PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'न नेतृत्व, न सिद्धान्त; कसरी बन्छ संविधान?'



'न नेतृत्व, न सिद्धान्त; कसरी बन्छ संविधान?'

  • राजेश्वर देवकोटा
मलाई कमरेड मोहन वैद्य किरणले आफ्ना कुरा राख्न यहाँ बोलाएकोले आएको छु।

राष्ट्रवादी चर्चा हुने ठाउँमा म जहाँ पनि जाने गरेको छु। जहाँ राष्ट्रवादको चर्चा हुन्छ, जहाँ राष्ट्रवादको बिरुवा उम्रन्छ त्यहाँ त्यहाँ पानी हाल्दै जाने मेरो कर्तव्य हो। तर राष्ट्रको स्थिति, राष्ट्रियता र राजनीति बहकिन थालेको धेरै भयो। त्यसलाई सुधारौँ, ठाउँमा ल्याउँ भन्दाभन्दै मेरो उमेर गैसक्यो। मैले सक्या छैन। नसकेको कुरा मैले सुरुमै राखेँ।

मैले २००३ सालमा राजनीति प्रारम्भ गरेँ। यही मञ्चमा पनि आज म परिस्थितिले सबैभन्दा वृद्ध ठहरिएँ। त्यसकारण मैले मेरो उमेरले गर्दा, मेरो सिद्धान्तले गर्दा यहाँ उत्तेजनात्मक भाषण गर्न मिल्दैन। न त विखण्डन ल्याउने कुरा गर्न नै मिल्न वा न कसैलाई आरोप प्रत्यारोप गरेर आफूलाई सफाइ दिने काम गर्न नै मिल्छ।

किनभने म त भोगिरहेकै छु, जुन परिस्थितिमा नेपाल पुग्यो यसमा म पनि जिम्मेवार छु नि। यो कालमा त म पनि छु। यो कालमा भएको वा बिग्रेको स्थितिमा म पनि छु। अरु जिम्मेवार हुन्, म चाहिँ चोखो छु भनेर उम्किन सक्दिनँ। किनभने भोलि इतिहास लेख्नेले यो कालका मेरा कुरा पनि लेख्छन्। त्यसैले मेरो असफलताको कुरा यहाँ निवेदन गर्नुपर्ने भएको छ।

२००७ सालबाट हामीले राजनीति सुरु गर्‍यौँ, संघर्षात्मक राजनीति। राजनीति कहिलेदेखि बहकिएको भने- २००७ सालको राजनीति एक प्रकारले टुंगियो। त्यसबेला नेपाली कांग्रेसको झण्डामुनि बसेर मैले क्रान्ति गरेँ। कांग्रेसको एउटा सक्रिय सदस्य नै थिएँ।
 
सात साल सकिएपछि आठ सालमा के भयो? सात सालको क्रान्तिको परिणाम आठ सालमा नेपालमा विदेशी मिलिटरी आएर बस्न थाल्यो। पहिले त्यहीँबाट बहकियो राजनीति। त्यसलाई सपोर्ट गर्नेहरु सत्तामा आउँदै गए, आउँदै गए। त्यसबीचका धेरै कुरा म गर्दिनँ। त्यो परिस्थिति बन्दै बन्दै जाँदा कहिलेकाहीँ सुध्रिने चेष्टा गर्छ, झन् बहकिन्छ।
 
हुँदाहुँदै ४६ सालको आन्दोलन भयो। ४६ सालको आन्दोलन सबैले बडो रुचिपूर्वक हेरे। त्यसले के दियो त? त्यसले केही दिएको रहेनछ भन्ने त ६२/६३ सालको आन्दोलनले स्वतः प्रमाणित गर्‍यो। त्यसको मैले चर्चा गर्नुपरेन।
 
६३ साल आयो र आन्दोलन भयो। के आधारमा भयो त त्यो आन्दोलन? कतिपयलाई बिझ्ने कुरा हुनसक्छ तर त्यो आन्दोलन दिल्लीमा भएको १२ बुँदे सम्झौताको आधारमा भयो। दिल्ल्लीको १२ बुँदेका आधारमा नेपालमा ६२/६३ को क्रान्ति भयो। त्यो क्रान्ति नेपालीको बलमा नेपालीले गर्‍या हो त? अब यहाँनेर प्रश्न आउँछ।
 
नेपालीका बलमा हुने आन्दोलन भएको भए १२ बुँदे सम्झौता त्यहाँ गएर किन गर्नुपर्‍यो? १२ बुँदे सम्झौता गरेर यहाँ आएर त्यसको बलमा यहाँ क्रान्ति गरेको भएकाले त्यो नेपालीकै बलमा भएको हो त भन्ने प्रश्न छ। त्यो दिनदिनै प्रश्नका रुपमा आएको छ।

न नेतृत्व न सिद्धान्त

किनभने ६३ सालले अहिलेसम्म केही पनि दिएन। ६३ सालको न नेतृत्व थियो न सिद्धान्त थियो। ६३ सालको आन्दोलन कुनै सिद्धान्तको आधारमा नेपाली नेतृत्वले आफैले गरेको भए अहिलेसम्म संविधान बनिसक्थ्यो। संविधान किन बनेन त? अरु धेरै कारण होलान्, तर मूल कारण के हो भने एउटा नेतृत्व चाहिन्छ, अर्को सिद्धान्त चाहिन्छ। यी दुईओटा कुरा नभइकन संविधान बन्दैन।
 
अब नेतृत्व कुन हो त? अहिलेको संविधान सभामा कस्तो नेतृत्व छ? त्यो त देखिएन। यो भन्दा अघिको संविधान सभा पनि त्यसै कारणले फेल भएको हो। किन भएन भने कुनै नेतृत्वले यो भनेको यो हो भनेर मनाउन सकेन। सबैले मान्ने एउटा नेतृत्व भएन। त्यस कारणले सकेन, फेल भयो। र, त्यही कुरा फेरि दोहोरियो।
 
त्यसपछि दोश्रो संविधान सभामा आउनेहरु पनि तिनै अनुहार आए, त्यही ६०१ जस्ताको तस्तै पुनर्नवीकरण भएर आयो। अब त्यसमा आउनेहरुले आफूलाई बुझ्नुपर्थ्यो कि अघिल्लोपालि हामी किन फेल भयौँ र हामी फेरि किन यहाँ आएका छौँ भन्ने प्रश्नको उत्तर त उनीहरुसँगै हुनुपर्थ्यो। उनीहरुसँग जिज्ञासा हुनुपर्थ्यो हामी किन आयौँ?  
 
अहिले पनि प्रश्न के रह्‍यो भने कुन नेतृत्वमा संविधान बनाउने त? कुन नेतृत्वले संविधान बनाउन पहलकदमी लिने, कुन सिद्धान्त लिने? लोककल्याणकारी संविधान बनाउने कि समाजवादी संविधान बनाउने हो कि? केही सिद्धान्त अगाडि देखाउनुपर्‍यो नि। उद्देश्य देखाउनुपर्‍यो नि। सिद्धान्त र उद्देश्य नभइकन जिन्दगीभर हिँडे पनि गन्तव्यमा पुगिँदैन। खै त नेपाली जनतालाई देखाउन सकेको?

सिद्धान्त खै ?

६०१ बसेर संविधानको कुरा त गर्छन् तर कुन सिद्धान्तका आधारमा संविधान बनाउने हो अहिलेसम्म कसैले पनि जनतालाई भनेका छैनन्। उनीहरुले बुझेका होलान्, जानेका होलान तर हामीलाई भन्न सकेका छैनन्। अन्त पनि संविधान बनेका छन्। भारतमा पनि संविधान छ। त्यहाँ संविधान बन्दा म भारतमा निर्वासित थिएँ। धेरै प्रश्न आइरहन्थे। जटिल प्रश्नहरु आउँदा नेताहरु गान्धीजीकहाँ जान्थे र उहाँले यसरी गरौँ भनेपछि सबैले मान्थे। त्यसरी त्यहाँ संविधान सम्भव भयो किनकि त्यहाँ नेतृत्व थियो। चीनमा पनि नेतृत्व थियो र त संविधान बन्यो। यहाँ नेतृत्व र सिद्धान्त खै? भारतको सिद्धान्त प्रष्ट थियो लोककल्याणकारी सिद्धान्त। सिद्धान्त प्रष्ट भएकोले संविधान बन्यो।
 
समाजवादी सिद्धान्तमा बनाउने वा लोककल्याणकारी सिद्धान्तमा बनाउने हो स्पष्ट नहुँदा संविधान नबनेको हो। ६०१ जतिपटक आए पनि संविधान बन्दैन। अहिले संविधान सभाभित्र जे भइरहेको छ, त्यसको आलोचना म गर्न चाहन्नँ। किनभने हामीभन्दा बढी विज्ञ मान्छे त्यहाँ हुनुहुन्छ। उहाँहरु आफैप्रति कत्तिको जिम्मेदार हुनुहुन्छ प्रष्टीकरण दिनुपर्छ। ६०१ जना सबैले दिनुपर्छ। आफू भागेर दोष अरुको थाप्लोमा हाल्न पाइँदैन।
 

मधेसका नेतालाई निवेदन

मैले मधेसका नेताहरुलाई पनि केही निवेदन गर्नु छ। तपाईँहरु त राष्ट्रिय नेता हो। तपाईँहरुलाई त हामीले राष्ट्रिय नेताको हैसियतमा देख्न चाहेका हौँ। तपाईँहरु स्थापित पनि भैसक्नुभएको छ। राष्ट्रिय व्यक्तित्व बनिसकेका तपाईँहरु किन मधेसको मात्र नेता बनेर निस्कनुहुन्छ? राष्ट्रिय नेता भैसकेको मान्छे एउटा क्षेत्र विशेषको नेता भएर निस्कँदा त्यसै विच्छृंखल भैहाल्यो नि। कोही सुदुरपश्चिमको नेता, कोही नेवाको नेता, कोही मगरातको नेता, यो प्रोसेस त ठिक भएन। त्यसकारण फेरि आफ्नो अवस्थितिलाई पुनर्विचार गर्न आवश्यक छ।
 
यो कार्यक्रम नेवा राज्यले यो गरेको रहेछ। नेवा राज्य कत्रो छ भने इलामदेखि लिएर डोटीसम्म नेवा राज्य छ, नेवा संस्कृति छ। यो मुलुकमा कलाकौशलको बिस्तार गर्ने काम, संस्कृतिको बिस्तार गर्ने काम नेवारहरुले गरेका हुन्। देशभर नेवाः संस्कृति छ। फेरि नेवाःका नाममा सानो प्रदेश माग्ने हो भने त आफ्नो विघटन आफैबाट हुन्छ, आफैबाट आफ्नो अवमूल्यन हुन्छ, संकुचित हुन्छ। यो प्रक्रिया त ठिक भएन। अब नेवाः राज्य माग्नेहरुले के गर्नुपर्ने हो त भने आफ्नो जुन राज्य स्थापना भएको छ यसलाई कसरी सुदृढ गर्ने? नेवाकरण कसरी गर्ने? त्यो अधिकार कसरी पाउने?
 
जस्तो, पहिले सबैतिर छठको चलन थिएन। अब अहिले छठको चलन भयो यहाँ। मैथिली संस्कृति आयो। यसरी बिस्तार हुँदैछ, हामी आपसमा यसरी मिल्दैछौँ र परिस्थितिले हामीलाई यसरी जोड्दैछ। एकातिर चेतना र विकासले हामी नागरिकलाई एकआपसमा जोड्दैछ, अर्कोतिर हाम्रा नेताहरु आफै छुट्टिएर हिँडिरहेका छन्। त्यही प्रंसगमा मैले मधेसका नेताहरुलाई भनेको तपाईँहरु त राष्ट्रिय नेता हो। राष्ट्रिय नेताको हैसियतले सोच्नुस्, हरेक कुरालाई राष्ट्रिय दृष्टिकोणले सोच्ने हो भने हरेक कुराको समाधान छ। तर विखण्डनका दृष्टिले सोच्यो भने विखण्डनवाद हुन्छ। अबको आवश्यकता भनेको राष्ट्रिय दृष्टिकोणले मुलुकलाई अगाडि बढाउनको निम्ति राष्ट्रवादी संगठन चाहियो, राष्ट्रिय क्रान्ति चाहियो।
 
जनक्रान्ति त भए, धेरै क्रान्तिहरु भए। प्रजातान्त्रिक क्रान्ति भयो सात सालमा। त्यसपछि दुईओटा जनक्रान्ति भए। तर राष्ट्रिय क्रान्ति अझै भएको रहेनछ। अब राष्ट्रिय क्रान्ति अति आवश्यक भैसक्यो। राष्ट्र नै सर्वोपरी हो, हामीले राष्ट्रकै हितको लागि समर्पित गरिदिनुपर्छ भन्ने एउटा भावना जगाउनको निमित्त एउटा राष्ट्रिय क्रान्ति चाहियो। त्यो भावना जागृत भयो भने नेपाल पनि बन्छ। संविधान बनाउने कुरा त मामुली कुरा हो। संविधान पनि बन्छ किनभने त्यसको उद्देश्य र सिद्धान्त स्पष्ट हुन्छ।
 

पक्ष प्रतिपक्ष कसरी ?

अहिले जुन ६०१ को सभा छ त्यसमा को छन्? जे जति त्यहाँ झगडा गरे पनि आखिर ती सबैको मूल त १२ बुँदे नै हो। अहिले जति पार्टी छन् त्यहाँ आपसमा झगडा गरे पनि १२ बुँदेबाट गाइडेड भएका मान्छे हुन्। झगडा किन फेरि? जब गाइड गर्ने १२ बुँदे नै हो सबैको भने त्यहाँ भित्र झगडा कसरी भयो? पक्ष, प्रतिपक्ष कसरी भयो? हामीले बाहिरबाट हेर्दा त एउटै पक्ष छ। दुईओटा पक्ष त छैन।
 
सहमतिको संविधान बनाउँ भन्छन्। अब त्यहाँ भएका ६०१ को सहमतिबाट जारी भएको संविधानले चाहिँ काम गर्छ, अनि बाँकी अरुको चाहिँ कुनै हिसाब छैन फेरि? त्यसकारण सहमति भनेको के हो? कसको सहमति? ६०१ को सहमति भयो भने पुग्छ त? त्यहाँ त म छैन, हामी बहुसंख्यक मान्छे त ६०१ मा पर्दैनौँ। त कसकसको सहमति फेरि? यो अस्पष्ट छ। अर्को कुरा त्यहाँ दुई पक्ष जुन देखिएको छ, हाम्रो बहुमत छ हाम्रो भन्नेको त एउटा आधार छ किनकि उनीहरुसँग संख्या छ, शक्ति छ। अर्को पक्षको के त आधार? यहीँनेर छ कमजोरी। त्यो कुरा उनीहरुले महसुस गर्नुपर्छ। उनीहरुले के निकास दिन सक्छन्? सहमति भनेको के जनतालाई बुझाउनुपर्‍यो। ६०१ को सहमति भनेको कि? अरु मान्छेको चाहिँ भाउ के? त्यसैले अहिले त्यहाँ भित्र जुन विपक्षी भनिन्छ, त्यो विपक्षी नै होइन।
 
१२ बुँदे सम्झौताबाट गाइडेड सबै एउटै हुन्। १२ बुँदेको मर्म विपरित भयो भन्छन् नि। उनीहरुले भन्न खोजेको के भनेँ मिलेर जाउँ। मिलेर जाँदा त ६०१ मात्रको सहमति हुने भयो। ६०१ भित्र त म छैन। अनि मेरो प्रतिनिधित्व कसरी हुन्छ? त्यहाँ आफूलाई अपोजिसन भन्नेको आधार नै कम छ, त्यसले धान्न सक्दैन। त्यसैले अर्को अपोजिसन चाहियो। अहिले कमरेड किरणको नेतृत्वमा तपाईँहरुले जे गरिरहनुभएको छ, तपाईँहरुको चाहिँ एउटा आधार छ। 
 

म किन कम्युनिष्ट बन्न सकिन?

म प्रगतिशील मोर्चालाई समर्थन चाहिँ गर्छु तर म खुदै मार्क्सवादी वा कम्युनिष्टचाहिँ होइन। किन होइन भने कम्युनिष्ट हुनलाई ठूलै शक्ति र संघर्ष चाहिन्छ। आत्मविश्वास चाहिन्छ, अनुशासन चाहिन्छ, अध्ययन चाहिन्छ, क्रान्तिकारी भावना चाहिन्छ। यी जम्मै कुरा मसँग छैन। त्यो जम्मै कुरा नभइकन म कम्युनिष्ट हुँ भन्यो भने त्यो झुटा कुरा हुन्छ। त्यसकारण म समर्थन त गर्छु प्रगतिशील मोर्चालाई तर खुदै कम्युनिष्ट होइन।
 

न सम्मान न खाने कुरा

सबैभन्दा पहिला राष्ट्र स्थापना गरौँ। अहिले त यहाँ राष्ट्रियता पनि छैन, सम्मान पनि छैन र खाने कुरा पनि छैन। सम्मान नभए पनि खाने कुरा त हुनुपर्छ नि। न सम्मान छ, न खाने कुरा छ। कस्तो मुलुक बनायौँ हामीले? राणाकालमा अधिकार थिएन तर खाने कुरा चाहिँ यहीँ पुग्थ्यो। जाँदाजाँदा हामीसँग न खाने कुरा रह्‍यो न अधिकार। कहाँ पुर्‍यायौँ हामीले मुलुकलाई? त्यसकारण पहिला राष्ट्रको स्थापना गरौँ। राष्ट्रको स्थापना गर्नलाई हामी सबैको एकता जरुरी छ। मधेसका नेताले मधेसको मात्र कुरा गर्ने हो भने राष्ट्रको स्थापना कसरी हुन्छ? नेवाका नेताले नेवारको मात्र कुरा गर्ने हो भने राष्ट्रको स्थापना कसरी हुन्छ? मगरका नेताले मगरको मात्र कुरा गर्ने हो भने राष्ट्रको स्थापना कसरी हुन्छ? अब उदयपुरदेखि लिएर कर्णालीसम्म मगरहरुको राज्य छ, मगरात छ। मगर प्रदेश माग्ने हो भने त सानो एउटा प्रदेश पाइने भयो। त आफूलाई आफैले अवमूल्यन गर्ने?
 

जातिवादको प्रक्रिया

अहिले चलिरहेको प्रक्रिया जातिवाद हो। जातिवादको कुरा कसले उठाएको छ? संसदभित्र जातिवादको कुरा उठाउने कम्युनिष्ट। कम्युनिष्ट र जातिवाद त हुनै नसक्ने कुरा। जातिवादले समाजको विखण्डन गर्छ, राष्ट्र बन्न दिँदैन। त्यसकारण जातिवाद मास्न पर्छ भनेर कम्युनिष्टको स्थापना भएको अनि कम्युनिष्टले नै यो नारा बोकेर हिँडेपछि के हुन्छ? त्यसकारण झुटा कुरा गर्नुहुँदैन। कम्युनिज्मको नाममा आफूलाई कम्युनिष्ट भनेर विघटनको कुरा गर्नु हुँदैन। संगठनको कुरा गर्ने पो कम्युनिष्ट, विघटनको कुरा गर्ने कसरी कम्युनिष्ट?
 
अहिले यहाँ चर्चामा आएको संघीयता विघटनवाद हो। यस्तोमा लाग्नु हुँदैन। हो, संघ चाहिन्छ। सबैभन्दा पहिला ग्राम संघ चाहियो, त्यसपछि क्षेत्रीय संघ चाहियो त्यसपछि राष्ट्रिय संघ चाहियो। तलदेखि संघ बनाउँदै ल्याउँ। गाउँदेखि नै त्यहाँका जनता र नेताको अस्तित्व कायम होस् भन्ने ढंगले संघको विकास गर्ने कि माथिबाट थोपर्दिने? माथिबाट थोपरेको संघले काम गर्दैन। गाउँदेखि नै संघको विकास गर्दै ल्याएमा मात्र राष्ट्र बन्न सक्छ।
 

भ्रष्टाचारको आधारमा बनेको संसद

अर्को कुरा अहिलेको संसद के को आधारमा बनेको छ? यो भ्रष्टाचारको आधारमा बनेको छ। यसले भ्रष्टाचार त निवारण गर्नै सक्दैन किनभने करोडकरोड खर्च गरेर एउटा सदस्य भएको छ। करोड करोड चन्दा दिएर एउटा मनोनित भएको छ। त्यस्ता मान्छेहरुले अर्को करोड जम्मा पारेर फेरि चुनाव लड्नुपर्ने हुन्छ। अनि त्यो धन कहाँबाट आउँछ? त्यसकारण भ्रष्टाचारको मूल नै यो संविधान सभा हो। त्यसकारण यो चुनाव पद्दति नै परिवर्तन गर्नुपर्छ। यो परिवर्तन नभइकन यस्ता ६०१ अर्को चारपटक चुनिएर आए पनि यसले केही पनि दिन सक्दैन।
 
मेरा मूलभुत कुरा यिनै हुन्। आज किरणजीले भन्नुभयो- आआफ्ना कुरा राखौँ। उहाँ र हामीबीच सबै कुरा मिल्दैनन् तर राष्ट्र बनाउने कुरामा उहाँहरु लाग्नुभएको छ, यसमा मेरो पूर्ण समर्थन छ। हामी सँगै जान सक्छौँ। अन्य वादलाई तपसिलमा राखेर राष्ट्र स्थापना गरौँ अनि आआफ्ना वाद (इज्म) का पछि लागौँला। 

(मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी नेवाः राज्य समितिले माघ १४, बुधबार 'संविधान सभा २ विघटन र सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा गठन'का लागि गरेको अन्तरक्रियामा राजेश्वर देवकोटाले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश। वि.सं. १९८६ मा गोरखामा जन्मिएका देवकोटा २००४ सालको जयतु संस्कृतम् आन्दोलनमा अगुवा भएपछि देश निकाला भएका थिए। २००७ सम्म राणा शासनविरुद्ध गोरखा क्षेत्रबाट नेतृत्त्व गरी आन्दोलन गरेका उनी पञ्चायत र ४६ सालपछि पनि पटक पटक मन्त्री, राष्ट्रिय पञ्चायतका अध्यक्ष, सांसद् भए। हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आवद्ध छन्।) 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell