PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

योग गुरु रामदेव र आचार्य बालकृष्णले काठमाडौंमा योग सिकाउने



योग गुरु रामदेव र आचार्य बालकृष्णले काठमाडौंमा योग सिकाउने

काठमाडौं : वैशाखमा हुने योग शिविरका लागि भारतीय योग गुरु रामदेव नेपाल आउने भएका छन्। पतञ्जली योगपीठ नेपालले वैसाख ११ देखि १५ गतेसम्म काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागेको योग विज्ञान शिविरमा रामदेवले योग सिकाउनेछन्। शिविरमा नेपाली मुलका आचार्य बालकृष्णको पनि सहभागिता रहनेछ।

शिविरका लागि गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोको अध्यक्षतामा ७५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ।

टुँडिखेलमा हुने योग शिविरमा निःशुल्क रुपमा सहभागी हुन पाइनेछ। तर, सहभागी हुनका लागि पहिल्यै पास लिइसक्नुपर्ने आयोजकले जनाएको छ। बिहान पाँच बजेदेखि ८ बजेसम्म योग सिकाइनेछ भने दिउँसो विभिन्न कार्यक्रम हुने आयोजकले बताएका छन्। कार्यक्रममा महतोले शारीरिक रुपमा सवल र सक्षम भए मात्रै मुलुकको विकास हुने बताउँदै योग निरोगी राख्‍न सघाउने दावी गरे।

‘कुनै पनि मुलुकको साधन र स्रोत भनेको त्यहाँको जनशक्ति हो। शारीरिक रुपमा सबल र सक्षम भए मात्रै देश र समाजको विकास हुन्छ,’ उनले भने, ‘मानसिक रुपमा बलियो हुन योगले सहयोग गर्छ। त्यसैले योगलाई आत्मसात गर्न आवश्यक छ ।’

उनले लामो समयदेखि मुलुक संक्रमणकालमा गुज्रिएकोले निराशा छाएको बताउँदै निराशा र नकारात्मक सोचलाई हटाउन योगको महत्वपूर्ण भूमिका हुने जानकारी दिए।

‘संक्रमणकालका कारण मुलुकमा गरिबी र कलह आउँछ। यसले मुलुकलाई ठूलो दलदलमा धकेल्छ,’ महतोले भने, ‘आम जनतालाई सकारात्मक सोचका साथ अगाडि बढाउन योग विज्ञानलाई अझ प्रभावकारी बनाउन आवश्यक छ।’

पतञ्जली योगपीठ नेपालका ट्रस्टी शालिग्राम सिंहले स्वामी रामदेवका कारण संयुक्त राष्ट्र संघले समेत जुन २१ लाई योग दिवस मनाउने निर्णय गरेको बताउँदै योगलाई विश्वव्यापी बनाउने श्रेय रामदेवलाई जाने बताए।

‘स्वामी रामदेवको अनुरोधमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघमा राखेको प्रस्तावलाई एकसय ७२ मुलुकले समर्थन गरेकाले जुन २१ मा  विश्व योग दिवस मनाउँदैछौ,’ उनले भने, ‘यो ऐतिहासिक क्षणमा नेपालमा समेत विशेष कार्यक्रम हुनेछ।’

पतञ्जली योगपीठका नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले मेची–महाकाली योग जागरण यात्रा सफलतापूर्वक सम्पन्न भएको बताउँदै स्वामी रामदेवको आगमनले ऐतिहासिकता प्रदान गर्ने बताए। योग शिविरका लागि एक करोड ४५ लाख खर्च हुने अनुमान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell