PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

​विदेशबाट आएकासँग हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह



​विदेशबाट आएकासँग हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह

गोविन्द रोस्यारा-
धनगढी :  प्राणघातक रोग इबोला नेपाल भित्रिन नदिन भारतसँग सिमाना जोडिएका सुदूरपश्चिमका विभिन्न नाकाहरुमा उच्च सतर्कता अपनाइएको छ।

कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी र बेलोरीमा जिल्ला जनस्वास्थ्य कार्यालयले स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क र सचेतना अभियान शुरु गरेको छ। 

धनगढीको पश्चिमी सीमा नाका गौरीफन्टामा आजदेखि सचेतनाका लागि विभिन्न पर्चा पम्पलेट वितरण र रोगबारे जानकारी दिने बोर्डहरु राख्न थालेको छ।

जनस्वास्थ्य प्रशासक जयबहादुर कार्कीले गौरीफन्टामा दक्ष चिकित्सकको अभावमा हेल्थ डेस्क चाहिँ नराखिने बताए। तर सीमा क्षेत्रमा रहेका भन्सार कार्यालय र सीमा सुरक्षाकर्मीहरुसँगको सहकार्यमा जनचेतना कार्यहरु अगाडि बढाइने जानकारी उनले दिए।

उता कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकी र दक्षिणी क्षेत्रको बेलौरीमा पनि हेल्थ डेस्क राखिएको छ। यी दुई वटै नाकामा भारतबाट आउनेमाथि निगरानी गरी जाँच गरिने जनस्वास्थ्य कार्यालयहरुले  जनाएका छन्।

वरिष्ठ जनस्वास्थ्य प्रशासक बलबहादुर महतले भारतको राजधानी दिल्लीमा इबोलाको संक्रमण देखिएपछि नाकामा हेल्थ डेस्क राखिएको बताए।

दुवै जिल्लाका डेस्कमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन भएका छन्।

स्वास्थ्यकर्मीहरुले सीमा क्षेत्रमा आवतजावत गर्ने सबै व्यक्तिसित सोधपुछ गरी रोगको शंका लागेमा विभिन्न अस्पतालमा पठाउने महतको भनाई छ।

यी नाकाहरुमा दैनिक सयौँ मानिस आवतजावत गर्ने हुँदा सतर्कताका लागि अभियान शुरु गरिएको हो।

स्वास्थ्यकर्मीहरुले विदेशबाट आएका ब्यक्तिहरुसँग झट्ट हात मिलाउने, अंकमाल गर्ने र नजिकै बस्ने जस्ता कार्यहरु नगर्न आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell