PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पौरखीलाई रुकुम नै स्वर्ग: दैनिक १५ सय कमाई



पौरखीलाई रुकुम नै स्वर्ग: दैनिक १५ सय कमाई

  • हरि गौतम/पहिलोपोस्ट-
रुकुम : बिहानै उनको घरमा पुग्दा उनी तरकारी बारीमा व्यस्त थिए। बजारसम्म बिक्रीको लागि तरकारी टिप्न र बारीमा पलाएको अन्य झारपात उखेल्न व्यस्त थिए उनी। एक हुल केटाकेटी तथा युवा उनको आँगनमा आए। ती केटाकेटी र युवा उनकोमा माछा बेच्न आएका थिए। उनी माछा तौलन थाले।
 
माछा तौलँदै रुपैयाँ दिँदै गर्दा घडीको सुइले बिहानको ९ बजाइसकेको थियो। भान्साबाट श्रीमतीले खाना खान भनिरहेकी थिइन् तर उनलाई माछा तौलन र बारीबाट टिपेको तरकारी मिलाउन भ्याइ नभ्याइ थियो। जब माछा किन्न आउनेहरु घटे अनि बल्ल खाना खाने समय पाए उनले। खाना खाएर डोकोमा माछा र तरकारी बोकेर लागे उनी घरभन्दा ७ कोष टाढाको सदरमुकामतिर।
 
रुकुमको पीपल–९ कुनाखेतका प्रताप पौडेलको दैनिकी हो यो।
 
दशकदेखि प्रताप यही दैनिकीमा रमाइरहेका छन्। देशमा केही गर्न सकिन्नँ भन्ने सोच सहित विदेशिरहेका युवाका लागि उनी प्रेरणाका स्रोत नै हुन्। पीपल गाविसमा सबैभन्दा पहिले व्यवसायिक तरकारी खेती थालेर आम्दानी थालेका प्रताप केही समयपछि तरकारीसँगै माछा व्यापारमा लागे। सानो बारीमा गरेको तरकारी खेतीले सामान्य घर खर्च टर्न थालेपछि उनी माछा व्यापारमा आकर्षित भएका हुन्। बारीमा लटरम्म फलेको तरकारी डोकोमा बोकेर छिमेकी गाविस स्यालापाखाको सिस्नेरी, धपे, चिसापानी, छिङ, वाँफीकोटको छिन्खेत तथा रुकुमकोटसम्म बिक्री गर्दा धेरथोर रुपैयाँ जम्मा गरे।
 
त्यसो त उनी विदेश जाने सोचमा नभएका पनि होइनन् तर जब तरकारी खेतीमा हात हाले तब उनले विदेश जाने सपना त्यागिदिए। घरसँगैको बारीमा गहुँ नलगाई व्यवसायिक रुपमा बेमौसमी तरकारी लगाएपछि उनले गाउँलेको राम्रै आलोचना खेपे। ‘गाउँलेको कुरालाई मानेर तरकारी खेती छाडेको भए यतिबेला विदेश हुन्थें,' आफ्ना सुरुवातका दिन सम्झँदै उनले भने, 'आफूले सुरु गरेको काम कसैको पछि नलागि गरिराखें र अहिले यहाँसम्म आउन सकेको छु।’
 
सुरुवातमा उनको आलोचना गर्नेहरु अहिले उनकै पदचाप पछ्याइरहेका छन्। ‘गहुँ लाउने बारीमा तरकारी लायो अब यो भोकले मर्छ भन्थे गाउँलेहरु,' उनले सुनाए, 'मैलै गरेको काम गलत भयो भन्नेहरु अहिले तरकारी व्यवसायमै छन्। अहिले यो देख्दा खुसी लाग्छ।’ उनले तरकारी खेतीमा नयाँ नयाँ प्रविधि अपनाएका छन् तर बिक्री गर्ने तरिका भने पुरानै। परम्परागत रुपमा बनाइएको डोकोमा तरकारी बोकेर तरकारी बिक्री गर्न हिँड्छन् उनी।
 
तरकारी खेतीले नियमित आम्दानी गरे पनि त्यसले मात्र उनको आम्दानी चित्तबुझ्दो भएन। परिवार बढ्दै गयो र आकांक्षा पनि। त्यसलाई उनको थोरै बारीमा लगाएको तरकारीले मात्र पूरा गर्न सकेन। त्यसैले तरकारी खेतीसँगै उनले माछा खरिद बिक्री गर्न सुरु गरे। घरनजिकैबाट बगिरहेको सानीभेरी नदीमा मारिने माछा खरिद गरी सदरमुकामसम्म पुर्‍याउने व्यवसाय थाले उनले। सदरमुकाममा माछाको अभाव र सानीभेरी नदीमा मारिएका माछाले भाउ नपाइरहेका बेला प्रताप पुल बने। उनले सदरमुकामबासीलाई सजिलै माछा खुवाउने तथा सानीभेरीमा जाल तथा पासा हानेर माछा मार्नेहरुबाट चित्त बुझ्दो मोलमा माछा पनि किनिदिने गर्न थाले।
 
माछा व्यापारले प्रतापले आम्दानी त गरेकै छन् तर उनका साथै माछा मार्नेहरुलाई पनि सजिलो भएको छ। उनीहरुले अब माछा बोकेर सदरमुकाम पुग्नुपर्दैन, प्रताप नै पुग्छन्। आफूले मारेका माछा गाउँमै बिक्री हुन थालेपछि माछा मारेर जिविका चलाउनेहरुलाई सजिलो भएको छ। ‘उहाँ (प्रताप)को कारण हामीहरुको पनि कमाई राम्रै छ,'  स्यालापाखा–१ का दिपेश पुनले भने, 'हामी सय बढीले मारेका माछा उहाँ एक्लैले खरिद गर्नुहुन्छ र हामीलाई सजिलो भएको छ।’
 
माछा खरिद बिक्रीबाट सिजनमा मात्र नाफा हुन्छ। मंसिरदेखि वैशाख महिनासम्मको कमाइ नै प्रतापको सन्तुष्टि हो। हरेक दिन ७ कोष टाढाको सदरमुकाम माछा र तरकारी बिक्री गर्न जानु र घर फर्किनु उनको दैनिकी हो। डोकोमा माछा बोकेर पैदलै सदरमुकाम आउने उनी पैदलै घर फर्कन्छन्। माछाबाट उनले दैनिक एक हजारदेखि तीन हजारसम्म नाफा कमाउँछन्। ‘६ महिनाको अवधिमा (मंसिर–वैशाख) एक लाख बढी कमाई हुन्छ,' उनी भन्छन्, 'बाँकी ६ महिना कम माछा हुने भएकोले ५० हजारजति मात्र आम्दानी हुन्छ।'
 
डोकोभित्र माछा र त्यसमाथि तरकारी बोकेर सदरमुकाम यात्रा गर्ने प्रताप कहिलकाँही श्रीमतीलाई पनि सँगै ल्याउने गर्दछन्। ‘बढी माछा भएको दिन दुई जना जान्छौं,' उनले भने, 'म माछा बोक्छु यीनले तरकारी बोक्छिन्। यसले पनि सजिलै भएको छ।’
 
उनको घर सडकमै जोडिएको छ। दैनिक एउटा गाडी सदरमुकाम आवतजावत गर्छ। तर प्रताप सधैँ डोको बोकेर पैदलै आवतजावत गर्छन्। 'सडक त हुनेखानेका लागि हो हामी कम औकात भएकाहरु कसरी गाडी चढ्न सक्नु र !' उनले भने, 'यो गाडी पनि कागलाई बेल पाक्यो हर्ष न विस्मात झैं हो।' उनको घरबाट सदरमुकाम आवतजावत गर्न ६ सय रुपैयाँ खर्च हुन्छ। ' मेरो कमाई दिनमा त्यस्तै हजार पन्ध्र सय हो दैनिक गाडी चढें भने जहान बच्चा कसरी पाल्नु? डोको बोकेर हिँड्नुपर्ने वाध्यताबारे उनले भने। सदरमुकाम खलंगादेखि उनको घर कुनाखेतसम्मको सडकको लम्बाई १९ किलो मिटर छ भने एकातर्फी भाडा ३ सय २० रुपैयाँ पर्छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell