PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मृतकको मोबाइलले यसरी जोड्यो हत्याको तार



मृतकको मोबाइलले यसरी जोड्यो हत्याको तार
फोटो साभार : ड्रिमसाइट डट कम

काठमाडौँ : पुस ३० गते राति। काठमाडौँको टोखास्थित दिपज्योति आवासीय मावि नजिकैको सडक पेटीमा नामथर नखुलेका युवकको लाश भेटिएको खबर आयो। महानगरीय प्रहरीको अपराध महाशाखाको टोली घटनास्थल पुग्दा टाउकोमा चोट लागेको अवस्थामा एक युवक भेटिए। उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याइयो। तर त्यही रात उनको मृत्यु भयो।

कसले किन हत्या गर्‍यो मात्रै होइन, कसको मृत्यु भयो भन्ने समेत पत्ता लगाउन बाँकी थियो।

घटनास्थल वरपरका मानिसहरुसँग सोधपुछ गर्ने क्रममा मृतकका आफन्तहरुसँग सम्पर्क भयो। मृतक रहेछन् युरुङ तामाङ। वर्ष २५। धादिङ जिल्लाको तिप्लिङ ९ घर भई हाल काठमाडौँकै गोलढुंगामा बस्ने। प्रहरीसँग थप अनुसन्धानको अर्को कुनै आधार थिएन। आफन्तबाटै तामाङको मोबाइल नम्बर भेटियो।

यही मोबाइल नम्बरलाई आधार बनाएर गरिएको अनुसन्धानले अन्ततः हत्यामा संलग्न अभियुक्तहरु पक्राउ गर्न अपराध महाशाखा सफल भयो।

कसरी गरियो त अनुसन्धान ?

९८१८१२३६६१। तामाङको नम्बर यही थियो। मोबाइल नम्बरको प्राविधिक अनुसन्धान गरेपछि थाहा भयो मृतकको साथबाट हराएको मोबाइल अहिले काभ्रे जिल्ला महादेवटार-७ बस्ने वर्ष ३९ का लीलाबहादुर थापा मगरले चलाइरहेका रहेछन्।

थापा मगरको साथबाट बरामद भएको मोबाइल प्रहरीले मृतकका भाइलाई देखाउँदा उनले भने, हो मेरो दाइले यही मोबाइल चलाउने गर्थ्यो। मैले नै किनिदिएको हो।

अब थापा मगरतिर सोझियो अनुसन्धानको एङ्गल। कहाँबाट आयो त मृतकको मोबाइल थापा मगरसँग? उनले आफूलाई यो मोबाइल सुवास मिश्रले हजार रुपैयाँमा बेचेको बताए। थापा मगरको घटनामा कुनै संलग्नता थिए। सस्तोमा मोबाइल किन्दा उनी यो हत्याको अनुसन्धानमा तानिन पुगेका थिए।

तर प्रहरीले फेला पारिसकेको थियो अर्को क्लु। यसैका आधारमा माघ ४ गते रेस्टुरेन्टमा काम गर्ने पेशा भएका भक्तपुर दधिकोट-६ घर भई गोंगबु बस्ने २० वर्षीय सुवास मिश्र पक्राउ परे। मिश्रलाई नियन्त्रणमा लिएर बयान लिएपछि बल्ल खुल्यो हत्याको राज।  

मिश्रले आफूले नै सो मोबाइल थापा मगरलाई बेचेको स्वीकार गरे। प्रहरीले मिश्रलाई दिएको बयान अनुसार घटना विवरण यस्तो थियो-

पुस ३० गते राति नौ बजे युरुङ तामाङ आफ्नै सुरले फोनमा कुरा गर्दै घटनास्थल टोखामा हिँडिरहेका बेला झ्याप्ले उर्फ कमल न्यौपाने र सुवास मिश्र लगायतका ४/५ जना केटाहरुको ग्याङसँग ठोकिन पुगे। किन ठोकिस् भन्दै झ्याप्ले उर्फ कमल न्यौपाने र सुवास मिश्र लगायतका केटाहरुले इँट्टा तथा ढुंगाले टाउकोमा हाने। तामाङ त्यहीँ ढले। उनीहरुले साथमा रहेको नगद तथा मोबाइल लुटी लगे।

तामाङको लुटिएको त्यही मोबाइलले नै अन्ततः उनको हत्याको तार हत्यारासँग जोडिदियो। मिश्रको बयानपछि घटनामा संलग्न मध्येका झ्याप्ले उर्फ कमल न्यौपानेलाई माघ १३ गते प्रहरीले बालाजुबाट पक्राउ गर्‍यो।

धादिङ धुसा-१ चरौँदी घर भई हाल बसुन्धरा बस्ने २० वर्षका विवाहित झ्याप्ले पेशाले तरकारी व्यापारी हुन्। अहिले झ्याप्ले र मिश्र दुवैलाई आवश्यक  कानुनी कारवाहीको लागी महानगरीय प्रहरी वृत्त महाराजगंज पठाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell