PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

दुई–चार आतंककारी जत्था जम्मा गरेर माओवादी भन्नेले जनता थर्काउँदै हिँड्ने!



दुई–चार आतंककारी जत्था जम्मा गरेर माओवादी भन्नेले जनता थर्काउँदै हिँड्ने!
अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गद कटवालको आत्मकथा साउन २९ गते विमोचन हुँदैछ

रुक्माङ्गद् कटवाल-
चिफसापको आदेश भन्ठानेर राजा र राजाको आदेश ठानेर चिफसापको अनुमति मिल्यो। ४ नम्बर वाहिनीपति अनिलजंग थापालाई सँगै लिएर हेलिकप्टरमा कर्णाली किनार उत्रिएँ। हाम्रो फौज बसेको थुम्कोभन्दा तलै हामी दुईलाई लिन तीन–चारजना आएका थिए।
 
उनीहरूले हाम्रो रुकस्याक मागे। ‘आफ्नो भारी आफै बोक्छौं,' मैले ती सिपाहीलाई सम्झाएँ, ‘तिमीहरू रित्तै नहिँड्ने भन्ने छ र?'
 
हामी दिउँसो ३/४ बजेतिर उकालो लाग्यौं। मेरो र अनिलको पिठिउँमा रुकस्याक थियो। एकदम अप्ठेरो भीरको बाटो। एउटा खुट्टा रड्किए कहाँ पुगिने हो! धेरै तल सुसाइरहेको कर्णाली नीलोकालो देखिएको थियो। अर्कोतिर त्यसकै सहायक खोला।
 
‘त्यही भीरबाट खसेर लप्टन कालीमा बेपत्ता भएको थियो,' अनिलले एक/दुई दिनअघिको घटना सम्झिएँ।
 
हामी सेक्युरिटी बेस (थुम्को) मा पुग्यौं। फौज छरपस्ट थियो। पृतनापति र वाहिनीपतिलाई नै देखेपछि उनीहरूको आँतमा बल भरिने भइहाल्यो।
 
घाम ढल्किन लागेको थियो। माथि कोटबाडामा माओवादी चहलपहल प्रस्ट देखिन्थ्यो। दूरबिनबाट हेर्दा त्यो झन् स्पष्ट हुन्थ्यो। माओवादीले पनि दूरबिनबाट हेरेर हामी आएको चाल पाए होलान्! हामी पुग्नेबित्तिकै भुटुटुटु फायर गर्न थाले। उताबाट गोलीको फोहरा छुट्यो।
 
हामीलाई तर्साउन फायर गरिरहे। उनीहरू र हामीबीचको दूरी सामान्य राइफल रेन्जभन्दा धेरै टाढा थियो। तैपनि गोलीको फोहरा छुटेको आवाजले के हो के हो भइहाल्ने।
 
उनीहरू एयरपोर्टको डिल–डिलमा थिए। माओवादी जत्था सोचेजति ठूलो लागेन। तर्साउन भए पनि हामीले पनि जवाफी कारबाही गर्नुपर्ने भयो। ५६ वर्षको ज्यान अलिअलि गलेको भए पनि अरूमा त्यो भान नपार्न म होसियार थिएँ।
 
‘फलो मी,' मैले भनेँ।
 
सुरक्षित स्थान खोजेर हामी केही सय फिट अगाडि बढ्यौँ।
 
‘रेडी,' सबैलाई सतर्क गराएँ, ‘एभि्रबडी टेक कभर।'
 
त्यहाँ दुई प्लाटुनजति फौज थिए। 
 
अनिललाई देखिनँ। रूखमा छेलिएका रहेछन्।
 
‘ओ अनिल, किन डराएको?' मैले उसलाई जिस्क्याएँ।
 
‘आई एम नट हाइडिङ सर, आई एम टेकिङ कभर,' उसले भन्यो।
 
‘यु आर अल्सो बिहाइन्ड द कभर,' ऊ चिच्यायो।
 
ए हो त! मैले बल्ल आफू पनि रूखको सपोर्ट लिएर बसिरहेको चाल पाएँ।
 
लडाइँमा हामी केही न केही सपोर्ट लिएरै बसेका हुन्छौं। अब सपोर्ट लिनुपर्‍यो भनेर सोच्नुअघि नै आफसेआफ सपोर्ट खोजिसकिएको हुन्छ। एकजना प्रहरी जवान भने बिनासपोर्ट ठिंग उभिइरहेको थियो। निर्धक्क भएर माथितिर गोली चलाउँदै थियो, एसएलआरबाट।
 
माओवादी तर्साउन अरूले पनि फाट्टफुट्ट गोली चलाउँदै थिए। दुईतर्फी गोलीको आवाजले हाम्रो बेस रणभूमिजस्तै थियो।
 
‘ओ भाइ, के मूर्ख्याइँ गरेको, कभर लिनुपर्दैन?' मैले त्यो प्रहरी जवानलाई सचेत गराएँ, ‘पोजिसन लेऊ।'
 
माओवादीले झुक्याएर लामो रेन्जको फायर गर्न सक्थे। त्यसैले कभर लिन जरुरी थियो। त्यो जवान भने उभिएरै राइफल चलाइरहेको थियो।
 
‘सर, यो भाग्यमानी भएको भए कहीँ एयरपोर्ट वा थानकोटतिर हुन्थ्यो होला,' उसकै साथी चिच्यायो।
 
‘मेरा कोही माइबाप छैनन्, छ–सात वर्षदेखि लडाइँमै छु,' जवानले जवाफ दियो।
 
‘त्यसैले त जोगिएर काम गर भनेको लाटा,' मैले भनेँ।
 
‘डराउनुपर्दैन हजुर, माओवादीको गोली लाग्दैन, लागे पनि मेरो छाती कहाँ छेड्न सक्छ र!' ऊ निर्धक्क भन्दै थियो, ‘माओवादीले हानेको गोली पूर्व ताके पश्चिम, पश्चिम ताके पूर्व जान्छ।'
प्रहरीमा यस्ता बहादुर निडर सिपाही रहेछन्। प्रहरीप्रति मेरो आदर झन् बढ्यो।
 
दोहोरो फायरिङ आधा घन्टाजति चल्यो। भिडन्तमा यति समय भनेको धेरै लामो हो। उनीहरूको भाग्ने सुरसार थिएन। मैले नचाहेर पनि थप बल प्रयोग गर्नैपर्ने भयो।
 
मैले अनिललाई भनेँ, ‘८१ एमएम मोर्टार ठिक गर।'
 
हामीले स्मोक बम फायर गर्‍यौं। यसले डिरेक्सन र कभर दिन्छ। टार्गेटसम्मको दूरी अन्दाज लगाइदिन्छ। त्यसैका आधारमा हामीले तीनवटा हाइ एक्स्प्लोसिभ (एचइ) हान्यौं। टार्गेट पत्ता लागिसकेको भए पनि दायाँबायाँ हान्यौं। उनीहरूले खनेको ट्रेन्चमा सर्वसाधारणलाई जबर्जस्ती ल्याइएको हुनसक्छ भन्ने मलाई डर थियो।
 
तैपनि माओवादी तितरबितर भएनन्। हामी मानवीय क्षति गर्दैनौं भन्ने बुझेर उनीहरू फाइदा लिन खोजिरहेका थिए।
 
मैले मान्माबाट १२० एमएम मोर्टार हान्न आदेश दिएँ। रेन्जिङ गरेर हामीले फेरि दुईवटा हान्यौँ। यो कारबाही पनि प्रभावकारी भएजस्तो लागेन।
 
अब तर्साएर मात्र नहुने भयो। हल्का बल प्रयोग नगरी सुख पाइएन। मान्मा ब्यारेकमा रकेट लन्चरसहितको हेलिकप्टर तैनाथ थियो। हेलिकप्टर कोटबाडामाथि गयो र दुईवटा रकेट लन्चर हान्यो। रकेट लन्चर हेलिकप्टरको पखेटामुनि राखिएको हुन्छ। पाइलटले हिसाबकिताब गरेर स्विच थिचेपछि फायर हुन्छ। यो एउटाकै निकै हजार डलर पर्थ्यो। महँगो भएकाले हामी सितिमिति प्रयोग गर्दैनथ्यौं।
 
रकेट लन्चरबाट दुईवटा बम हानेपछि बल्ल माओवादीको सातोपुत्लो उड्यो। उनीहरू भागाभाग भए।
 
‘फौज, अब एड्भान्स गराऊ,' मैले आदेश दिएँ।
 
हामी उकालो लाग्यौं। सेटबाट मैले पाइलटलाई आदेश दिएँ, ‘माओवादी फेरि फर्किन सक्छन्, कभरिङका लागि केही समय बसिराख।'
 
हेलिकप्टर कोटबाडामाथि घुमेको घुम्यै थियो।
 
त्यतिबेला राति ८ बजिसकेको थियो। लम्किएर उकालो हिँड्दा दुई घन्टामा कोटबाडा पुग्यौं।
‘मिसन कोटबाडा' सफल भयो।
 
सिपाहीको बहादुरीले माओवादी तितरबितर भए।
 
‘ल राम्रो ठाउँ अकुपाई गरेर बस्नू,' मैले आदेश दिएँ।
 
हेलिप्याड र डाँडा अकुपाई गरेर हाम्रो फौज बस्यो। तुरुन्त पोस्ट बनायौं। अरू आवश्यक प्रबन्ध मिलायौं। मध्यरातमा म र अनिल मान्मा फर्कियौं। त्यहाँको ब्यारेकलाई मैले विशेष धन्यवाद दिएँ।
 
भोलिपल्ट नेपाल टेलिभिजनकी पत्रकार रमा सिंह लगायतलाई सुर्खेतबाट लगेर कोटबाडा देखायौं। विभिन्न सञ्चारमाध्यमका तीन/चार पत्रकार बुलेटप्रुफ ज्याकेट र हेलमेट लगाएर पुगेका थिए। उनीहरूले माओवादीले बनाएको टिनको खेलौनाजस्तो तोप देखे। माओवादीले अवरोध गर्न बनाएको ठाउँ देखे।
 
सुर्खेत फर्किँदा रमा सिंहले हेलिकप्टरमै मेरो अन्तर्वार्ता लिइन्।
 
‘माओवादी कहाँ छन् मलाई देखाइदिनुस्। दुई–चार आतंककारी जत्था जम्मा गरेर माओवादी भन्नेले जनता थर्काउँदै हिँड्ने! एक/दुई दिन त डाँकाले पनि कसैको घर कब्जा गर्न सक्ला। यसको मतलब राज्यभित्र राज्य खडा भयो भन्ने हैन। सुरक्षाफौज आफ्नो इच्छाअनुसार अधिराज्यभित्र जहाँ पनि पुग्ने क्षमता राख्छ।'
 
मैले यस्तै यस्तै बोलेँ।
 
अनिलले पनि भने, ‘मेरो क्षेत्रभित्र फौज जान नसक्ने ठाउँ कहीँ छैन।'
 
(साउन २९ गते विमोचन हुने नेपालयबाट प्रकाशित अवकाश प्राप्त प्रधान सेनापति रुक्माङ्गद कटवालको आत्मकथाबाट) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell