PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'​संस्थापन नै पार्टी फुटाउन चाहिरहेको छ'



'​संस्थापन नै पार्टी फुटाउन चाहिरहेको छ'
गंगा श्रेष्ठ

धनुषामा समानान्तर जिल्ला कमिटी गठन गरेको आरोपमा बाबुराम पक्षीय नेताहरुलाई एमाओवादी पोलिटब्यूरोले कारबाही गरेपछि एमाओवादी विवाद उत्कर्षमा पुगेको छ। पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई तीन महिनाका लागि निलम्बन गरेपछि भट्टराई पक्ष संस्थापकसँग रुष्ट छ।

कारबाही लगत्तै भट्टराईले ‘क्षतविक्षत पार्टीलाई पुनर्निर्माण गर्न खोज्ने र वैचारिक बहस चलाउनेमाथि प्रशासनिक डण्डा चलाएको’ भन्दै कारबाहीलाई ‘विनासकाले विपरित बुद्दि’ भनेका थिए। तीन महिना निलम्बित नेता गंगा श्रेष्ठले आफूहरुले पार्टी पुर्नगठन गर्न लागेको बरु संस्थापन पक्षले पार्टी फुटाउन खोजको आरोप लगाए।

कारबाहीकै दिन श्रेष्ठले फेसबुकमा लेखेका थिए- ‘भजन मन्डलीको भक्त बन्न अस्वीकार गरेबापत जंगबहादुर शैलीमा हामीमाथि गरिएको कारबाहीले पार्टीलाई एकताबद्ध र रुपान्तरण होइन, विखण्डन र विघटनतर्फ लैजान्छ।‘ के साँच्चै एमाओवादी विखण्डनकै बाटोमा लागेको हो त? पहिलोपोस्टका मनोज सत्यालले एमाओवादी नेता श्रेष्ठसँग गरेको कुराकानीः  

तपाईँहरुले पार्टीको समानान्तर कमिटी गठन गरेपछि पार्टीमा विभाजनको अवस्था आयो रे नि?
पहिलो कुरा, यो समानान्तर कमिटी होइन। पार्टी भनेको विचारहरुको एकत्व हो। फरक विचार राख्ने, आलोचनात्मक चेत भएका र फरक अस्तित्व भएकाहरुलाई पनि नेतृत्वले सँगै लिएर जान सक्नुपर्छ। जुनजुन जिल्लामा पार्टीभित्र वैचारिक बसहको गुञ्जायस हुन नदिने काम भयो, ती जिल्लामा वैचारिक बहस गर्नको निमित्त संयन्त्र बनाएको हो। यसलाई समानान्तर कमिटी बनायो भनेर आरोपित गर्नुभन्दा वैचारिक बहसलाई व्यवस्थित गर्न बनाएको संयन्त्र थियो त्यो।

कि तपाईँहरु त्यहाँ विलय हुनुपर्‍यो हैन भने एमाओवादीसँग विभाजनको विकल्प छैन भनिन्छ नि?
विलय पनि होइन, विभाजन पनि होइन। हामीले चाहेको रुपान्तरण हो। उहाँहरुले चाहँदैमा विलय हुने र हामीले चाहँदैमा विभाजन हुने भन्ने होइन। हामीले चाहेको पार्टीको रुपान्तरण तथा पूनर्गठन हो।

तपाईँहरुको निलम्बन पछि पार्टीभित्र धारणा राख्ने ठाउँ बन्द भयो नि। अबको प्रतिक्रिया के हो तपाईँहरुको?
आफूलाई संस्थापन भन्नेहरुले पार्टीलाई मिलाएर लैजान दुईतीनवटा काम गनुपर्छ। पहिलो, हामीमाथि जुन कारबाही भयो, त्यो फिर्ता हुनुपर्छ, सच्याउनुपर्छ। यो औचित्यहीन छ। यसले पार्टीलाई रुपान्तरित र पुर्नगठित गर्ने कुरालाई बल पुर्‍याउँदैन।
दोश्रो, तुरुन्त पार्टीको केन्द्रीय समिति बैठक डाकेर विशेष महाधिवेशनको मिति तोक्नुपर्छ।
तेश्रो, देशभरका विभिन्न जिल्लामा भैरहेका एकपक्षीय राजनैतिक वैचारिक प्रशिक्षण बन्द गर्नुपर्छ। दुबै पक्षको विचार सम्प्रेषण हुने गरेर प्रतिनिधि लैजानुपर्‍यो नि।
चौथो, हामीले विराटनगरमा र काठमाडौँमा गरी फरक मतको रुपमा १४ बुदेँ केन्द्रीय कार्यलयमा दर्ता गराएका छौँ। पार्टीको सेल कमिटीसम्म छलफल तथा बहस गर्ने वातावरण बनाइनुपर्छ। नत्र पार्टी एकताबद्ध तथा रुपान्तरित गरेर लैजान सकिन्न।

हल्ला के छ भने बाबुराम पक्षले संविधानसभाबाट संविधान जारी गरेको जस लिएर भएपनि पार्टी फुटाउँछ। यसमा कतिको सत्यता छ?
एकदमै गलत कुरा हो। कुनै नेताको सनकमा एउटा राजनीतिक शक्ति फुटाउने वा जुटाउने हुन त सक्ला तर समाजविकास क्रमलाई हेर्ने हो भने जुन पार्टीले समाजमा रहेको वर्गीय अन्तरविरोध र वर्गसंघर्षलाई ठिक ढंगले नेतृत्व गर्न सामर्थ्य राख्छ त्यो नै देश, समाज र युगको अग्रणी पार्टी हुन्छ। त्यस्तो पार्टोको नेतृत्व गर्ने व्यक्ति नै सबैको लागि नेता हुन्छ।
नेपाल अहिले सापेक्षित रुपमा ध्वंसको चरण पार गरेर निमार्णको चरणमा प्रवेश गरेको छ। हिजो ध्वंसको चरणमा निर्माण गरिएका संगठनात्मक संरचना, सञ्चालन विधि, राजनीतिक कार्यदिशा, कार्यनीति नेतृत्वको प्रणाली तथा नेतृत्व चेतनाजस्ता कुरा आजको निमार्णको युगमा अपुग हुन्छन्।
त्यसैले निमार्णको युगलाई नेतृत्व गर्न सक्ने राजनीतिक पार्टी, कार्यदिशा, संगठनात्मक सिद्धान्त, नेतृत्व प्रणाली र चेतनाको विकास अपरिहार्य छ। हामीले भनेको नयाँ शक्ति यही हो। यो कुरालाई पार्टी फुटाउन लागेको भनेर आरोपित गर्नु यथास्थितिवादी मानसिकताको दरिद्र अभिव्यक्ति मात्र हो।

पहिला पनि नयाँ पार्टी बनाउन भनेर तपाईँले नाम टिपेको भनिएको थियो। अहिले पनि उस्तै कुरा आइरहेको छ। तपाईँहरुलाई राजनीतिबाट पाखा लगाउन यसो भनिएको हो त?
कसैले पाखा लगाउँदैमा लाग्ने कुरा होइन। जहाँसम्म सार्वजनिक भएको हस्तलिखित कागजातको कुरा छ, सम्बन्धित निकायमा त्यो मेरो नै भएको मैले स्वीकार गरिसकेँ। हरेक परिणामका पछाडि कारणहरु हुन्छन्। मैले गरेको टिपोटका पछाडि पनि कारणहरु थिए। मैले नचाहँदा नचाहँदै मलाई उम्मेद्वार बनाइयो, पोलिटब्यूरोमा निर्वाचित गरियो। तर पोलिटब्यूरोमा निर्वाचित गरेपछि कार्यविभाजन गर्ने बेलामा अपमानजनक ढंगले बाइपास गरियो। यो सब उहाँहरुको भित्री षड्यन्त्र रहेछ। आफै जिताउने अनि हामीलाई कार्टुन बनाउने। उहाँहरुको रणनीति बुझेपछि मैले पार्टीमा नयाँ ढंगले कार्यविभाजन गरेर जाँदा के हुन्छ भनेर कार्यविभाजको नयाँ खाका अध्यक्ष कमरेडको हातमा दिनुअघि नै अरुका हातमा पुगे। त्यो त्यति ठूलो कुरा होइन।

उसोभए एमाओवादी संस्थापन संविधान निमार्णमा जिम्मेवार नभएकै हो त?
यतिबेला एमाओवादीको अगाडि दुई ऐतिहासिक कार्यभार छन्। एउटा, आन्तरिक रुपमा पार्टीको रुपान्तरण र पुर्नगठनको कार्यभार र अर्को, संविधानसभाबाट अधिकत सहमतिको संविधान निर्माण। यी दुईवटा ऐतिहासिक कार्यभारबाट कोही पनि विचलित हुनु हुँदैन। पार्टीमा हामीले भनेको पनि यत्ति न हो। तर आफूलाई संस्थापन भन्ने कमरेडहरु यी ऐतिहासिक कार्यभारबाट विचलित हुन खोजेको हामीलाई शंका छ।
संविधानसभाबाट संविधान निर्माण गर्ने बेला पार्टीमा मात्र होइन, अन्य पार्टीसँग पनि छलफल गर्ने, गोलबन्द गर्ने र एकताबद्ध पार्ने काम हुन्छन्। यस्तोबेलामा आफ्नै पार्टीभित्र अनुशासनको डन्डा चलाएर के सन्देश दिन खोज्नु भएको हो? पार्टी एकताबद्ध बनाउन नसक्ने अनि बाहिर हामी संविधान बनाउँछौँ भन्दा हाँस्यास्पद नाटक हुन्छ। नौटंकी हुन्छ। हामीमाथि गरिएको कारबाहीले एकातिर संविधान निर्माणकव कार्यभारमा अवरोध पुर्‍याएको छ भने अर्कोतिर पार्टी  पुर्नगठनको कार्यभारलाई।
फरक विचार राख्ने, आलोचनात्मक चेत भएकाहरुलाई त प्रोत्साहन गनुपर्ने तर उहाँहरुले त बाधक देख्नुभयो। बाधक देखेपछि डण्डा चलाउनुपर्‍यो, कारबाही गर्नुपर्‍यो। यसले के देखाउँछ भने उहाँहरु पार्टीलाई पुर्नगठन गर्न चाहिराख्नुभएको छ।

उसोभए पार्टी फुटाउन कसले खोजेको त?
उहाँहरु भन्दै हुनुहुन्छ कि बाबुराम र उनी वरपरका मान्छेले पार्टी फुटाउन खोजे। तर म त यसमा विभाजन हैन कि पार्टी पुर्नगठन गर्न खोजेको देख्छु। बरु पार्टी फुटाउन त उहाँहरुले चाहनुभयो। एउटा नेपाली उखान छ- छट्टु स्यालले आकाशमा हेरेर चिल आयो भन्छ रे। अनि खोरबाट कुखुरा चोरेर लैजान्छ रे। उहाँहरुको व्यवहारबाट पनि यही नै देखिन्छ। पार्टी फुट्छ/ फुट्दैन अहिलो बहसको विषय नै होइन। पार्टी फुटाउन खोजेको भन्ने कुरामा सत्यता छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell