PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ब्रिट्नी, टेलर स्विफ्ट, टम ह्यान्क्स हुँदै जीवन लुइँटेलसम्मको एप्स मोह



ब्रिट्नी, टेलर स्विफ्ट, टम ह्यान्क्स हुँदै जीवन लुइँटेलसम्मको एप्स मोह

पहिलोपोस्ट -
आफ्नो ब्रान्ड, उत्पादन, समाचार आदिको बारेमा आफ्ना प्रसंसकहरुमा जानकारी गराउने चलन पुरानै हो। अहिले यो क्रम पुराना प्रचारप्रसारका सामग्रीलाई छाडेर नयाँ प्रविधितिर लम्किसकेको छ। हात हातमा पुगेको स्मार्टफोन, घर घरको इन्टरनेट र स्कूल क्याम्पसमा सहजै उपलब्ध हुने वाईफाई सुविधाले आफु र आफ्ना प्रशंसक बीचको दुरी छोटो बनाइसकेको छ।
 
आफ्ना फलोवर समक्ष आफ्ना जानकारी पुर्‍याउन अहिले छरितो माध्यम मानिएको एप्स् निर्माण अहिलेको सबैभन्दा सफल माध्यम बनेको छ। विभिन्न सेलीब्रेटीहरुले आफ्ना नीजि जानकारी, भविश्यमा हुन लागेको कार्यक्रम, आफ्ना दैनिकी, सेलिब्रिटी गसिप, डेट, परिकार जानकारी आदि समेटिने यस्ता एप अहिले चर्चामा छन्।
 
ब्रिट्नी स्पेअर्स्, पाम एन्डरसन्, जस्टिन बिबर, टेलर स्विफ्ट, किम कार्डासियन लगायत थुप्रै सेलीब्रेटीका आफ्नै मोबाइल एप्स् छन्। पछिल्लो समय किमको एप्सले एप्सस्टोरमा ठुलो चर्चा कमाएको थियो। अहिले पनि धेरै कलाकार तथा गायक गायिका आफ्ना एप्स निर्माण गर्ने क्रममै छन्।

हालसालै हलिउड निर्देशक तथा अभिनेता टम ह्यांक्स यो क्रमको पछिल्लो सेलीब्रेटी भएका छन्। उनले हालसालै ह्याङ्क्स राइटर नामक मोबाइल एप्स सार्वजनिक गरेका छन्। टाईप् राइटर प्रेमी ह्यांक्सले गएको बिहीबार सार्वजनिक गरेको आइ प्याड एप्स ह्याङ्क्स राइटरले सार्वजनिकको हप्तादिन नबित्दै १ नम्बर फ्री एप्समा आफ्नो नाम दर्ता गरिसकेको छ। यतिमात्र नभई यसले तेह्रसय प्रयोगकर्ताबाट ४.५ रेटिंग पनि प्राप्त गरिसकेको छ।
 
ह्याङ्क्स राइटरले टाइप राइटरको आवाजलाई दुरुस्तै कपि गर्नेछ जुन टाइप राइटर प्रेमीलाई आफ्ना पुराना अनुभवहरु फर्काएर ल्याउन सघाउनेछ। तपाइँको  टाइप राइटर अनुभव यतिमै सिमित हुने छैन, यसमा पेज लेखिसकेपछी निस्किने आवाज वास्तविक लाग्ने छन्। यसमा अहिले एउटामात्रै फन्ट र रंग उपलब्ध छ। यसमा अन्य सुविधा थप्न परे प्रयोगकर्ता आफैले स्टोरबाट खरिद गरेर थप्न पर्ने छ।

ह्याङ्क्सले आफु १९८० को दशकदेखि नै टाइप राइटरको सौखिन भएको पनि खुलाएका छन्।  आफ्नो मेकानिकल लेखाई मोह त्याग्न नसकेर उनले ह्याङ्क्स राइटरको कल्पना गरेको खुलाएको न्यूयोर्क टाइम्सले लेखेको छ। 

ह्यांक्सले आफ्नो एप्सको बारेमा बोल्दै भनेका छन्, ‘यो एप स्कूल, क्याम्पसको रिपोर्ट अथवा टर्म पेपर बनाउन उपयुक्त नहोला तर जसको मेरोजस्तै टाइप राइटरसंग गहिरो प्रेम छ त्यसलाई यसले केही हदसम्म भए पनि आफ्ना पुराना यादसँग अवस्य जोड्ने छ।‘ उनले यसको प्रयोग सबैतिर सम्भव छ तर त्यसको लागि आफ्नो दृढ चाहना भने हुनपर्छ भने।

एप स्टोरमा अहिले ह्याङ्क्स राइटरको स्थान र चर्चा हेर्दा यसले क्लासिकल टाईप राईटर सैलीमा जर्नल, प्रेम पत्र आदि लेख्न चाहनेको संख्या बढेको छ जसले गर्दा टाइप ‘राइटर सिमुलेटर’को माग बढ्ने छ।

यसको निर्माणका तीन प्रमुख कारण छन्, जसमध्ये स्पिड, सजिलोपना र आकर्षक डिजाइन कुनै पनि हैनन्। मनमोहक आवाज एउटा कारण हो जसले यो टाइप राइटर तपाइँको आइप्याडसम्म ल्याउँछ। वास्तविक टाइपको मज्जा र आफ्नो  टाइपसँगै निस्किने मनमोहक आवाजले वातावरणनै संगीतमय बनाउने छ।

एप निर्माणको क्रम हलिउडमा मात्रै सिमित छैन। यसले विश्वकै सबै कलाकारको ध्यान तानेको छ। यो क्रमले नेपाली कलाकार जगतमा पनि निरन्तरता पाएको छ।

धेरै नेपाली कलाकारको आफ्नो व्यक्तिगत विवरण समेटिएको वेबसाइट छैन। अहिलेसम्म करिब ३० वटा नेपाली चलचित्रमा अभिनय गरिसकेका जीवन लुइँटेल पनि एपको लाइनमा आइपुगेका छन्। सन् २००२ का मिस्टर नेपाल लुइँटेल प्रविधिलाई अभिन्न अंग मान्छन्।

उनले आफ्नो व्यक्तिगत विवरण, बायोग्राफी, अभिनय गरेका चलचित्रको जानकारी, फोटो ग्यालरी र प्रतिक्रिया समेटिएको एप्स सार्वजनिक गरेका छन्। यसरी सेलिब्रेटीको एप्स मोह बढ्दै जानुलाई नयाँ पुस्ता प्रविधि बिना अपुरा छन् भन्ने स्पस्ट हुन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell