PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​म लक्की रहेछुः अनिल खरेल



​म लक्की रहेछुः अनिल खरेल

अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौं : पहिलो पटक एसीसी अन्डर १६ प्रिमियर क्रिकेटको उपाधि जित्न महत्वपूर्ण योगदान गरेका भैरहवाका अनिल खरेलको प्रशंसा चुलिँदो छ। मलेसियामा सम्पन्न एसीसी यु १६ क्रिकेटमा अनिलले गरेको प्रदर्शनले नेपाली क्रिकेट समर्थकलाई फेरि एकपटक खुसी दिएको छ।

ओमानसँगको खेलमा सनसनी प्रदर्शन गरेका यु १६ टोलीका सबैभन्दा कान्छा (१३ वर्षीय) खेलाडी अनिल टीममा छनौट हुँदा सजिलो भने थिएन।

१३ वर्षको उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न मलेसिया पुगेका खरेलको सानो काँधमा ठूलो जिम्मेवारी पनि थियो। ‘उमेर सानो भएपनि खेलमा उसको परिपक्वता गज्जबको थियो,’ टोलीका प्रशिक्षक वसन्त शाहीले भने, ‘भैरहवामा हुँदा नै उसले आफूभन्दा सिनियरहरुको विकेट लिन्थ्यो।‘

उसो त टीमका सहायक प्रशिक्षक राजु बस्न्यातले खरेलको क्षमताबारे प्रतिक्रिया दिँदा भनेका थिए, ‘यो फुच्चेले नेपाली क्रिकेट टोलीको नाक राख्छ।‘ बस्नेतको बोली सही साबित भयो, साँच्चै नै खरेलले नेपाली क्रिकेटको नाक राखे।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका अनिलका लागि सुरुवात सोचेको भन्दा राम्रो भयो। ‘आफ्नो क्षमताले सकेको खेल्छु भन्ने थियो,’ आफ्नो प्रदर्शनबारे अनिलले भने, ‘म लक्की रहेछु।‘

अनिल मात्र हैन, पूरै टीम नै ‘लक्की’ मान्छन् प्रशिक्षक शाही।

‘हामीले ‘रेन्डम्ली’ छानेका सबै खेलाडी उत्कृष्ट नै परे,’ शाहीले भने, ‘बलरै बलर वा ब्याट्सम्यानै ब्याट्सम्यान पर्ने सम्भावना उत्तिकै थियो।‘
सोधेको कुरा एक लाइनमै भनिसक्ने अनिलले पहिलोपोस्टसँग प्रतिक्रिया दिँदै भने, ‘मलेसिया यात्रा रोमाञ्चक भयो।‘ उनले यत्ति बोले।

प्रतियोगिता जितेर काठमाडौं विमानस्थल ओर्लिँदा उनको खुलेर प्रशंसा भयो। फोटो पत्रकारले अनिललाई पछ्याइरहे। ‘हामी फाइनल पुग्दै हार्दै गर्थ्यौं, यसपालि जित्यौं, खुसी लागेको छ,‘ विमानस्थलमा उनीप्रतिको आकर्षणबारे सोध्दा अनिलले भने, ‘हामीले सबै खेल राम्रोसँग जित्यौं, म त एकदमै खुसी छु।‘

प्रशिक्षक शाहीलाई अनिलको क्षमताको अन्दाज पहिले नै थियो। ‘म व्यक्तिगत रुपमा पनि उसको प्रशिक्षक भएको कारणले पनि म उसको क्षमतामा ‘कन्फिडेन्ट’ थिएँ,’ शाहीले भने, ‘उसको ‘कन्फिडेन्ट लेभल’ पहिलेदेखि नै ‘हाइ’ थियो।‘ उमेर सानो भएपनि अनिलको खेलमा ‘सिनियर लेभल’को परिपक्वता देख्छन् प्रशिक्षक शाही।

ओमानसँगको खेलमा अनिलको जादुले विशेष काम गर्‍यो। १ सय ६५ रनको विजय लक्ष्य पछ्याइरहेको ओमानको १७ ओभरसम्म कुनै विकेट झरेको थिएन। तर जब फुच्चे देब्रेहाते स्पिनर अनिलले बलिङ् सुरु गरे, ओमान धेरै बेर टिक्नै सकेन। अनिल एक्लैले ६ विकेट हात पारे। अनिलले प्रतियोगितामा कुल १३ विकेट लिए र होनहार खेलाडी अर्थात् ‘मोस्ट प्रोमिसिङ् प्लेयर’ को अवार्ड हात पारे।

‘एसीसीको उमेर समूहमा हामी नराम्रो राष्ट्र होइनौं। नेपाललाई सबैले ‘रेस्पेक्ट’ गर्छन्,’ शाहीले भने, ‘त्यो रेस्पेक्ट कायम राख्न पनि हामीलाई राम्रो खेल्न दबाब हुन्छ।‘ टीम व्यवस्थापनले यसलाई दबाबभन्दा पनि मौकाको रुपमा उपयोग गर्न खेलाडीलाई हौसला प्रदान गरेको शाही बताउछन्।

वर्षाको मौसम। नेपालमा चाहेजति अभ्यास हुन सकेको थिएन। जति अभ्यास खेल खेले, त्यसैले पनि धेरै अनुभव दियो खेलाडीलाई। नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा अनुभवको कमी महसुस गर्ने बताउँछन् प्रशिक्षक शाही।

‘त्यसैले पनि हामीले खेलाडीलाई जहिले पनि उनीहरुको क्षमताको पहिचान गराउन खोज्यौं,’ शाही भन्छन्, ‘खेलाडीमा सकारात्मक सञ्चार गराउनु नै हाम्रो ध्येय थियो।‘ अनिल लगायत सबै खेलाडीले योजना अनुसार नै खेलेकोले प्रतियोगितामा जीत हात परेकोमा प्रशिक्षक दंग छन्। ‘हाम्रो जे योजना थियो, त्यही अनुसार खेलाडीले खेले,’ शाहीले भने, ‘अनिलले पनि हाम्रो अपेक्षा र योजना अनुसार नै खेल्यो।‘

स्वदेश फिर्तीपछि नेपाली खेलाडी राजधानीको होटल राजस्थानमा आराम गरिरहेका छन्। होटलबाटै अनिलले भने ‘सानैदेखि देशका लागि क्रिकेट खेल्न थालेँ, सबैले विश्वास पनि गर्नुभयो। भविश्यमा पनि देशकै लागि खेलिरहनेछु।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell