PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

६८ लाख भ्रष्टाचार गरेको आरोपमा निर्देशक सहित ११ जना विरुद्ध मुद्दा दायर



६८ लाख भ्रष्टाचार गरेको आरोपमा निर्देशक सहित ११ जना विरुद्ध मुद्दा दायर

पहिलोपोस्ट्- 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभाग टेकु अन्तर्गत पुनर्जागरण महाशाखाका निर्देशकसहित एघार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरु विरुद्ध कुल ६८ लाख ७८ हजार बराबर भ्रष्टाचार गरेको आरोप आयोगले लगाएको छ।

अख्तियारका अनुसार आर्थिक बर्ष ०६८।०६९ तथा ०६९।०७० मा कार्यक्रम गर्न भनि पेश्की लएर फर्छ्यौटका लागि पेश गरिएका बिल तथा भरपाइहरु नक्कली भएको देखिएको छ। अनुसन्धानका क्रममा कार्यक्रम गर्न हल नै नभएको होटेलमा हल भाडा लिएको बिल पेश गरेको, सामान नै खरिद नगरी होटेल तथा स्टेसनरी पसलहरूको बिल पेश गरेको भेटिएको अख्तियारको आरोप पत्रमा उल्लेख छ।

त्यस्तै भ्रमण आदेश बनाइ कार्यालयमै बसेर हवाई जहाजको नक्कली टिकट पेश गरी दैनिक भ्रमण भत्ता लिएको, कार्यक्रममा जाँदाको भत्ता पनि वास्तविक भाडा भन्दा दोब्बर मूल्य सम्मका ई-टिकट पेश गरेको साथै एउटै उडान नम्बरको टिकटमा नाम परिवर्तन गरी २-३ जना सम्मले उक्त ई-टिकट पेश गरेको, एकै दिनको कार्यक्रममा १०/१० पटक एकै होटलबाट सहभागीहरुको लागि खाजा तथा खाना सेट खरिद गरेको देखाइ नक्कली बील पेश गरेर रकम हिनामिना गरेको अख्तियारले जनाएको छ।

अख्तियारले स्वास्थ्य जस्तो संवेदनशिल बिषयमा बदनियतपूर्ण तवरले सरकारी सम्पत्ति हानि-नोक्सानी पुर्‍याई व्यक्तिगत लाभ लिएर भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोपमा पूर्व निर्देशक डा. बालकृष्ण सुवेदी, निर्देशक डा. आनन्द कुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य प्रशासक मदन कुमार श्रेष्ठ, वरिष्ठ जनस्वास्थ्य अधिकृत रत्‍नलाल श्रेष्ठ विरुद्ध आयोगले मुद्दा दायर गरेको हो।

त्यस्तै भ्रष्टाचार अभियोगमा शाखा अधिकृतद्वय डोलराज शर्मा र रुपनारायण खतिवडा, लेखा अधिकृत यदुराज शर्मा नेपाल,फर्मासिस्ट भरतमणी मरहट्ठा, जनस्वास्थ्य निरीक्षक रामजी घिमिरे, सिनियर अहेब राम शरण अधिकारी र खरीदार कविराज सुवेदी विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell