PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

कित्लीभरीको सपना



कित्लीभरीको सपना

– सायद अशोक 

“साँझतिर,
तिमीपट्टीबाट बहँदै आइपुगे
मसम्मै केही अक्षरहरु।”

ती अक्षरहरु पक्डेर मैले शब्द बनाएँ। बेलाबेलामा शब्दहरु आफ्नो पकडबाट फुस्किरहेका हुन्छन्। सायद भावनाका संवादहरुले त्यस्तो बेला शब्दका अनुपस्थितिहरु भरिदिने गर्छन्। आँखाभरीका शीतहरु अनि हत्केलाभरीका सपनाहरु बोकेर तिमीले र मैले धेरैको दैलो ढक्ढक्याएका छौँ। 


नक्षत्रका प्रभावहरु बेवास्ता गरेरै जीवनका उर्जाशील समयहरु बितिगएका थिए। भन्नेहरुले त धेरै पहिलेदेखि नै भनिरहेका हुन्थे, “ग्रहहरुको योगले जीवनका सकारात्मक र नकारात्मक तरंगहरु उत्पन्न गराईराखेको हुन्छ।” साउनको झरीमा बगेर त्यस्तै सकारात्मक तरंगहरु मलाई छुँदै÷हराउँदै गरिरहेका थिए। त्यति नै खेर मैले आफ्ना मनभरीका विश्वासहरु कसैमा खन्याइदिएँ। त्यसपछि आजको दिनसम्म हामीले सहकार्य गरिरहेका छौँ। 

हाम्रा मित्रहरु हामीसँग आफ्ना योजनाहरु बाँडिरहन्थे। त्यही क्रममा एकदिन “सुस्केरा” का साथीहरुले काठ्माण्डौ मलको बाल्कनी सुम्पिदिए। उनीहरु थिएटर हलको निर्माण कार्यमा व्यस्त थिए। उनीहरुको व्यस्ततालाई नबिथोलिकन हामीले एउटा महत्वाकांक्षी योजना बनायौँ। समुना बारम्बार भनिरहन्छिन्, “यो ठाउँको सुन्दरता खेर जान दिनु हुन्न।” धरहराको सिरानमा उभिएर काठ्माण्डौ हेरिरहेका मान्छेहरुतिर फर्किएर समुनाले र मैले एउटा सपना देख्यौँ, ठीक त्यति नै बेला। अझ नढाँटी भन्ने हो भने, हामीले अवचेतनमा अड्किरहेको सपनालाई टक्टक्यायौँ। 
हामी रंगमञ्च र चलचित्रमा काम गर्ने मान्छे। यी दुवै विधा कलाका सबैभन्दा प्रभावकारी माध्यम हुन् भन्ने कुरालाई सधैँ स्वीकार गरेरै हिँडेका। हामीलाई फिल्म हेर्न मन पर्छ, पुस्तकहरु पढेर दिनभरी हराइरहन मन पर्छ। त्यस्तो बेला घरीघरी चिया र कफीको कप एउटा हातले छोइरहन मन लाग्छ। यस्तै मन लाग्ने कुराहरु गर्नका लागि शहरका अधिकांश कफीसपहरुमा हामी पुगेका छौँ। किशोरले त वर्षौँ पहिलादेखि भनिरहेको थियो, “दाइ, हाम्रो ड्रीम स्पेस कुनै न कुनै दिन त पक्कै बन्छ होला नि है!” 

अर्को दिन स्वयम्भूमा बलेका बत्तिहरु हेरेर हामीले आफूले चाहेको जस्तो ठाउँको डिजाइन कल्पना गर्यौँ। केहीबेरअघि अस्ताएको घामले सायद संकेत दिँदै थियो, “यही ठाउँमा बसेर बिगतमा काम नलागेका आदर्शहरु हामीले सेलाउनुपर्छ, र अर्को बिहान उदाउने सूर्यसँगै हाम्रा नवीन दर्शनहरु हुर्काउनु पर्छ।” त्यसपछिका दिनहरुमा हाम्रा जीवनका हरेक घुम्तीहरु नियालेका आत्मीयहरु हामीसँगै बसेर हामीलाई सघाउन थाले। यो ठाउँलाई एउटा क्याफे/ग्यालरीको स्वरुपमा सञ्चालन गर्ने सल्लाह भइरहँदा कसैको मुखबाट फ्याट्ट निस्कियो “कित्ली”।
करिब करिब १५ जना अटाउने स्पेस छ हामीसँग। समुना र मेरो योजना छ– एउटा खण्डमा एल्.सी.डी. टेलिभिजन, डी.भी.डी. प्लेयर, ३÷४ वटा वायरलेस हेडफोन अनि विश्व परिप्रेक्ष्यमा महत्वपूर्ण ठहरिएका फिल्महरुको डी.भी.डी. राखिदिऊँ । त्यसो गर्दा हाम्रा अतिथीहरु आएर आफूलाई मन लागेको फिल्म आफैँले छानेर हेर्न पाउँछन्। साना साना ३/४ वटा एमपीथ्री प्लेयरमा इयरफोन लगाएर इन्स्ट्रुमेन्टल म्युजिक, मोटिभेसनल स्पीच र अन्तर्राष्ट्रिय साहित्यका उत्कृष्ट कृतिहरुको अडियो बुक समेत सुन्न पाइन्छ। भित्तामा सजाएर राखिने केही पेन्टिङ् र ऐतिहासिक, सामाजिक एवं साँस्कृतिक महत्वका फोटाहरुले यो ठाउँलाई कलाको मिश्रण थलोको रुपमा परिचित गराउँछ भन्ने हाम्रो विश्वास छ।

वरपरका बुकसेल्फहरुमा थरीथरीका पुस्तकहरु हुन्छन्। अतिथीहरु दिनभरी बसेर चिया/कफी र हल्काफुल्का खानेकुराहरुसँगै पुस्तक पढ्न पाउँछन्। सँगैको थियटर हलमा रंगमञ्चका गतिविधिहरु भइरहेका हुन्छन्, नेपाली रंगमञ्च र सिनेमाका स्थापित कलाकार, प्राविधिक, लेखक, निर्देशकहरुको निरन्तरको उपस्थिति पनि यो ठाउँमा भइरहेको हुन्छ। कलाप्रति रुची हुने हरेक व्यक्तिले हामीलाई लगातार रुपमा दिइरहेको शुभेच्छाले हाम्रो यो धोको पूरा हुन्छ भन्ने पूर्वाभाष भएको छ। किशोरले फाइनल डिजाइन देखाएर भनेको छ, “म यो स्पेसलाई इटालियन थिममा प्ले गर्छु।” 
लेखक अर्नेस्ट हेमिङ्वेले एकफेर कुनै क्याफेका विषयमा यस्तै केही भनेका थिए, “त्यो एउटा सफा, सुन्दर अनि मायालु व्यवहारले भरिएको क्याफे थियो। मैले मेरो पुरानो वाटरप्रुफ रेनकोट र भिजेको ह्याट छेउको र्‍याकमा राखेँ र कफी अर्डर गरेँ। वेटरले कफी ल्याइपुर्‍यायो अनि त्यसपछि मैले कोटको गोजीबाट आफ्नो नोटबुक र पेन्सिल निकालेर लेख्न थालेँ।” 

हामीले पनि “कित्ली क्याफे एण्ड ग्यालरी” लाई यस्तै खाले स्पेसको रुपमा अघि बढाउन चाहेका हौँ जसले गर्दा सिर्जनशील मान्छेहरुले सफा, सुन्दर अनि मायालु व्यवहारले भरिएको माहौलमा बसेर सिर्जना गर्न सकुन्।
अचेल हामी कित्लीभरी सपना बोकेर हिँडिरहेका छौँ। कित्लीको मुखबाट निस्किने धुवाँले कसैलाई स्पर्श गर्न सक्यो भने मान्छौँ, “हामीले कसैको आत्मामा छोयौँ।”

सायद अशोकको आफ्ना कुरामा उनका अन्य ब्लग पढ्नुहोस्। [email protected]



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell