- कञ्चन अधिकारी -
बिजमान्डु र पहिलोपोस्टका सबै सहकर्मीहरु फोटो पत्रकार अंगद ढकाललाई बधाई दिइरहेका थियौँ। 'भोलि पनि यस्तै एक्स्क्लुसिभ खिच्नुपर्छ है अंगद - लोकमानसिंह कार्कीको छोरीको बिहे,' पहिलोपोस्टका सम्पादक उमेश श्रेष्ठ भन्दै थिए।
तर अंगदले बिहीबार साथीको बिहे भएकोले आफू बिदा बस्ने बताएपछि उनी आफै कोही साथी लिएर फोटो खिच्न जान तयार भए। उनले अंगदपछि मलाई अफर गरेका थिए।
सुरुमा त बेहुली कता अन्माइन्छ भन्ने नै यकिन खबर आएको थिएन। बिहीबार ठिक नौ बजे बेहुला जन्ती लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोग भित्र रहेको प्रमुख आयुक्त छिर्छ भन्ने सूचना हाम्रो विश्वसनीय स्रोतले दिइसक्दा पनि एउटा अर्को स्रोत बानेश्वर हाइटस्थित निवासबाट हुने दावी गरिरहेको थियो।
हामीले अख्तियारै जाने निर्णय अघिल्लो दिनै गर्यौँ। बिहीबार बिहान टेली र नर्मल लेन्स बोकेर आठ बजे दरबारमार्गस्थित कार्यालय पुगेँ। तर कार्यालय बन्द थियो। मैले सम्पादकलाई फोन गरेँ। उनले टेम्पोमा आउँदै गरेको बताएपछि म अफिसमुनि रुङ्गिरहेँ।
बिहानैदेखि आकाश धुम्मिएको थियो। सवा आठ बजेपछि पानी पर्न थाल्यो। सम्पादक पनि साढे आठ बजे अफिस आइपुगे। त्यसपछि हामी गाडीमा टंगालतिर हानियौँ।
बाटोमा पुलिसहरुको चहलपहल बाक्लिसकेको थियो। ट्राफिकहरु गाडी रोक्न र जान आग्रह गर्दै सिठ्ठी फुकिरहेका थिए। कोही अड्किएर आयोगतिर आँखा लाउँथे भने उनीहरुले हप्की खानुपर्थ्यो।
हामीले अड्कल गरिहाल्यौँ अब चाँडै नै बेहुला जन्ती लिएर आयोग परिसर छिर्दैछन्। हामी भाटभटेनीमा गाडी राखेर आयोग अगाडि आयौँ। त्यहाँ बाहिरै बसेर फोटो खिच्न पाइएला भन्ने हाम्रो मनमा एक रत्ती पनि भएन। त्यसैले आयोग अगाडि रहेको एउटा रेष्टुरेन्टमा कफी खाने बहानामा छिर्यौँ।
कफी खाँदै हामी कालो सिसाभित्रबाट आयोग गेटमा र भित्र भएका गतिविधि खिचिरहेका थियौँ। सम्पादकले सतर्क गराए, 'अहिले धेरै नखिच्नू, पुलिसले पछि खिच्नुपर्ने बेलाको फोटो खिच्दा लफडा गर्ला।'
म हल्का उत्साहित र हल्का नर्भस थिएँ। हामीले जेजति खिच्ने हो, यही रेष्टुरेन्टबाट खिच्ने हो भनेर म ढुक्क थिएँ।
यत्तिकैमा १० बज्न केही मिनेट बाँकी छँदा बग्घी चढेर बेहुला टंगाल चोकबाट आयोगतिर आए। उत्तिखेरै सम्पादकले तल गएर फोटो खिच्न निर्देशन दिए। उनी आफै टेली लेन्सबाट सट खिच्दै थिए। मैले टेली लेन्स झिकेर नर्मल लेन्स बोकेँ र हत्त न पत्त कुदेँ।
आयोग गेटमा पुगेपछि मैले भटाभट फोटो खिच्न थालेँ। मैले फोटो अगाडिबाट खिच्न सकिनँ। मलाई थकथकी लागिरहेको थियो। पहिला नै झरेर बाटोमा कुरेर बसेको भए फोटो खिच्न पाउनेरहेछु भन्ने लागिरह्यो।
मैले बग्घी पछाडिबाटै भए पनि पाँचवटा स्न्याप खिचेँ। यति खिचुन्जेल कसैले रोकेनन्। अनि मलाई भित्रै जाउँ कि भन्ने आँट आयो।
'एउटा मात्रै भने पनि बेहुलाको क्लोजअप खिच्छु,' म अख्तियार भित्र दगुरेँ ।
दगुर्दै गर्दा मलाई भित्रभित्रै डर थियो, 'को हो, किन आएको भनेर कसैले कठालो समातेर बाहिर पो निकाल्ने हो कि।' बेहुला चढेको बग्घी नजिकै पुगेर क्यामेरा तेर्स्याउँदा उनले मुस्कानसहितको पोज पो दिए। म झन् हौसिएँ र सोचेँ, 'अब मैले बेहुलीको पनि फोटो खिच्नु पर्छ।'
जन्ती अघि बढ्दै थियो। यत्तिकैमा महिलाको हुल आएर ब्यान्ड बाजा खै भन्दै कराए। मैले यसैबीच फेरि फोटो धमाधम खिँचिरहेँ ।
मेरो हात काँपेको थियो। मलाई एउटै डर थियो- कतिखेर को आएर बाहिर पठाउँछ । मैले करिब १० मिनेट जति फोटो खिचिसकेको थिएँ।
जन्तीहरु नाच्दै थिए। म फोटोसहित भिडियो पनि खिच्दै थिएँ । एक हातमा मोबाइल अर्को हातमा डिएसएलआर क्यामरा।
बेहुलाको बग्घी र नाच्दै गएका जन्ती लोकमान श्रीमान/श्रीमती नजिकै पुगिसकेको थियो। मैले लोकमान दम्पतीको फोटो खिचेँ। यत्तिकैमा एउटा मानिसले मलाई बढी नै नोटिस गरिरहेको महसुस गरेँ।
उसैले अर्को एकजनासँग 'त्यो केटा हाम्रो पट्टीको हो?' भनेर खासखुस गरेको सुनेँ। मैले थाहा पाइसकेको थिएँ कि उनीहरु मेरोबारे कुरा गर्दैछन्। अब मलाई फसाद पर्यो - निस्कूँ कि अझै केही फोटो खिचौँ।
मैले फोटो खिच्न बन्द के गरेको थिएँ, उही व्यक्ति नजिकै आएर सोधे, 'तपाईँ कतापट्टीबाट आउनु भएको?'
'कतैबाट पनि हैन,' मैले भनेँ।
एक छिन यता आउनुस्,' उसले आयोगको गेटतिर लम्कँदै बोलायो।
'हस' क्यामरा हातमा झुन्ड्याएर उसको पछि लागेँ।
अलि अगाडि पुगेपछि सोध्यो, 'तपाईँ कहाँबाट? कुन मिडियाबाट? परिचय पत्र देखाउनुस्।'
उसको प्रश्न सोध्ने शैली हेर्दा मैले म पत्रकार हुँ भन्दा अलि कडा रुपमा नै प्रस्तुत हुन्छ भन्ने अड्कल काटिसकेको थिएँ। त्यसैले मैले मेरो वास्तविक परिचय भन्दा पनि मेरो वैकल्पिक पेशाको परिचय दिने विचार गरेँ र भनेँ, 'मिडियाबाट हैन। मेरो परिचयपत्रको रुपमा लाइसेन्स मात्रै छ।'
रातो आँखा बनाएर उसले भन्यो, 'कार्ड दिनुस्।'
अनि उसले नजिकैको सुरक्षाकर्मीलाई मेरो नामसहित परिचयपत्रको डिटेल टिपाए।
उसले फेरि सोध्यो, 'तपाइँ कुन मिडियाबाट? कहाँ काम गर्नुहुन्छ?'
फेरि उही उत्तर दिएँ, 'म कुनै मिडियामा काम गर्दिनँ। म कलेजमा पत्रकारिता पढाउँछु।'
त्यसपछि उसले मेरो कलेजबारे सोध्न थाल्यो। 'कहाँ पढाउने ? कतिलाई पढाउने ? कुन विषय पढाउने ? प्रिन्सिपल को हो ? '
मैले पनि आफूले पढाउने कलेजको डिटेलसहित सत्य कुरा भन्दिएँ ।
'कलेजको प्रिन्सिपलको नम्बर दिनुस्,' ऊ कड्कियो।
फोनमा प्रिन्सिपलको नाम लेखेर फोन नम्बर खोज्दै थिएँ। उसलाई यसले एसएमएस पठाउन लाग्यो भन्ने शंका लागेछ। हत्तनपत्त मेरो हातबाट मोबाइल तान्यो र भन्यो, 'एसएमएस देखाउनुस् के लेख्दै हुनुहुन्छ?'
भर्खरै नेपाल वायुसेवा निगमका प्रवक्ताले मलाई पठाएको एसएमएस मेरो मोबाइलको शीर्षस्थानमा थियो। 'भर्खरै के लेख्दै हुनुन्थ्यो ?' न्यु म्यासेजमा क्लिक गर्दै भन्यो ।
त्यहाँ केही नदेखिएपछि उसले अरु म्यासेज हेर्दै थियो। मैले भनेँ, 'तपाइँले अरु म्यासेज हेर्न पाउनुहुन्न। आइ ह्याभ अ राइट टु प्राइभेसी।' त्यसपछि उसले मेरो फोन दियो।
मैले प्रिन्सिपलको नम्बर भन्दिएँ।
उसले प्रिन्सिपललाई फोन गर्यो र मेरोबारे सोध्यो।
कलेज प्रिन्सिपलले 'हो, उहाँ हाम्रो स्टाफ हो। मास कम्युनिकेसन एन्ड जर्नलिजम पढाउनुहुन्छ' भन्दिएपछि उसले फोन राख्यो। र, मेरो भनाईमा विश्वास गर्यो।
फेरि उसले मलाई लोभ्याउनको लागि भन्यो, 'तपाइँ मिडियाबाट हो भने भन्नुस्, बरु हामी अरु ठाउँमा पनि तपाईँलाई फोटो खिच्न एक्सेस दिन्छौँ। आखिर यो पब्लिक फङ्कसन नै त हो।'
तर, मैले अडान छाडिनँ, 'हैन म कलेज पढाउँछु।'
'उसो भए किन फोटो खिचेको त?' उसले अर्को प्रश्न तेर्स्यायो।
'अन दि वे' भएर खिचेको। लोकमान सिंह कार्कीकी छोरीको फोटो जुनसुकै बेला काम लाग्न सक्छ,' जवाफ दिएँ, 'तपाइँलाई केही आपत्ति छ भने म कार्ड फर्म्याट गरिदिन्छु।'
मलाई थाहा थियो फर्म्याट हानेपछि फेरि रिकभरी गर्न सकिन्छ। ऊ केही बोलेन। मलाई त्यहाँबाट कतिखेर बाहिर निस्कुँ भइसकेको थियो।
उसले यो विवाह नेपालको नमूना बिहे हो भन्दै फेरि पनि भन्यो, 'मिडियाको हो भने भन्नुस् फोटो खिच्न दिन्छु।' उसले बारम्बार फोटो खिच्न दिन्छु भन्दै मेरो कुरा धुत्न मलाई फकाइरह्यो।
मैले पनि भनिरहेँ, 'हैन।'
'तपाइँले कलेज प्रिन्सिपललाई फोन गरेर भेरिफाइ गर्नुभएको हैन, म को हुँ भनेर। अझै विश्वास लागेन ?' मैले उसलाई भनेँ।
ऊ केही बोलेन।
उसले भन्यो, 'यो सार्वजनिक बिहे हो। तर तपाइँलाई इन्भिटेसन थिएन। तर पनि यहाँ आउनु भो भनेर सोधखोज गरेका हौँ। यसलाई अन्यथा नलिनुहोला।'
'हस्'
करिब ३० मिनेट उसले केरकार गरिरह्यो।
त्यसपछि उता हिँड्नुस् भन्दै जग्गे भएको ठाउँतिर मलाई लग्यो। म उसकै इसारामा लुरुलुरु हिँडे । अलि अघि पुगेपछि 'तपाइँ यही बस्नुस्, म एकछिनमा आउँछु' भनेर ऊ जग्गेतिर लाग्यो। अब मलाई अलि डर लाग्यो। मैले थाहा नपाउने गरी पो मेरोबारे अनुसन्धान गर्न लागेको पो हो कि। पत्रकार हो भन्ने थाहा पाउँछ कि भन्ने लाग्यो ।
म ऊ कहिले आउला र बाहिर निस्कुँला भनेर कुरिरहेको थिएँ।
मैले क्यामरामा दुईवटा मेमोरी कार्ड हालेर गएको थिएँ। ऊ जग्गेतिर गएको बेला एउटा झिकेको भए हुने थियो। तर फर्म्याट हाने पनि रिकभर हुन्छ भन्ने ढुक्क भएर म चुप लागेर बसिरहेँ।
यत्तिकैमा बाहिरबाट सम्पादकको एसएमएस आयो- जाने? धेरै कुरा बताइहाल्ने स्थिति थिएन। त्यसैले छोटो जवाफ फर्काएँ- लफडा।
बाहिर म फँसेको खबर भइसकेपछि सम्पादकसहितका साथीले गाडी भाटभटेनीबाट निकाले। कडा केरकार भए अघि टेली लेन्सबाट खिचेका फोटो पनि जफत गर्न सक्ने संभावना हुन्थ्यो। गाडी पार्किङबाट झिकेर अख्तियार परिसर वरपर फन्का लगाइरह्यो।
पानी दर्किरहेको थियो। हल्का जाडो थियो। करिब १५ मिनेट उभिएपछि ऊ आयो।
उसले फेरि भन्यो, 'तपाइँ कुन मिडियाबाट? मिडियाबाट भए भन्नुस् है।'
'हैन,' मैले फेरि पनि भनेँ।
'त्यसो भए फोटो चाहिँ किन खिच्नु भयो? तपाइँलाई यो फोटो के काम?,' पुरानै प्रश्न तेर्स्यायो।
मैले भनेँ, 'म कलेज पढाउने टिचर। सँगै फोटोग्राफी पनि गर्छु। त्यसैले यस्ता इभेन्टका फोटो कुनै न कुनै बेला काम लाग्न सक्छ भनेर खिचेको।'
त्यसपछि ऊ अलि कन्भिन्स भयो।
उसले अर्को प्रश्न गर्यो, 'तपाइँ केमा आउनुभएको। गाडीमा ?
'हैन, म बाइकमा ।'
सायद उसले म कारमा आएको भनेर भनेको भए 'कारमा को छ ?' भनेर थप कुरा गर्न सक्थ्यो । र मलाई झुलाउन सक्थ्यो। त्यही अड्कल गरेर मैले बाइकमा भन्दिएँ।
'ए, त्यसो भए कसरी जानु हुन्छ त ? पानी यत्रो परेको छ,' उसले भन्यो।
'पानी रोकिएपछि जान्छु,' मैले सजिलै उत्तर दिएँ ।
अब उसले जान दिने भयो भन्ने मैले लख काट्दै थिएँ।
उसले भन्यो, ' बिहेमा तपाइँको कोही आफन्त त छैनन्?
'छैन,' उत्तर दिएँ।
'ल तपाइँलाई इन्भिटेसन नभएको कारणले हामी तपाइँलाई यति सोधिरहेका छौँ । माइन्ड नगर्नु होला ।'
'हो मलाई इन्भिटेसन छैन,' मैले जवाफ फर्काएँ।
'एउटा कुरा रिक्वेस्ट गर्छु। तपाइँलाई कुनै आपत्ति छ?,' उसले भन्यो ।
'छैन ,' मैले भनेँ।
'त्यसो भए मेमोरी कार्डका सबै फोटो डिलिट गर्नुस्,' उसले आदेश दियो।
'ओके,' उसकै अगाडि मेनु बटनमा गएर मैले मेमोरी कार्डका फोटो सबै फोटो डिलिट गरेँ।
उसले यसले 'डिलिट अल' गर्छ कि गर्दैन भनेर बडो चनाखो भएर हेरेको थियो, बाजले भुइँमा केही सिकार देखिन्छ कि भनेर आँखा तन्काए जसरी।
दुईवटा मेमोरी भएकोले मैले पहिलो मेमोरीका फोटो डिलिट गरेँ।
उसले तुरुन्तै भन्यो, 'दोस्रो स्लटको पनि गर्नुस्।'
'हस' भन्दै दोस्रो मेमोरीको फोटो सबै डिलिट गरेँ। उसलाई नो प्रिभ्यु मेनुमा गएर 'नो इमेजेज' भन्ने देखाएपछि ऊ बल्ल ढुक्क भयो।
उसले फेरि सोध्यो, 'तपाइँलाई केही आपत्ति छ?'
मलाई थाहा छ कि फर्म्याट गरे पनि रिकभर गर्न सकिन्छ । त्यसैले ढुक्कसित भने, 'केही आपत्ति छैन ।'
'म जाउँ सर,' फोटो डिलिट गरेपछि मैले भनेँ।
'हुन्छ,' उसले भन्यो, 'तर, पख्नुस्। तपाइँको मोबाइल नम्बर दिनुस्।' मैले मोबाइल नम्बर टिपाएँ।
'ए भाइ, उहाँलाई छाता ओढाएर गेटसम्म पुर्याईदिनु,' त्यहाँ खटिएका सिभिल ड्रेसमा रहेका सुरक्षाकर्मीलाई आदेश दियो ।
सुरक्षाकर्मीको छाता ओढेर म गेटतिर लम्किएँ।
बाहिर निस्केर फोन गरेँ सम्पादकलाई। उनले अघिकै कफी पसलमा बसिरहनू, हामी एकैछिनमा आउँछु भने।
गाडीबाट कार्यालय पुगिसकेपछि सबैभन्दा पहिला फोटो रिकभर गर्ने प्रयास थालियो। एक घण्टा जति लगाएर मेमोरी कार्ड स्क्यान गरिसकेपछि रिकभरी प्रोग्रामले रजिस्टर गर, अनि मात्र फोटो रिकभर हुन्छ भन्यो।
हामीले प्राविधिक सहयोग गर्ने साथीलाई फोन गर्यौँ। ऊ परीक्षा भएकोले पढेर बसेको रहेछ। तु. ट्याक्सी चढेर आउन भनियो। यसैबीच हामीले वैकल्पिक प्रोग्रामबाट पनि प्रयास थाल्यौँ। थप एक घण्टाको प्रयास पछि बल्ल फोटो रिकभर भयो। केही फोटो बिग्रिए तर जति आए त्यो समाचारका लागि काफी थियो।
हामीले समाचारमा आफ्ना तर्फबाट केही धारणा दिएनौँ। सार्वजनिक पदमा रहेका व्यक्तिको सबै कुरा सार्वजनिक चासोको विषय हुन्छ। त्यसैले जे देख्यौँ त्यहीमात्रै लेख्यौँ। यी फोटो प्रकाशित भएपछि दिनभर सामाजिक सञ्जालमा त्यसको चर्चा भइरह्यो।
सम्बन्धित समाचार
यी हुन् लोकमानका ज्वाइँ, यसरी भयो बिहे हेर्नुस् एक्सक्लुसिभ फोटो
अख्तियारको आँगनमा लोकमानकी छोरीको बिहे, हेर्नुस् एक्सक्लुसिभ फोटोहरु
छोरीको बिहेबारे 'अतिरन्जित टीकाटिप्पणी' भयो : लोकमान