PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इबोलाका कारण विश्वभर स्वास्थ्य खतरा



इबोलाका कारण विश्वभर स्वास्थ्य खतरा
इबोला भाइरसको खतरा। फोटो : आरटी डट कम

काठमाडौँ : विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिरहेको इबोला भाइरसलाई असाधारण घटना भन्दै यसले विश्वभर अन्तर्राष्ट्रिय स्वास्थ्य जोखिम बढाएको बताएको छ। 

शुक्रबार विश्व स्वास्थ्य संगठनले एक विज्ञप्ति जारी गर्दै विश्वभर पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको छ। 

दुई दिनको आपतकालीन बैठकपछि संगठनले यस्तो घोषणा गरेको हो। संगठनले यो भाइरस महामारीका रुपमा अझै विश्वभर फैलन सक्ने बताएको छ। 

पश्चिम अफ्रिकी चार देशहरुमा फैलिएको इबोला भाइरसका कारण अहिलेसम्म झण्डै हजार जनाको मृत्यु भइसकेको छ। 

यसलाई अन्तर्राष्ट्रिय रुपमा फैलनबाट रोक्न संगठित रुपमा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको जेनेभा मुख्य कार्यालय रहेको संगठनले जनाएको छ। 

यो भाइरस फैलिरहेका ​पश्चिम अफ्रिकी देशहरु लाइबेरिया र सिएरा लिओनमा शान्ति स्थापनार्थ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीहरु पनि रहेका छन्। 

के हो इबोला ?
इबोला प्राण घातक रोग हो। यो रोग लागेका ९० प्रतिशतको मृत्यु हुने गर्छ। मानव र पशु दुवैमा यो रोग देखिएको छ। 

इबोला सुरुमा सन् १९७६ मा देखिएको थियो। कंगोको इबोला नदी छेउको एउटा गाउँमा र सुडानको अर्को दुर्गम गाउँमा यो रोग पहिलो पटक भेटिएको थियो। 

पश्चिम अफ्रिकामा अधिकांश अवस्थामा यो मान्छेबाट मान्छेमा सरेको देखिएको छ। इबोला संक्रमित रोगीको उपचारमा संलग्न १०० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि यो रोग सरेको देखिएको छ। 
विश्व स्वास्थ्य संगठनले यो रोग लागेको अवस्थामा घरमै उपचार नगर्न सचेत गराएको छ। 

महामारी फैलाँदा स्वास्थ्यकर्मीहरु, परिवारका सदस्यहरु र रोगबाट मृत्यु भएकाको अन्त्येष्टिमा सहभागी हुनेहरु पनि जोखिममा रहनेतर्फ संगठनले सचेत गराएको छ। 

लक्षण के हुन् ?
विश्व स्वास्थ्य संगठनका अनुसार अचानक ज्वरो आउने, बेस्सरी कमजोर हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने प्रारम्भिक लक्षण हुन्। त्यसपछि झाडाबान्ता हुने, चिलाउने, मृगौला र कलेजोमा समस्या आउने र ब्लिडिङ हुने गर्छ। 

प्रयोगशाला परीक्षणबाट मात्र यो रोग लागेको पुष्टि गर्न सकिन्छ। 

उपचार के ?
रोगले निकै गाँजिसकेको बिरामीका लागि सघन उपचार आवश्यक हुन्छ। तर यो रोगको उपचारका लागि कुनै निश्चित उपचार विधि नभएको विश्व स्वास्थ्य संगठन बताउँछ। अहिलेका लागि यो रोगबाट संक्रमित बिरामीलाई संक्रमण अरुमा फैलन नदिन अरुबाट अलग राख्नु नै उचित विधि भएको संगठनको राय छ। 

यसको उपचारका लागि खोप वा औषधि बनाउने प्रयास जारी छ। 

comments powered by Disqus



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell