PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रम कोइरालाद्वारा एमाओवादी अध्यक्ष प्रचण्ड सम्मानित



प्रम कोइरालाद्वारा एमाओवादी अध्यक्ष प्रचण्ड सम्मानित

चितवन : सरकार र विपक्षी दलबीच संवादहीनता बढिरहेको चर्चाकै बीच यहाँ भने फरक दृष्य देखियो। प्रधानमन्त्री सुशील कोइरालाले प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई सम्मान गरे।

सन्दर्भ थियो चितवनको शिवनगरस्थित नारायणी विद्या मन्दिर उच्च माध्यामिक विद्यालको स्वर्ण महोत्सव समारोह। महोत्सवको उद्घाटन प्रधानमन्त्री कोइराला र अध्यक्ष दाहालले संयुक्तरुपमा गरेका थिए।

प्रधानमन्त्री कोइरालाले आउने संविधानमा महिला, आदिवासी, जनजाति, दलित, मधेसी, सीमान्तकृत, पिछडिएको वर्ग, थारु, मुस्लिम लगायत समस्त नेपालीको पहिचान र भाषा, धर्म, संस्कृति, परम्पराको संरक्षण गरिने उल्लेख गरे। प्रचण्ड यिनै वर्गका पहिचानको विषयमा विवादित पनि छन्।

कोइरालाले मुलुकले शान्ति, स्थायित्व, लोकतान्त्रिक संविधान र विकास चाहेको पनि बताए।

मुलुकमा भएको ऐतिहासिक परिवर्तनबाट ऐतिहासिक उपलब्धिहरु हासिल भएको बताउँदै कोइरालाले भने, 'नेपाल अहिले नेपाली जनताले ७ दशक अगाडिदेखि गरेको संघर्षहरुबाट प्राप्त संघीयता, गणतन्त्र र समावेशिता सहितको लोकतन्त्रलाई संविधानसभाबाट बन्ने  संविधानमा लिपिबद्ध गरेर संस्थागत गर्ने ऐतिहासिक चरणमा रहेको छ।'

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पढेको र पढाएको विद्यालयको स्वर्ण महोत्सवमा प्रधानमन्त्री कोइराला उपस्थित हुनु गौरवको विषय भएको बताए।
 
उनले 'सत्ता पक्ष र प्रतिपक्षका बीचमा बार्ता भएन' भन्ने चिन्ता बढिरहेको बेलामा प्रधानमन्त्री र प्रतिपक्षीदलका नेता एकै मञ्चमा उपस्थित हुनुको विशेष अर्थ रहेको सुनाए।

दाहालले प्रधानमन्त्री कोइरालासँग आफू संवादमा रहेको  र वार्ताको वातावरण सकारात्मक बन्दै गएको बताए।

प्रचण्ड लगायत विद्यालयका संस्थापकहरुलाई कोइरालाले सम्मानसमेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell