समेत कमजोरी'
फोटोः प्रेस काउन्सिल नेपाल।

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौं : प्रेस काउन्सिल नेपालले तराई मधेसमा मिडिया अनुगमन गर्न गठित एक अनुगमन टोलीले  मधेस आन्दोलन अराजक र हिंस्रक हुनुमा काठमाडौंका ठूला मिडिया समेत जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन काउन्सिललाई बुझाएको छ।

सञ्चारमाध्यम अनुगमन विशेष टोली २०७२ ले सोमबार प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीलाई बुझाएको २१ पृष्ठ लामो प्रतिवेदनमा 'मधेस आन्दोलन अराजक र हिंस्रक हुनुमा केन्द्रीय मिडियाको समेत कमजोरी देखिएको' उल्लेख छ। 'जिल्लाबाट स्थानीय समाचारदाताले पठाएको समाचार सामग्री प्रकाशन वा प्रसारण नै नगरिदिने, गरे पनि तोडमोड वा अर्थको अनर्थ लाग्ने किसिमले गरिदिँदा स्थानीय पत्रकार र मिडिया मारमा परेका छन्', प्रतिवेदनको निष्कर्ष खण्डमा भनिएको छ।

अनुगमनका क्रममा कतिपय सञ्चारमाध्यमको भाषाशैली व्यवसायिक मर्यादा र आचारसंहिता विपरीत देखिएको र कतिपय अवस्थामा त्यस्ता प्रस्तुतिले सामाजिक सद्‍भाव बिगार्ने र हिंसा तथा द्वन्द्व बढाउने किसिमको भएको भेटिएको प्रेस काउन्सिलका सदस्य समेत रहेका अनुगमन टोलीका संयोजक चन्द्रदेव कामतीले बताए।

आचारसंहिता उल्लंघनमा एफएम रेडियो अगाडि

टोलीले गत मंसिर २ देखि ९ गतेसम्म प्रदेश नम्बर २ का सात जिल्ला मिडियामा प्रकाशित प्रसारित समाचार सामग्री अनुगमन गरेको थियो। मधेस आन्दोलनबाट मुख्य प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा भएको मिडिया अनुगमनबाट स्थानीय रेडियो (एफएम) ले सबैभन्दा बढी पत्रकार आचारसंहिता उलंघन गरेको भेटिएको अनुगमन टोलीका संयोजक कामतीले बताए।

अनुगमन टोलीमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शीतलप्रसाद महतो, सामुदायिक रेडियो प्रसारक संघ (एकोर्‍याब) का महासचिव गोविन्द देवकोटा, ब्रोडकास्टिङ एसोसियसन अफ नेपालका महासचिव चन्द्र न्यौपाने, मधेस मिडिया हाउसका सुकेश्वर पाठक, मधेसी पत्रकार संघका अध्यक्ष पंकज दास सदस्य थिए। प्रेस काउन्ससिलका उपप्रशासकीय अधिकृत दीपक खनाल अनुगमन टोलीका सदस्य सचिव थिए।

लामो समयदेखि जारी मधेस आन्दोलनका कारण पत्रकारहरु असुरक्षित हुनुपरेको, पत्रकार सेल्फ सेन्सरसिपको शिकार बनेको र मिडिया उद्योग धराशयी बन्दै गएको प्रतिवेदनमा उल्लेख छ। यस्तै स्थानीय प्रहरी प्रशासन र आन्दोलनकारी दुबै पक्षबाट विभिन्न बहानामा पत्रकारमाथि हुने आक्रमण र धम्कीजस्ता घटना बढिरहेको प्रतिवेदनमा जनाइएको छ। आन्दोलनका क्रममा राज्य र आन्दोलनकारी दुबै पक्षबाट तराई मधेसका दर्जनौँ पत्रकारमाथि आक्रमण, कुटपीट, पेट्रोल बम प्रहार, ढंगामुढा, दुर्ब्यबहार र गालीगलौज भैरहेको अनुगमन प्रतिवेदनले जनाएको छ। राजनीतिक आस्था, समुदाय, भूगोल जस्ता आधारमा नेपाली पत्रकारिता र पत्रकारबीच विभेद र विभाजन गर्ने कोसिस भैरहेकोप्रति प्रतिवेदनमा चिन्ता जनाइएको छ।

प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मिडियाको भूमिका हिंसा भड्किएमा त्यसलाई साम्य पार्नुपर्ने भए पनि आगो लगाउने खालको भएको बताए। नियतवस आचारसंहिता उल्लंघन गर्ने मिडियालाई कारबाही गर्न काउन्सिल प्रतिबद्ध रहेको उनको भनाई थियो।

नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले आचारसंहिता उल्लंघनमा सतहमा पत्रकार दोषी देखिए पनि भौतिक असुरक्षा त्यसका लागि मुख्य जिम्मेवार रहेको बताए। 'पत्रकार ठूलो दबाबमा छन्। उनीहरुमा भौतिक असुरक्षाको दबाब छ', डा. विष्टले भने, 'पत्रकारले पनि निश्पक्ष भूमिका निर्वाह गर्न सकेका छैनन्।'

दबाउन नखोजौँ, विश्वासमा लिउँ: बान

ब्रोडकास्टिङ एसोसियसन नेपालका अध्यक्ष गोपल झाले अहिले तराई मधेसमा देखिएको समस्या देशका अन्य भागमा समेत देखिन सक्ने भन्दै काउन्सिलले ठोस नियम बनाएर प्रभावकारी अनुगमन गर्नुपर्ने बताए।

'मिडिया आफ्नो मर्यादा र भूमिकामा रहेर काम नगरेमा कानुनी कारबाही गर्नुपर्छ तर प्रशासनिक कारबाहीतर्फ राज्य अघि बढ्नु हुन्न। दबाउन खोजे अर्को रुप लिन सक्छ', झाले भने, 'सबै मिडिया सञ्चालकलाई विश्वासमा लिएर 'एक्सन' मा जानुपर्छ, यो तराई मधेसको मात्र समस्या होइन, देशकै समस्या हो।' उनले काठमाडौंबाट प्रसारण हुने टेलिभिजनको भाषा पनि आचारसंहिता विपरीत रहेकोले त्यहाँ पनि कडा अनुगमन आवश्यक रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell