PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकामा तेक्वान्दोबाट देश चिनाउँदै



अमेरिकामा तेक्वान्दोबाट देश चिनाउँदै

पहिलोपोस्ट-
फिन्डले (ओहायो) : त्यसो त यो लगभग साढे एक दशक अघि नेपालबाट सुरु गरिएको अन्तर्राष्ट्रिय प्रतियोगिताको दशौँ संस्करण थियो। तर पनि गत जुलाईको अन्तिम साता लण्डनमा भएको दशौँ अन्तर्राष्ट्रिय खुल्ला मैत्री तेक्वान्दो प्रतियोगिता (आइओएफटिसी)लाई लिएर यसको सूत्रपात र निरन्तरतामा गहन भूमिका निर्वाह गर्दै आएका तेक्वान्दो ग्राण्ड मास्टर दिवाकर महर्जन निकै हर्षित छन्।

उनको खुसीको कारण प्रतियोगितामा यस पटक नेपालीहरूको सहभागितालाई लिएर हो। नेपाल बाहिर आयोजना भएको यस प्रतियोगितामा पहिलो पटक व्यापक नेपाली सहभागिता रहेको थियो। कहाँसम्म भने अमेरिकाबाट सहभागी खेलाडीमा पनि अधिकांश नेपाली नै थिए। यस बाहेक विशेषगरी यसअघि अमेरिकामा भएका प्रतियोगिताहरूमा भिसा नपाएका कारण धेरै नेपाली खेलाडी सहभागी हुन पाएका थिएनन्। तर लण्डनमा भने त्यो समस्या रहेन र नेपालीहरूको पर्याप्त उपस्थिति रह्यो।  

सन् १९९० को दशकको उत्तरार्द्धमा अमेरिका आएर यहीँ बसोबास गर्ने मनसाय बनाएपछि पनि तेक्वान्दो खेलाडी दिवाकर महर्जनको खेल प्रतिको नशामा कुनै कमी आएको थिएन। तेक्वान्दोमै लठ्ठिएर अमेरिका आइपुगेका उनले यहाँ पनि आफूलाई यही कोरियाली मार्शल आर्ट्समा समर्पित गर्ने निर्णय गरे।

सुरुमा ओरेगन राज्यको पोर्टल्यान्डस्थित तेक्वान्दो स्कुलमा प्रशिक्षकका रुपमा काम सुरु गरेका महर्जनले त्यसपछि आफै स्कुल सञ्चालन गर्न थाले। तर तेक्वान्दोलाई आफ्नो जीवनयापनमा मात्र सीमित राख्ने उनको सोच थिएन। त्यसैले उनले नेपालमा यस खेलको विकासका साथै नेपाललाई विश्वका अन्य मुलुकमा चिनाउने संकल्प सहित एउटा अन्तर्राष्ट्रिय स्तरको खुल्ला मैत्री तेक्वान्दोको परिकल्पना गरेका थिए।

गत जुलाईको अन्तिम साता लण्डनमा भएको प्रतियोगिता वास्तवमा उनको त्यही परिकल्पनाले लिएको मूर्त रुपको दशौँ संस्करण थियो।
प्रतियोगिताको माध्यमबाटै आफ्नो देशको संस्कृतिलाई चिनाउने उद्देस्य अनुरुप उनले प्रतियोगिताको अन्तिम दिन सांकृतिक कार्यक्रमको आयोजना गर्ने गर्छन्। जुन प्रतियोगिताकै अंगका रुपमा रहन्छ।

'यसको माध्यमबाट नेपाली संस्कृतिलाई सहभागी अन्य मुलुकका खेलाडी तथा खेल अधिकारीहरू समक्ष पुर्‍याउन सजिलो हुन्छ,' महर्जन भन्छन्।

नेपाली तेक्वान्दो समेतलाई फाइदा हुने गरी केही काम गर्ने सोच त अमेरिका आएदेखि नै भएको तर अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने विचार सन् १९९९ मा आएको बताउँछन् उनी।

'त्यसको एक वर्षपछि काठमाडौंमा प्रतियोगिताको सुरुवात भयो।' भन्छन् उनी। त्यसपछि भने महर्जनलाई पछाडि फर्केर हेर्नु परेको छैन।

'आइओएफटिसीको सोच मात्र मेरो हो। यसको आजसम्मको यात्रा भने सबैको सहयोगका कारण सम्भव भएको हो,' उनले भने।

हुुन पनि उनी स्वयं आइओएफटिसीका प्रतियोगिता निर्देशकका रुपमा मात्र रहेका छन्। बाकी पदाधिकारी स्थानीय रैथाने अमेरिकीहरू छन्।

सन् अहिलेसम्म नेपालमा तीन पटक प्रतियोगिताको आयोजना भइसकेको छ। त्यसबाहेक हङकङ, भारत र अमेरिकामा आयोजना भएको प्रतियोगिता पहिलो पटक यसै वर्ष युरोप भित्रिएको हो।

आगामी प्रतियोगिताका २०१६मा अमेरिकाको पोर्टल्यान्डमा हुने निश्चित भइ सकेको छ। तर त्यसपछिका प्रतियोगिता कोलम्बिया र अष्ट्रेलियाका पदाधिकारीले इच्छा देखाएको उनी बताउँछन्।

लण्डनमा भएको प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा उनले एनआरएनको यस प्रतियोगितामा संलग्नतालाई लिएका छन्।
'प्रतियोगिताले पहिलो पटक एनआरएनको सहयोग पाएको छ। यसले विश्वभर रहेका नेपालीबाट प्रतियोगितालाई पहिचान मिलेको रुपमा मैले लिएको छु।

उनले नेपालमा पनि मैत्री तेक्वान्दोको नाममा डोजाङ सञ्चालन गर्दै आएका छन्। जसबाट यस पटक पनि प्रतियोगितामा खेलाडी सहभागिता भएको थियो।

त्यसो त जुलाईमा भएको प्रतियोगितामा पोर्टल्यान्डबाट सगेन महर्जन, अस्मिता गुरुङ, सुजेन्द्र वज्राचार्य, डेनिस कारंजित टि्रस्टियान, निकोला, एलेक्स, लोला, मेथ्यू र कोलम्यान सहभागी भएका थिए जसलाई नेपाली ओलम्पियन सिता राइले प्रशिक्षित गरेकी थिइन्। यस बाहेक अमेरिकाकै टोलीबाट प्रतियोगितामा सहभागी अन्य खेलाडीमा अनमोल गोर्खाली, गणेश थापा, र दुर्गा गुरुङ पनि थिए। जसमा अनमोलले पुम्से र काता दुबैमा स्वर्ण पदक जितेका थिए।

त्यस्तै सगेन महर्जन, टि्रस्टियान र निकोला  स्वर्ण तथा दुर्गा गुरुङ, सुजेन्द्र वज्राचार्य, एलेक्स तथा डेनिस कारंजीतले रजत एवं अस्मिता गुरुङ, लोला, मेथ्यु, कोलम्यान  र गणेश थापाले कास्य पदक जितेका थिए।

१३ राष्ट्रका लगभग ३ सय ५० जना खेलाडी तथा पदाधिकारीको सहभागिता रहेको प्रतियोगिताको उपाधि भने युकेको नेपाली टोलीले जितेको थियो भने दोस्रो स्थान अमेरिकी टोलीले भेटाएको थियो।

आफ्नो सोचले अन्य तेक्वान्दो प्रशिक्षक, पदाधिकारी तथा अन्यको समर्थन र सहयोगले आफ्नो सोचले मूर्त रुपमा मात्र लिएको नभई परिपक्व समेत भएकोमा उनी निकै खुसी छन्।

दुई सन्तानका पिता महर्जन आइओएफटिसीलाई पनि आफ्नो सन्तान सरह नै मान्छन्।

आइओएफटिसीलाई भविश्यमा कहाँ पुगेको देख्न चाहनुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ रेडिमेड जस्तै थियो– 'मैले भनी हालेँ नि, मेरो लागि यो मेरो आफ्नो सन्तान नै हो। त्यसैले एउटा अभिभावकले आफ्नो सन्तानलाई जहाँ पुगेको हेर्न चाहन्छ म पनि यसलाई त्यही रुपमा हेर्न चाहन्छु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell