PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

चैत १५ गते ५ बजेपछि म कुर्दिन : नेम्वाङ



चैत १५ गते ५ बजेपछि म कुर्दिन : नेम्वाङ

  • मनोज सत्याल -
काठमाडौं : संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आगामी चैत १५ गतेसम्मका लागि राजनीतिक दलहरुलाई सहमति गर्ने 'डेडलाइन' तोकेका छन्। शीर्ष दलका प्रमुख सचेकहरुसँगको छलफलमा नेम्वाङले छिटो सहमति गर्न सुझाव दिएका हुन्। उनले दलहरुबीच सहमति नभएको अवस्थामा पनि आफूले संविधानसभा बैठक डाक्ने भन्दै 'डेडलाइन' तोकेका हुन्।

'चैत १५ गते ५ बजे स‌ंविधानसभा बैठकबारे निर्णय गर्छु, त्यसअघिको समय सदुपयोग गर्नुहोला', नेम्वाङले भने, 'तर सहमतिका लागि दलहरुलाई म केही स्पेस भने उपलब्ध गराउँछु।'

नेम्वाङले नियमअनुसार ७२ घण्टा अघि मिति तोक्ने व्यवस्था रहेको भएपनि आफूले सहमतिका लागि स्पेस उपलब्ध गराउने बताए। एमाओवादी नेताहरुले आन्दोलनका कडा कार्यक्रम १५ गते पछाडि राखेकाले त्यसअघि नै सहमतिको आवश्यकता रहेको नेम्वाङले प्रष्ट्याए।

बैठकमा नेम्वाङले आफूले संविधानभा अनिश्चितकालका लागि सहमति जुटाउने र दलहरुको वार्ता परिणाममुखी हुने अपेक्षाका साथ स्थगित गरेको भन्दै अब बैठक डाक्नुपर्ने बाध्यता रहेको बताए। 

'चैत १५ गते साँझ ५ बजेसम्म तपाईँहरुले सहमतिमा जाने अथवा प्रकृया अगाडि बढाउने विषयमा सहमति गर्नु भएन भने म त्यसै दिन संविधानसभा बैठकको मिति तोक्छु,' सभाध्यक्ष नेम्वाङलाई उदृत गर्दै नेकपा एमालेका सचेतक अग्नि खरेलले भने।

'यत्तिकै अवस्था रहिरहने हो भने म संविधानसभाको बैठक डाक्छु,' नेम्वाङले भने।

संविधानसभा अनिश्चितरुपमा स्थगित भएको ४० दिन पूरा भइसकेको छ। सँगै सुरु भइसकेको प्रकृया अवरुद्ध भएको छ।

छलफलपछि पत्रकारहरुसँग कुरा गर्दै नेम्वाङले एमाओवादी सहितको मोर्चाले चैत १५ पछि कडा आन्दोलन गर्ने भनेकाले पनि त्यसअघि नै सहमतिमा पुग्न सुझाव दिएको बताए। 

संविधानसभा बैठक डाक्ने विषयमा सभाध्यक्ष नेम्वाङले प्रमुख दलका शीर्ष नेता र सचेतकहरुसँग पटक पटक छलफल गरेका थिए। 'यसबीचमा उहाँहरुले के छलफल गर्नुभयो र उपलव्धी के रह्यो सोधेँ,' उनले भने। 

चैत १५ को डेडलाइनबारे सोधिएको प्रश्नमा उनले सहमतिका लागि आवश्यक परे समय दिने सुनाए। 'चैत १५ गते ५ बजेभित्र बैठकको मिति तोक्छु। त्यसबीचमा पनि सहमतिका लागि स्पेस दिन्छु,' उनले भने। 

संविधानसभा नियमावली अनुसार कुनै पनि बैठक ७२ घन्टाअघि डाकिसक्नुपर्नेछ। उनले चैत १५ मै मिति घोषणा गरे पनि कम्तिमा तीन दिन दलहरुबीच छलफलको समय रहन्छ।  
 
१५ गतेदेखि पनि माओवादीले कडा आन्दोलन भनेका छन्। आन्दोलनभन्दा पहिले नै सहमति गर्नोस भन्ने सुझाव दिए

'प्रचण्डलाई पर्खिउँ'

सभाध्यक्ष नेम्वाङले संविधानसभा बैठक डाक्ने संदेश दिएलगत्तै एनेकपा माओवादीका गिरिराजमणि पोखरेलले चीनमा रहेका पार्टी अध्यक्ष प्रचण्डलाई पर्खिनुपर्ने धारणा राखेका थिए।

'प्रचण्ड चैत १३ गते फर्किनुहुन्छ,' पोखरेलले भने, 'उहाँ फर्किएपछि तपाईँले सार्थक वार्ता गर्नुपर्छ।'

विपक्षी मोर्चाको आन्दोलनलाई वास्ता नगरी संविधानसभाको बैठक डाक्ने हो भने 'सोच्न वाध्य हुने' उनले सुनाए। उनले जवरजस्ती बैठक डाकिए बहिस्कार गर्ने प्रस्ट्याए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell