PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

सुरज र सहाना फेरि संकटमा, हाल हनुमानढोकामा हिरासतमा



सुरज र सहाना फेरि संकटमा, हाल हनुमानढोकामा हिरासतमा

काठमाडौँ : भिजे सुरज गिरी र मोडल सहाना बज्राचार्य फेरि एक पटक संकटमा परेका छन्। उनीहरु हाल महानगरीय प्रहरी परिसर हनुमानढोकाको हिरासतमा रहेका छन्। 

हर्षवर्द्धन साहनीलाई फोन गरेर ज्यान मार्ने धम्की र अश्लील गाली गलौज गरेको आरोपमा छानबिन गर्न उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिई हिरासतमा राखेको हो। 

साहनी विज्ञापन कम्पनीका सञ्चालक हुन्। उनको कम्पनीले म्युजिक भिडियो र विज्ञापन बनाउने गर्छ। दुई महिनादेखि सुरज र सहानाले फोन गरेर यातना दिएको उजुरी साहनीले दिएका थिए। 

प्रहरीका अनुसार सहानासँग घुमेको विषयमा सुरजले पहिला फोन गरेर हर्षवर्धनलाई धम्क्याएका थिए। पछि सहानाले समेत फोन गर्दै उनलाई अश्लील गाली गरेको पीडितले प्रहरीमा बुझाएको रेकर्डमा सुनिन्छ।

'तैँले आफूलाई के ठानेको छस्। मसँग निहुँ खोजेर काठमाडौंमा टिक्न सक्छस्, तेरो छोरी छ हैन, त्यसलाई बलात्कार गरिदिन्छु, तँलाई मारिदिन्छु' रेकर्डमा सुरजको भनिएको आवाजमा थर्काएको सुनिन्छ।
 
उनले प्रहरीमा जाने त होला नि हैन, प्रहरीले केही गर्न सक्दैन, सब पुलिसलाई किनिदिन सक्छु भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीको नामै लिएर त्यसलाई ४० लाख किनिदिन्छु भनेको रेकर्डमा सुनिन्छ। 

उजुरीको आधारमा उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेर पछि मुद्दा प्रकृया अगाडि बढाउन काठमाडौं परिसरमा बुझाएको हो। 

उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत  मुद्दा चलाउने कि धम्कीमा वा सार्वजनिक अपराधमा भनेर प्रहरी छलफलको चरणमा छ ।

यसअघि पनि गत साउनमा चितवनमा प्रहरीले नियन्त्रणमा लिएको विषयलाई मिडियाले गलत ढंगले प्रस्तुत गरेको भन्दै उनीहरुले खण्डन गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell