PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यसलाई भनिन्छ भाइरल भिडियो, रेशम फिलिलीको दर्जनौँ भर्सन



काठमाडौं : रेशम फिलिलीको 'जालमा' गीतले युट्युबमा अपलोड भएको लगभग अढाई महिनामा १६ लाख बढी हिट्स पाइसकेको छ। जनवरी १५ का दिन अपलोड यो गीतको अफिसियल गीत समाचार तयार पार्दासम्म १६ लाखपटक भन्दा बढी हिट्स भएको छ। यो गीतमा बनेका भिडियोहरु दर्जनौं छन् युट्युबमा।

रेशम फिलिली युनिटले नै भ्यालेन्टाइन डेका अवसरमा यो गीतको सिग्नेचर मुभ बजारमा ल्याएको थियो। नेपाली कलाकारहरुलाई फिचर गरिएको यो भिडियोले युट्युबमा ३६ हजारभन्दा बढी हिट्स पाएको छ। 

कालीप्रसाद बास्कोटाको फेसबुक फ्यान पेजमा जम्मा पाँच सय लाइक्स थियो, मात्रै २० दिन अगाडि। २० दिनमा उनको पेजमा ७ हजार बढी लाइक्स पुगेको छ। ‘यति धेरै म्यासेज, यति धेरै कमेन्ट, यति धेरै ‘कम्प्लिमेन्ट’ ! गायक तथा संगिततकार बास्कोटाले भने।​ के भन्छन् त गीतका गायक, गायिका तथा संगीतकार? पुरा पढ्नुस् 

गीतका कभर भर्सन, काराओके भर्सन, डान्सका भिन्न भिन्न भिडियो मात्र हैन डर्टी भर्सन पनि युट्युबमा सुपर हिट भइरहेको छ। जालमा गीतका लागि कार्टून्ज क्र्युले गरेको डान्समा ३ लाख २६ हजारभन्दा बढी हिट्स छ। त्यस्तै छेवाङ र जिरोसेन्सले गाएको कभर भर्सनको हिट्स १ लाख ३२ हजारभन्दा बढी छ। राजेश हमालको भिडियो हालेर बनाइएको डर्टी भर्सनमा १ लाख ५५ हजारभन्दा बढी हिट्स छ। राजेश हमाल र करिश्माको नृत्य राखेर बनाइएको प्यारोडीको हिट्स ८४ हजार नाघेको छ।

यो गीतका कति भर्सन छन् भनेर एकिन गर्नै गाह्रो छ। हरेक दिन नयाँ नयाँ भर्सनका डान्स र कभर भर्सन आइरहेका छन्। दुई दिन अघि आइतबार अपलोड गरिएको 'द नेक्स्ट'को भिडियोले दुई दिनमै एक लाख हिट्स कटाइसकेको छ। निकी कार्कीको स्वरमा रहेको अर्को कभर भर्सनको हिट्स पनि १ लाख २३ हजाभन्दा बढी छ।

गणेश म्युजिकले अपलोड गरेको कभर भर्सन पनि छ। यसमा सन्जीत र कविताले आवाज दिएका छन्। यो भिडियोमा पनि १ लाख २५ हजारभन्दा बढी हिट्स छ। 

यसअघि भीम निरौलाको 'सन्डे मर्निङ लभ यु'ले युट्युबमा भाइरल भएको थियो। सन् २०१३ अक्टोबरमा युट्युबमा अपलोड भएको यो गीतको हिट्स २४ लाख ३२ हजारभन्दा बढी छ। यो गीत रातारात हिट भएपछि यसका पनि अनकौं कभर र डान्स भर्सन निस्केका थिए। अंग्रेजीमा गाइएको गीत भएकोले सो गीतले विदेशी दर्शक पनि पाएको थियो। तर नेपाली भाषामै रहेको 'जालमा' भीम निरौलाको रेकर्ड तोड्ने बाटोमा छ।

जालमा गीतमा नेपाल बाहिरका नेपालीहरु मात्र हैन नेपालभाषीहरुले पनि गीत हिट बनाउन योगदान गरिरहेका छन्। जालमा गीतको भिडियो बनाउनेहरुको तँछाडमछाड नै छ। मुम्बई गोज् फिलिलीसिक्किम गोज् फिलिलीदार्जिलिङ गोज् फिलिली जस्ता भिडियोहरु युट्युबमा प्रशस्तै छन्। यसअघि फारेल विलियम्सको 'ह्याप्पी'मा शहरैपिच्छेका युवाहरुले भिडियो बनाएर युट्युबमा अपलोड गरेका थिए। 

नेपालको सफ्टवेयर कम्पनी डिएर वाकले पनि जालमा गीतमा भिडियो बनाएको छ। 'डिएर वाक'कै कम्पनीका कर्मचारीलाई फिचर गरिएको भिडियो ६ हजार ४ सयले हेरेका छन्।

त्यस्तै यसका मनोरञ्जनात्मक भिडियोहरु पनि युट्युबमा प्रसस्तै छन्। 'यस्तोपो'ले अपलोड गरेको फन्नी डान्स भिडियोमा पिकनिकको डान्सको भिडियो छ जसलाई साढे १९ हजारभन्दा बढीले हेरेका छन्। 

त्यस्तै फेब्रअरीमा अपलोड भएको जालमा अनअफिसियल भिडियोमा ५४ हजारभन्दा बढी हिट छ। यो भिडियो मेट प्रोडक्सनले बनाएको हो। सुरज खरेलले फेब्रअरीमै अपलोड गरेको बच्चाले डान्स गरेको भिडियोमा पनि ६३ हजारभन्दा बढीको हिट्स छ। फेब्रअरीमै अपलोड भएको अर्को एउटा फन्नी भिडियो पनि छ। जहाँ दुईजना युवा एकजना केटी बनेर नाचेका छन्। मोबाइलले खिचिएको यो भिडियो पनि ८३ हजारभन्दा बढीले हेरेका छन्। 

ह्योल्मो गर्ल्सले डान्स गरेको कमेडी भर्सनको भिडियो २३ हजारभन्दा बढीले हेरेका छन्। पोखराका युवाले बनाएको कभर डान्स भर्सनमा २२ हजार बढीको हिट्स छ। सज्जन उत्सुक सापकोटाले अपलोड गरेको रेशम फिलिली ओएसटी (पार्टी रक मेस अप) भिडियोको हिट्स पनि एक लाखभन्दा बढी छ। 

प्रवेश विक र प्रतिभा विकले गाएको कभर (काराओके) भर्सन पनि ५० हजार हिट्सको नजिक छ।  ज्योभान भुजुले गाएको अकस्टिक भर्सनको हिट्स ९ हजारभन्दा बढी छ। त्यस्तै नेपाली इ-कर्ड्सले अपलोड गरेको जालमाको गिटार लेसन भर्सनमा झण्डै २४ हजार हिट्स छ। 

हेर्नुस् केही भिडियोहरू




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell