PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

​इबोलाबाट जोगाउन सरकारको सक्रियता



​इबोलाबाट जोगाउन सरकारको सक्रियता
इबोला भाइरसको खतरा। फोटो : आरटी डट कम

काठमाडौं : सरकारले इबोला भाइरसको विश्वव्यापी संक्रमणबाट नेपाललाई सुरक्षित राख्न सम्बद्ध निकायलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिएको छ।

इबोलाबाट नेपालमा पर्न सक्ने प्रभाव र नियन्त्रणको पूर्व तयारी बारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शान्तराज सुवेदीको संयोजकत्वमा अर्थ, स्वास्थ्य तथा जनसंख्या, गृह, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय र स्वास्थ्य सेवा विभागका सम्बद्ध उच्च पदाधिकारीको बैठकले मतहतका निकायलाई सक्रियतापूर्वक लाग्न निर्देशन दिएको हो।
 
विश्व स्वास्थ्य संगठनले इबोला भाइरस रोगको विश्वव्यापी संक्रमणको अवस्थालाई ध्यानमा राखी संकटकाल घोषणा गरेको छ।

बैठकले इबोला भाइरसको विश्वव्यापी संक्रमणको सम्बन्धमा पूर्व सावधानी एवं आवश्यक तयारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको समन्वयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कम्तीमा एक जना चिकित्सक सहितको स्वास्थ्य परीक्षण डेस्क तत्काल स्थापना गर्ने निर्णय गरेको छ।

गृह मन्त्रालयले नाइजेरिया, लाइब्रेरिया, सिरियालिओन र गिनी लगायत यस रोगको संक्रमण देखिएका मुलुकहरु हुँदै आउने यात्रुलाई त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालयमार्फत विशेष निगरानीमा राखी इबोला भाइरसका शंकास्पद यात्रुलाई स्वास्थ्य परीक्षण डेस्कबाट परीक्षण पश्चात मात्र आगमन अनुमति दिने गरी व्यवस्था मिलाउने भएको छ। यस्तै इबोला भाइरसका शंकास्पद बिरामीका लागि वीर अस्पताल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल, टेकुमा स्वास्थ्य परीक्षण लगायतका उपचार गर्ने गरी आवश्यक व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मिलाउने निर्णय बैठकले गरेको छ।

बैठकले गृह मन्त्रालयलाई कोदारी-तातोपानी, मेची-काकडभित्ता, बीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर नाकाको बाटो भई नेपाल प्रवेश गर्ने इबोला भाइरसका शंकास्पद यात्रुलाई स्थानीय जनस्वास्थ्य कार्यालयहरु तथा अस्पतालमार्फत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाउने र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई इबोला भाइरस नियन्त्रण सम्बन्धमा सचेतना अभिवृद्धि गर्न विशेष प्राथमिकतासाथ जनचेतनामूलक सन्देश तथा कार्यक्रम प्रचार प्रसार गर्न समेत निर्देशन दिने निर्णय समेत गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्रिभुवन विमानस्थल लगायतका अध्यागमन नाकामा स्थायी रुपमा स्वास्थ्य परीक्षण डेस्क स्थापना गर्ने प्रक्रिया तत्काल अगाडी बढाउने समेत निर्णय भएको छ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा.तिर्थराज बुर्लाकोटी,  स्वास्थ्य सेवा विभागका डा. नितेन्द्र राज उप्रेती र डा. बाबुराम मरासिनी, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव घनश्याम उपाध्याय एवं गृह र अर्थ मन्त्रालयका पदाधिकारीहरुको उपस्थिति थियो । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell