PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

एमाओवादी नआएपछि अर्थ समिति बैठक स्थगित



एमाओवादी नआएपछि अर्थ समिति बैठक स्थगित

  • सविन मिश्र/पहिलोपोस्ट
काठमाडौं : एकीकृत नेकपा माओवादी अनुपस्थित भएपछि व्यवस्थापिका संसद अन्तर्गतको अर्थ समितिको बैठक स्थगित भएको छ।

सत्तापक्षका सभासद्हरुले प्रमुख प्रतिपक्षी दल एमाओवादीलाई कम्तिमा एक दिन भए पनि पर्खनु उचित हुने भन्दै बैठक स्थगित गरेका हुन्।
एमाओवादीको बुधबार बसेको संसदीय दलको बैठकले संसदीय समिति बैठकहरुमा सहभागी नहुने निर्णय गरेको थियो।

'सभामुख र सत्तारुढ दलहरुलाई असहयोग गर्ने ३० दलीय मोर्चाको निर्णय अनुसार समिति बैठक बहिष्कार गर्ने निर्णय गरेका हौँ', एमाओवादी सभासद् अग्नि सापकोटाले भने। 

आजको बैठकमा एमाले सभासद् भरतमोहन अधिकारीले एमाओवादीलाई कम्तिमा एक दिन भएपनि पर्खनु उचित हुने धारणा राखेका थिए। सोही धारणालाई अन्य सभासद्ले समर्थन गरेपछि बैठक स्थगित भएको हो।

अधिकारीको प्रस्तावमा नेपाली कांग्रेसका सभासदहरु कमलादेवी पन्त, एमालेका केशव बडाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रमबहादुर पाण्डेले समर्थन जनाएका थिए। उनीहरु सबैले संविधानसभाको काम कारबाहीलाई लिएर संसदीय समिति बैठक बहिस्कार गर्ने माओवादी निर्णय गलत भएको भन्दै फिर्ता लिन आग्रह गरेका थिए।

बैठकमा नेकपा एमाले सभासद जनार्दन ढकालले संसदीय समितिको बैठक बहिस्कार गर्दा जनताको आवाज नै बन्द हुने भन्दै माओवादीले गत निर्णय गरेको धारणा राखेका थिए। ढकालले सभासदहरु तीन महिने पेश्की लिएर गाउँ गएको भन्दै बैठक बहिस्कारको कुनै तुक नभएको बताए।

समितिमा एमालेका प्रकाश ज्वाला सभापति छन्। समितिको अर्को बैठकको मिति भने तोकिएको छैन।

बैठकमा पुराना सवारी साधनको ब्यवस्थापनका विषयमा छलफल गर्ने कार्यसूची थियो। बैठकमा सहभागी हुन मुख्य सचिव लीलामणि पौडेल र सहरी विकास मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीलाई आमन्त्रण गरिएको थियो।

तर बैठक विषयमा प्रवेश नै नगरी सकिएको हो।

एमाओवादीको निर्णयपछि एमाओवादीका सभासद् सभापति रहेको सार्वजनिक लेखा समिति र अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबारे समेत अन्यौल भएको छ। लेखा समितिमा एमाओवादीका जनार्दन शर्मा र अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा प्रभु शाह सभापति रहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell