PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​अर्थमन्त्रीको गाडीमा ढुंगा हान्ने पाँचजना पक्राउ, प्रहरीसँग विद्यार्थीको झडप



​अर्थमन्त्रीको गाडीमा ढुंगा हान्ने पाँचजना पक्राउ, प्रहरीसँग विद्यार्थीको झडप
अर्थमन्त्रीको फाइल फोटो।

पोखराः अर्थमन्त्री डा. रामशरण महतको गुडिरहेको गाडीमा ढुंगा प्रहार गर्ने पाँचजना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।

अर्थमन्त्रीको गाडीमा ढुंगा प्रहार भएपछि प्रहरी र एकीकृत नेकपा माओवादी सहितको ३० दलीय मोर्चाका विद्यार्थी संगठन र प्रहरीबीच झडप भएको छ।

अर्थमन्त्री महत बुधबार कास्कीको सल्यान गाविसमा हुन लागेको एक कार्यक्रममा सहभागी हुन पोखरा आएका थिए। अर्थमन्त्रीलाई एमाओवादी नेतृत्वको ३० दलीय मोर्चामा आबद्ध विद्यार्थी संगठनका कार्यकर्ताले कालोझण्डा देखाउने क्रममा प्रहरीसँग झडप भएको पोखराबाट पत्रकार नवराज ढंगानाले जानकारी दिए।  

कास्कीका प्रहरी प्रमुख एसपी हरिबहादुर पालले अर्थमन्त्रीको गाडीमा लुकेर ढुंगा प्रहार गर्ने पाँचजनालाई नियन्त्रणमा लिइएको पहिलोपोस्टलाई बताए। 'कालोझण्डा देखाउँदै हुलदंगा गर्न खोजेपछि पाँच जनालाई नियन्त्रणमा लिएको' एसपी पालले बताए।

पत्रकार ढुंगानाका अनुसार प्रहरीसँगको झडपमा केही विद्यार्थी सामान्य घाइते छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो।

क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष कृष्णराज दाहालले भने आफूहरुको शान्तिपूर्ण आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन्। आफूहरुले कार्यक्रम गरिरहेको स्थानमा गएर पाँचजना विद्यार्थीलाई नियन्त्रणमा लिएपछि रिहाईको माग गर्दै पृथ्वीनारायण क्याम्पस गेट अगाडि आधाघण्टा चक्काजाम समेत गरिएको उनले बताए।

३० दलीय मोर्चाले चैत ११ गते प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा मन्त्रीहरुलाई कालोझण्डा देखाएर बिरोध गर्ने कार्यक्रम तय गरेको थियो। 

विद्यार्थीहरुले पृथ्वीनारायण क्याम्पस गेट अगाडि टायर बारेर अवरोध गरेका थिए। विद्यार्थीको अवरोध प्रहरीले हटाएको छ।

प्रहरी र विद्यार्थी संगठनहरुबीच झडप भएपछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell