PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​प्रधानमन्त्रीका सहयोगी किन आउँछन् विवादमा?



​प्रधानमन्त्रीका सहयोगी किन आउँछन् विवादमा?

मनोज सत्याल/पहिलोपोस्ट-
काठमाडौँ: प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना स्वकीय सचिव लक्ष्मण ढकाललाई सेवा आवश्यक नरहेको भन्दै यही साता अवकाश दिए। कार्यकारी शक्तिका स्वकीय सचिव विवादमा आउने घटना नयाँ भने होइन। प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताका सहयोगीमाथि प्रायः राजनीतिक सम्बन्ध र शक्तिको फाइदा उठाउने गरेको आरोप लाग्ने गर्छ।
 
यसअघि अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीका भाइ प्रकाश रेग्मी कागज किर्ते गरेको आरोपमा मुद्दा खेपिरहेका छन्। उनी परराष्ट्र मन्त्रालयको लेटरप्याड दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए।
 
झलनाथ खनालका सहयोगी निष्कासित
पूर्व प्रधानमन्त्री एवं एमालेका पूर्व अध्यक्ष झलनाथ खनालले पनि आफ्ना सहयोगी रामबाबु अधिकारीलाई निष्कासन गरेका छन्।

कार्यकर्तासम्म पहुँच बनाउन असहयोग गरेको तथा पार्टीका दस्तावेज र सूचना चुहाएकाले उनलाई निष्कासन गरिएको श्रोत बताउँछ।
 
खनालका नयाँ स्वकीय सचिव कृष्ण भट्टराईले अधिकारीको विषयमा धेरै गुनासो आएको बताए।
 
एमाओवादीमा पनि उस्तै
दलका नेतासँगको सम्बन्ध दुरुपयोग गरेको तथा सामान्य कार्यकतालाई भेट्न नदिएको गुनासो कार्यकर्ताबाट आएपछि एकीकृत नेकपा माओवादीले नेताहरुको सचिवालयका कर्मचारी परिवर्तन गर्ने निर्णय लिनुपरेको थियो।
 
काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न सातौँ विस्तारित बैठकमा व्यापक आलोचनापछि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वकीय सचिव समिर दाहाललाई हटाएका थिए।
 
विवादित ढकाल
प्रधानमन्त्रीको स्वकीय सचिव नियुक्त भए लगत्तै ढकाल विवादमा आएका थिए। उनले खिलराज सरकारका पाला पक्राउ परेका डन छुटाउन तत्कालीन काठमाडौं प्रहरी प्रमुख रमेश खरेललाई प्रधानमन्त्री कार्यालयबाट फोन गरेको भनिएको थियो।
 
गुण्डा अप्रेसनका बेला बलराम सापकोटा बले र तेजेन्द्र गुरुङ लगायतलाई छुटाउन फोन गरेको समाचार मिडियामा आएको थियो।

प्रधानमन्त्री सुशील कोइरालाको सरकारको सय दिन पुग्न लाग्दा पत्रकार हरिबहादुर थापाले कांग्रेस कार्यकतालाई उदृत गर्दै प्रधानमन्त्री कोइराला स्वकीय सचिव ढकालको नियन्त्रणमा रहको र उनले खोपीको देवता बनाएर राखेको कान्तिपुरमा लेखेका थिए।
 
ढकालमाथि आफूले चाहेको मान्छेलाई मात्र प्रधानमन्त्रीसँग भेट्न दिने गरेको आरोप लाग्यो।
 
के भन्छन् ढकाल?
प्रधानमन्त्री कोइराला अमेरिकामा उपचार गरेर फर्किएदेखि नै आफूलाई भेट्न नदिइएको ढकालको भनाई छ। आफूले प्रधानमन्त्रीलाई दुई महिना पछि मात्र भेट्न पाएको दाबी गर्दै ढकालले आफूलाई हटाइएको बारे कोइरालाले ‘मलाई थाहा छैन' भन्ने जबाफ दिएपछि अचम्मित भएको बताए। कोइराला परिवारको नभएकै कारण आफूलाई हटाइएको उनको दाबी छ।
 
हालसम्म आर्थिक हिनामिना र भ्रष्टाचार मुद्दामा नमुछिएका प्रधानमन्त्री कोइरालालाई विवादित बनाउनका लागि आफूलाई हटाइएको उनी बताउँछन्।
 
'कोइराला र पार्टीसँग मेरो सम्बन्ध समाप्त गर्ने प्रयास भएको थियो’, ढकालले भने।
 
कोइराला प्रधानमन्त्री बनेपछि आफू छुट्टिन चाहँदा कोइरालाले नदिएको उनी बताउँछन्। ‘प्रधानमन्त्रीजस्तो मानिसकहाँ धेरै मान्छे आउँछन्। पारिवारिक लफडा होला। म महाराजगन्ज बस्छु भनेको थिएँ, उनले भने, ‘प्रधानमन्त्रीले मलाई तपाईँको आवश्यकता छ भनेर रोक्नुभएको थियो।‘
 
व्यक्तिगत फाइदाका लागि काम नगरेको दाबी गर्दै उनले आरोप प्रमाणित भए जुस्तोसुकै दण्ड भोग्न आफू तयार रहेको बताए। ‘मैले प्रधानमन्त्रीको सहयोगीका रुपमा जनता र कार्यकताका काम गरेँ’, उनले भने, ‘दलाल प्रवृतिका मान्छेलाई भेट्नचाहिँ नदिएकै हो।'
 
के हुन्छ स्वकीय सचिवको काम?
प्रधानमन्त्री कार्यलयमा रहेको सचिवालयका सबै कर्मचारी स्वकीय सचिवको मातहत रहन्छन्। प्रधानमन्त्रीलाई भिआइपीसँग सम्पर्क गराउने, भेटघाटको समय मिलाउनेदेखि प्रधानमन्त्रीले सचिव तथा विभिन्न सुरक्षा निकायका प्रमुखलाई दिने निर्देशन पनि सचिवालयका कर्मचारी मार्फत जाने गर्छ। त्यसैले स्वकीय सचिव प्रधानमन्त्रीका दाहिने हात नै मानिन्छन्।
 
स्वकीय सचिवसँग गोप्य सूचना हुने तथा फोन उठाउने काम समेत गर्ने भएकाले उनीहरुले त्यस्तो नामको दुरुपयोग गर्ने गर्दछन्।
 
भर्खरै निस्कासित कोइरालाका स्वकीय सचिव ढकालकै भनाईलाई आधार मान्ने हो भने पनि विभिन्न दलाल प्रवृत्तिका मानिस प्रधानमन्त्रीसँग निकटता बढाउने कोसिस गर्छन्। स्वकीय सचिवले गर्ने राम्रा/ नराम्रा काम समेत प्रधानमन्त्रीसँग गएर जोडिन्छ।
 
राजनीतिक दलका शीर्ष नेताले पनि पार्टी काम तथा अन्य विभिन्न कार्यक्रममा धेरै समय दिनुपर्ने भएकोले समय व्यवस्थापन लगायतका कामका लागि स्वकीय सचिव राख्छन्।
 
राजनीतिक दलका स्वकीय सचिव पनि नेताको बैठक तय गर्नेदेखि सुरक्षाका लागि सुरक्षाकर्मीसँग समन्वय गर्नेसम्मका काम गर्छन्।
 
राजनीतिक फाइदा लागि सम्पर्कमा आउनेहरुले पनि स्वकीय सचिवलाई नै भेट्नुपर्ने हुन्छ भने चन्दा संकलन लगायतका पार्टीकाममा समेत उनीहरु परिचालित हुन्छन्।
 
पूर्व प्रधानमन्त्रीका लागि सरकारले नै सचिवालयमा रहने कर्मचारीको तलब र खर्च दिने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell