PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

परराष्ट्र मन्त्री भन्छन् : लाखौँ फँसाएर अवैध बाटोबाट अमेरिका जानेहरु पढेलेखेका र पैसावाल



परराष्ट्र मन्त्री भन्छन् : लाखौँ फँसाएर अवैध बाटोबाट अमेरिका जानेहरु पढेलेखेका र पैसावाल
गत भदौमा कोस्टा रिकामा पक्राउ परेका नेपाली।

काठमाडौँ : ज्यानै जोखिममा पर्ने खतरनाक र अवैध बाटोबाट अमेरिका जान खोज्ने नेपालीहरु पढेलेखेका र पैसावाल नै भएको परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डले बताएका छन्। व्यवस्थापिका–संसद्को सामाजिक न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा उनले भने, ३०/३५ लाख रुपैयाँ गरिब र अनपढले कसरी फँसाएर अमेरिका जाने सपना देख्न सक्छन्?

दुई महिनामा ५ सय नेपाली अवैध बाटोबाट

समितिमा दुई वर्षअघिको बोलिभियाली अध्यागमनको तथ्याङ्कअनुसार दुई महिनाको अवधिमा मात्रै ५०० नेपाली अवैध रुपमा अमेरिका प्रवेश गरेको तथ्याङ्क दिइएको थियो।

त्यस्तै अमेरिकाको आन्तरिक मामिला विभागका अनुसार सन् २००४ देखि सन् २०१३ सम्म एक हजार ५४१ नेपाली गैरकानुनी रुपमा अमेरिका पुगेको पाइएको छ । यस्तै हाल छ हजार ९५ जना नेपाली अमेरिकामा शरणार्थीका रुपमा रहेका छन्। 


समितिको बैठक। फोटो: रासस


'जानकारी देऊ'

समितिको आजको बैठकले ल्याटिन अमेरिका हुँदै संयुक्त राज्य अमेरिकामा हुने मानव तस्करी र त्यस क्रममा पक्राउ परी विभिन्न देशका कारागारमा रहेका नेपालीका सम्बन्धमा जानकारी दिन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ। 

समितिका सभापति सुशीलकुमार श्रेष्ठले लामो दूरी पार गरेर अमेरिकामा जोखिमपूर्ण र गम्भीर किसिमको मानव तस्करी हुने गरेकाले यसको निराकरणका लागि सरकारले पहल गरी त्यसबारे जानकारी दिनुपर्ने बताए। 

परराष्ट्र मन्त्री पाण्डेले कोस्टारिका, ब्राजिल, मेक्सिको, निकारागुवा, ग्वाटेमालो हुँदै अवैध र वैध तरिकाबाट अमेरिका पलायन हुने क्रममा नेपाली पक्राउ पर्ने गरेको बताउँदै ती नागरिकलाई समस्या परेको अवस्थामा मात्रै आफ्नो मन्त्रालयलाई जानकारी हुने स्थिति रहेकोे बताए। 

मन्त्री पाण्डेले मानव तस्करीमा अन्तरदेशीय मानव तस्करको जालोसमेत सक्रिय भएकाले वैदेशिक रोजगारका लागि के कति मानिस कहाँ गइरहेका छन् भन्ने बारेमा गृह, परराष्ट्र र श्रम मन्त्रालयबीच सफ्टवेयर बनाई एकीकृत सूचना प्रणाली विकास गर्ने कार्य भइरहेको उल्लेख गरे। “तीनवटा मन्त्रालयबीच समन्वय हुन सकेन भने समस्याको समाधान हुँदैन,” मन्त्री पाण्डेले भने, “यसमा छिमेकी मुलुकसँग पनि एकीकृत प्रयासका आधारमा समाधान गर्न हामी लाग्नेछौँ ।” 

उनले भियनामा रहेको राष्ट्रसङ्घको मानव बेचबिखनसम्बन्धी संयन्त्रको आगामी बैठकमा नेपालबाट उच्चस्तरीय प्रतिनिधि पठाई कुरा राख्ने तयारी गरिरहेको बताए। 

समितिका सदस्यहरूले मानव तस्करी रोक्न कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिए। नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मुलुकमै रोजगारी पाउने स्थिति भएमा अवैध रूपमा जोखिमपूर्ण यात्रामा मानिस फँस्ने थिएनन् भन्दै योजना आयोगलाई संवैधानिक बनाउन सरकारले प्रस्ताव ल्याएमा स्वागतयोग्य हुने बताए। उनले विदेशमा रहेका नियोगले मानव तस्करीलाई रोक्न पहल गर्नुपर्ने बताए। 

'बेवास्ता नगरौँ'

नेकपा (एमाले) का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले राजनीतिक अस्थिरता छ भन्ने बहानामा यस्ता विषयलाई बेवास्ता नगरी मन्त्रिपरिषदमा प्रवेश गराउन मन्त्री पाण्डेलाई आग्रह गरे। 

सभासद् मोफताब अहमदले श्रम विभागबाट अभिलेख सङ्कलन गरी अमेरिका र अन्य मुलुकमा भइरहेका नेपालीको मानव तस्करीका घटनाको भण्डाफोर र नियन्त्रण दुइटै गर्नुपर्ने बताए। 

मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का गीता राणा क्षेत्रीले विदेश पलायनको स्थितिले मुलुकमा युवा पुरुषको सङ्ख्यामा कमी आउने सामाजिक समस्या पैदा हुने चिन्ता प्रकट गर्दै उनीहरुको स्वदेशमै सम्मान र सदुपयोग हुने वातावरण बन्नुपर्ने बताए। 

सभासद् कमलाकुमारी घिमिरे, वसुन्धरा रोकाया, नरबहादुर थापा र शिवबहादुर खड्काले पनि मानव तस्करी रोक्न सरकारले विशेष पहल गर्नुपर्ने बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell