PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

‘पर्ख दाइ भिसा नलाउ संविधान बन्छ कि’



‘पर्ख दाइ भिसा नलाउ संविधान बन्छ कि’

  • हरि गौतम/पहिलोपोस्ट- 
रुकुम : प्रधानमन्त्रीदेखि विपक्षी दलका नेता, विद्यार्थी, कलाकर्मी, साहित्यकारले वाग्मतीको सफाइ गर। सबैको एकतालाई देखेर विभिन्न सामाजिक सञ्जालमा राष्ट्रिए एकताका पक्षमा टिप्पणीहरु आइरहेका छन्- यसरी नै मिलेर संविधान पनि समयमै जारी गर।

यता रुकुममा पनि संविधान जारी गर्न दवाव होस् भन्दै एक तन्नेरी साहित्यकारले एकल रचना वाचन गरेका छन्। बागमती सफाइमा एक भएर लागेका नेताहरुको एकत्व नटुटोस् भन्ने कामना गर्दै विजयश्वरी–८, का २४ वर्षीय प्रकाश केसीले जिल्ला सदरमुकाम खलंगाको पिपल चौतारोमा लगातार ३ घन्टा एकल रचना बाचन गरे।

संविधान निर्माण, सहमति,  विकास निर्माण र बढ्दो बेरोजगारी समस्याका कुरा समेटिएका रचना वाचन गरेका प्रकाशले दुर्गमबाटै भएपनि सानो दबाब स्वरुप यस्तो कार्यक्रम गरेको बताए।

‘उताका सबै वाग्मती सफाइमा जुटेका छन्। म त्यसमा जुट्न सकेन मैले रचना मार्फत दवाव होस् भनेर यस्तो कार्यक्रम गरेको हुँ’ प्रकाशले भने।

प्रकाशका हरेक रचनामा राष्ट्रप्रेम र राष्ट्रभक्ति झल्कन्थ्यो। अलि बढी संविधान निर्माण हुन नसकेकोप्रति चिन्ता गरेका प्रकाशले एउटा यस्तो रचना वाचन गरे जसले दर्शक दीर्घाबाट तालि पाएको थियो।

पर्ख दाइ भिसा नलगाउ संविधान बन्छ कि
पर्ख आमा चोली नरुझाउ संविधान बन्छ कि
पर्ख भरिया भारी विसाउ संविधान बन्छ कि
पर्ख बाबा हरेश नखाउ संविधान बन्छ कि
पर्ख भाइ झोला नबोक संविधान बन्छ कि
पर्ख हली दाइ गोरु नरोक संविधान बन्छ कि
पर्ख साथी क्याम्पस नछोड संविधान बन्छ कि

संविधान नबनेकै कारण गाउँहरु रित्तिएको प्रकाशलाई चित्त बुझेको छैन। पढ्दै गरेको विद्यार्थी, पढाउँदै गरेको शिक्षक, कलिला लालाबाला सहितका युवाहरु पनि विदेश पलायन भैरहेको अवस्थालाई चित्रण गरिएको प्रकाशको यो अर्को रचना।
 
सुम्सुम्याउँछ अठ्याउँछ समिबाट
फुत्कन नदिने गरी
जीवन तरङ्गहरुलाई
नमिठो हाँसोमा
घिन लाग्दो काशोमा
प्रेमको नाशोमा
हिजो राहदानी किन्न
राजधानी गयो
आज मेरो दाइ
लाहुर जान आतुर छ
उसले रोजको जीवन अनि
देखेको सपनी व्यूँताउन।

एकल रचना वाचनको मेसो मिलाइदिएको थियो राप्ती साहित्य परिषद रुकुम शाखाले। ‘एक तन्नेरीले संकलन गरी राखेका रचना सबै सामु जान्छन् र त्यसले संविधान निर्माणमा सहयोग हुन्छ भने किन नगर्ने त भनेर हामीले कार्यक्रमको व्यवस्थापन गरेका हौं राप्ती साहित्य परिषद रुकुम शाखाका अध्यक्ष गिरीप्रसाद बुढाले भने।’ एकल रचना वाचन मार्फत साहित्य, संगीत र कलाका कुराहरु पनि संविधानभित्र पर्नुपर्ने माग पनि गर्ने गरिएको छ।

अध्यक्ष बुढाका अनुसार संविधान निर्माणमा साहित्यको क्षेत्रबाट पनि दवाव हुने गरी आफूहरुले पनि एकल रचना वाचन थालेको जानकारी दिए। उनका अनुसार यस अघि पनि युवा साहित्यकार मनलाल ओलीको एक रचना वाचन सम्पन भएको थियो।

'शान्ति र संविधान हाम्रो अभियान' नारा सहित हरेक दुई महिनामा एकल रचना वाचनको सुरुवात गरेको बुढाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell