PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बिदाइमा भावुक भए विनोद, श्रीमतीलाई भने, 'बुबालाई नरुनु भन'



बिदाइमा भावुक भए विनोद, श्रीमतीलाई भने, 'बुबालाई नरुनु भन'

  • अनन्त कोइराला/पहिलोपोस्ट-
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान विनोद दासले क्रिकेट खेल्नबाट सन्यास लिएका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो अन्तिम खेल खेलिरहँदा उनी फिलिप ह्युजको सम्झनामा खेलिएको खेलको टिम ब्लुको कप्तानी गरिरहेका थिए।



उनले आफ्नो अन्तिम खेलमा १ विकेट हात पारे भने ब्याटिङतर्फ पनि ४१ रन बनाए। तर उनले आफूले कप्तानी गरेको टिमलाई जिताउन सकेनन्। उनको अन्तिम खेल हेर्न उनका बुबा पहिलोपटक त्रिवि क्रिकेट मैदानमा पुगेका थिए। त्यस्तै उनकी श्रीमती, छोरी र छोरा पनि त्रिवि क्रिकेट मैदानमा थिए। विनोदले खेल अगाडि छोरीलाई निधारमा चुमेर मैदान छिरेका थिए। इनिङको बीचम उनले छोराछोरीसँगै समय बिताए। 

सन् २००० बाट नेपाली राष्ट्रिय टिममा डेब्यू गरेका दासले सन् २००४ देखि २००८ सम्म नेपाली राष्ट्रिय टिमको कप्तानी गरेका थिए। उनी पछि नेपालका कप्तानका रुपमा पारस खड्काले जिम्मेवारी सम्हालेका छन्।

पहिलो इनिङ सकिएर टिम पेभेलियन फर्किँदै गर्दा विनोदलाई दुवै टिमका खेलाडीले लाइन लागेर ताली बजाउँदै सम्मान जनाएका थिए। उनी ब्याटिङका लागि मैदान प्रवेश गर्दा दर्शकहरुले उनको सम्मानमा उठेर ताली बजाए र हुटिङ गरे। ४१ रन बनाएर विनोद आउट भए। उनलाई नेपाल तथा अष्ट्रेलियाका खेलाडीले त्यहीं बधाई तथा शुभकामना दिए। उनले हेल्मेट खोले र ब्याट र हेल्मेट उठाएर दर्शकतिर फर्किए। दर्शकले ठूलो स्वरमा हुटिङ गरे र ताली बजाए। प्रेस बक्समा पछाडिपट्टि बसिरहेका उनका पिता आँशु पुछ्दै थिए।






विनोदले ब्याटलाई चुमे र मैदानबाट निस्किँदै गर्दा क्रिकेट मैदानलाई चुमे। पेभेलियन फर्किनेबित्तिकै ब्याट राखेर उनी श्रीमती, छोरा, छोरी र बाबु बसेकातिर आए। परैबाट हेरे र श्रीमतीलाई इशारा गरे, 'बुबालाई नरुनु भन।' उनका बाबु पछाडि बसेर आँशु पुछिरहेका थिए।

खेल सकिएपछि बोल्दै विनोदले भने, 'मलाई क्यानले पनि केही न केही दिन्छु भनेको छ तर मेरो लागि त्योभन्दा महत्वपूर्ण दर्शकहरुले दर्शाएको सम्मान ठूलो हो। मैले क्रिकेट यसकै लागि खेलेको हुँ।' उनले जाँदा जाँदै आफ्नो जिवनमै पहिलोपटक ब्याट किनेर ल्याइदिने दाजुहरुलाई धन्यवाद दिन भुलेनन्। उनको खेल हेर्न पहिलोपटक त्रिवि मैदान पुगेका उनका बाबुप्रति सम्मान देखाउन भुलेनन्। अनि उनका टिमका साथीहरु र समर्थकहरुलाई धन्यवाद दिन पनि भुलेनन्। 

अन्तिममा उनले ह्युजको ब्याट र जर्सी सगरमाथामा लाने बारेमा भने, 'ह्युजको ब्याट र जर्सी सगरमाथाको शिखरमा पुग्दैछ। सायद कोही पनि मान्छेले पुग्ने ठाउँ त्यहाँभन्दा माथि छैन।' 








क्यानले कार दिने

नेपाल क्रिकेट संघ (क्यान)का कार्यबाहक अध्यक्ष दीपक कोइरालाले क्यानले विनोदलाई जुनसुकै हालतमा पनि कार चढाउने दाबी गरे। उनले विनोदले नेपाल क्रिकेटमा गरेको योगदानको उच्च मुल्यांकन हुने पनि बताए। कोइरालाले विनोदले क्रिकेट खेल्न मात्र छोडेको तर क्रिकेट नछोडेको र छोड्न नदिने पनि बताए। विनोद अहिले नेपाली राष्ट्रिय क्रिकेट टिमको सहायक प्रशिक्षक रहेका छन्।

डिस होमले दियो ६३ हजार
त्यसैगरी विनोद दासलाई डिस होम मिडिया प्रा.लि.ले नगद ६३ हजार प्रदान गरेको छ। उनले नेपालको क्रिकेटमा गरेको योगदानको सम्मान स्वरुप उसले दासलाई सो रकम सहयोग गरेको बताएको छ।

  भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell