PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

चार अफ्रिकी देशमा नजान नेपाल सरकारको 'ट्राभल एडभाइजरी'



चार अफ्रिकी देशमा नजान नेपाल सरकारको 'ट्राभल एडभाइजरी'

काठमाडौँ : नेपाल सरकार, परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरुलाई पश्चिम अफ्रिकाका चार देशको भ्रमण नगर्न आज 'ट्राभल एडभाइजरी' जारी गरेको छ। 

'इबोला भाइरस रोगबाट प्रभावित पश्चिम अफ्रिकाका चार मुलुकहरु (गिनी, नाइजेरिया, लाइबेरिया र सियरा लियोन) को भ्रमण संभव भएसम्म नगर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछौँ,'  परराष्ट्र मन्त्रालयद्वारा आज जारी वक्तव्यमा भनिएको छ, 'अत्यावश्यक अवस्था परी भ्रमण गर्नै पर्ने भएमा उच्च सतर्कता र सावधानी अपनाउन तथा फर्की आएपछि नेपाल सरकार, स्वास्थ्य मन्त्रालय वा नजिकको अस्पताल/स्वास्थ्य संस्थासँग सम्पर्क गरी कम्तीमा २१ दिनसम्म रेखदेखमा रहन पनि अनुरोध गर्दछौँ। 

हालसम्म ती मलुकहरुमा झण्डै दुई हजार व्यक्तिहरु इबोला भाइरसबाट संक्रमित भएका र एक हजारभन्दा बढी व्यक्तिहरुको मृत्यु भैसकेको छ।

विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकामा महामारीका रुपमा फैलिरहेको इबोला भाइरसलाई असाधारण घटना भन्दै यसले विश्वभर अन्तर्राष्ट्रिय स्वास्थ्य जोखिम बढाएको बताइसकेको छ। 

के हो इबोला ?
इबोला प्राण घातक रोग हो। यो रोग लागेका ९० प्रतिशतको मृत्यु हुने गर्छ। मानव र पशु दुवैमा यो रोग देखिएको छ। 

इबोला सुरुमा सन् १९७६ मा देखिएको थियो। कंगोको इबोला नदी छेउको एउटा गाउँमा र सुडानको अर्को दुर्गम गाउँमा यो रोग पहिलो पटक भेटिएको थियो। 

पश्चिम अफ्रिकामा अधिकांश अवस्थामा यो मान्छेबाट मान्छेमा सरेको देखिएको छ। इबोला संक्रमित रोगीको उपचारमा संलग्न १०० भन्दा बढी स्वास्थ्यकर्मीहरुलाई पनि यो रोग सरेको देखिएको छ। 

विश्व स्वास्थ्य संगठनले यो रोग लागेको अवस्थामा घरमै उपचार नगर्न सचेत गराएको छ। 

महामारी फैलाँदा स्वास्थ्यकर्मीहरु, परिवारका सदस्यहरु र रोगबाट मृत्यु भएकाको अन्त्येष्टिमा सहभागी हुनेहरु पनि जोखिममा रहनेतर्फ संगठनले सचेत गराएको छ। 

लक्षण के हुन् ?
विश्व स्वास्थ्य संगठनका अनुसार अचानक ज्वरो आउने, बेस्सरी कमजोर हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने प्रारम्भिक लक्षण हुन्। त्यसपछि झाडाबान्ता हुने, चिलाउने, मृगौला र कलेजोमा समस्या आउने र ब्लिडिङ हुने गर्छ। 

प्रयोगशाला परीक्षणबाट मात्र यो रोग लागेको पुष्टि गर्न सकिन्छ। 

उपचार के ?
रोगले निकै गाँजिसकेको बिरामीका लागि सघन उपचार आवश्यक हुन्छ। तर यो रोगको उपचारका लागि कुनै निश्चित उपचार विधि नभएको विश्व स्वास्थ्य संगठन बताउँछ। अहिलेका लागि यो रोगबाट संक्रमित बिरामीलाई संक्रमण अरुमा फैलन नदिन अरुबाट अलग राख्नु नै उचित विधि भएको संगठनको राय छ। 

यसको उपचारका लागि खोप वा औषधि बनाउने प्रयास जारी छ।






 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell