PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

वाग्मती मानवसाङ्लोमा एक लाख २५ हजार सहभागी, नदीमा फोहर नफाल्ने संकल्प



वाग्मती मानवसाङ्लोमा एक लाख २५ हजार सहभागी, नदीमा फोहर नफाल्ने संकल्प

काठमाडौं : दुर्गन्धका कारण सधैँ मुख छोपेर हिँड्नेहरुले आज वाग्मती किनारमा घन्टौं हातमा–हात मिलाएर नदीलाई सदा स्वच्छ राख्ने प्रणमात्र गरेनन् त्यहाँ फोहर नफाल्ने सामूहिक सङ्कल्पसमेत गरेका छन् । 

उपराष्ट्रपतिदेखि सामान्य नागरिक नदी किनारमा जुटेर वाग्मती सफाइ महाअभियानलाई सार्थक पार्न जुटे। वाग्मतीको मौलिकता भावी पुस्तालाई हस्तान्तरण गर्ने लक्ष्यबाट विचलित नहुन प्रण गरे र महाअभियानमा सहभागी हुन नसकेकालाई वाग्मतीमात्र नभई देशका अन्य भागमा अवस्थित सहरका नदीनाला प्रदूषणमुक्त पारौं भन्ने सन्देश पनि दिए।

‘नेपाल र नेपालीको सभ्यता, संस्कृति र पहिचानको धरोहर नै दूषित हुनु दुःखद पक्ष हो”, नेकपा एमालेका अध्यक्ष केपी ओलीले भने, ‘वाग्मती नदीको पवित्रतालाई कायम राखौँ, स्वच्छ, सचेत नागरिक बनी वाग्मतीको पवित्रतालाई पुनः पवित्र बनाउन सदा लागौँ।‘

सोही अवसरमा प्रमुख दलका नेता तथा प्रमुख सचेतकहरु चिनकाजी श्रेष्ठ, अग्नि खरेल, गिरिराजमणि पोखरेल एकै लहरमा उभिएर आपसमा हातेमालो गर्दै एक स्वरमा वाग्मती सफा गर्ने साझा शपथ लिँदै थिए।

वाग्मती सुन्दर बनाउने अभियानमा दलका नेताहरु एकापसमा मिलेको देखेर सभामुख नेम्वाङले मौका छोप्दै भने, “वाग्मती सफाइ अभियानमा दलका नेताहरुको जुन सङ्कल्प छ, त्यस्तै सङ्कल्प र हातेमाले संविधान लेखनको काममा पनि होस्, सबै दलका नेतालाई म आग्रह गर्छु।” 

“वाग्मती नदी किनारमा मात्र सफा गरेर हुँदैन, प्रत्येक घरबाट निस्कने फोहर पानी व्यवस्थित नभएसम्म यो सम्भव छैन,” थापाथली किनार नजिकैका बासिन्दा सुवर्ण श्रेष्ठले भने – “ वाग्मतीको दुर्गन्धले सदा बिरामी जस्तै हुने र रातमा पनि स्वच्छ हावा लिएर सुत्न नपाउने अवस्था छ।” 

फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका अध्यक्ष डा. सुमित्रा अमात्यको यस्तो आशलाग्दा भनाइ छ – “ढल नदीमा नमिसाउने बृहत् योजनाअनुरुप काम सुरु भइसकेको छ। एक दुई वर्षमा यो काम पूरा हुन्छ।‘ 

अभियानलाई सम्पूर्ण नेपाली नागरिक एकताबद्ध भएर सफल पार्नुपर्छ भन्ने भावनालाई गायिका कोमल ओलीले यसरी प्रस्तुत गरिन्– 


‘नदीमा वाग्मती राम्रो, फूलमा लाली गुराँस, 
हामीलाई लाग्छ राम्रो नेपाली धर्ती आकाश
जति सुन्दर भयो वाग्मती उति राम्रो नेपाल’ 

विगतको वाग्मती नदीलाई स्मरण गर्दै अभियानमा सहभागी ७२ वर्षीय रामबहादुर बखतीले भने – “विसं २०३० अघिसम्म वाग्मतीको पानी कञ्चन थियो । सुन्दरीघाट क्षेत्रमा लामो समय बस्दै आएका एक जना साधुले पानी फोहर हुँदै जान थालेको छ। अब नपिउनु होला भनेपछि मात्रै सुन्दरीघाट र यस आसपासका मानिसले पिउन छोडेका हुन्।” 

सुन्दरीघाट क्षेत्रमा पुगेका अर्का सहभागी ६५ वर्षीय प्रेम महर्जनले भने – “आजभन्दा ५५ वर्षअघिसम्म सुन्दरीघाटको यही झोलुङ्गे पुलबाट हामीले नदीमा बगाएर ल्याएको पैसा देखेर नदीमा टिप्न जान्थ्यौँ । आज ठूलै बस्तु खसे पनि देख्न सकिने अवस्था छैन। वाग्मतीको यो विकराल अवस्थाले हामी सबैलाई गिज्याइरहेको छ।” 

हातेमालो कार्यक्रममा नदीको मुहान क्षेत्र सुन्दरीजल–गोकर्णमा सेना र प्रहरीको उल्लेख्य सहभागिता रह्यो। दक्षिण एसियाका लागि युरोपेली संसद्को समितिका अध्यक्ष जिन ल्याम्बेर्ट नेतृत्वको नेपाल भ्रमणमा आएको प्रतिनिधिमण्डल र नेपालका लागि युरोपेली सङ्घका राजदूत रिन्चे टिरिङ सुन्दरीजल पुगेर ऐक्यबद्धता जनाउँदा हातेमालोमा सहभागी सबैको उत्साह बढेको थियो । 

कम्तीमा साढे तीन लाख नागरिकलाई वाग्मती सरसफाइ अभियानअन्तर्गतको आजको कार्यक्रममा सहभागी गराउने आयोजकको लक्ष्य थियो।

स्वच्छ वातावरण, शान्ति, लोकतन्त्र र विकासमा प्रेरणाः प्रम कोइराला

प्रधानमन्त्री सुशील कोइराला वाग्मती सफाई अभियानको १०० औं हप्तामा आयोजित ऐक्यवद्धता तथा बाग्मती सफाई कार्यक्रममा सरिक भए।

प्रधानमन्त्री कोइरालाले तिलगंगा आँखा अस्पताल अगाडि वाग्मतीको किनारमा उपस्थित भएर मानव साङ्लोमा आवद्ध भई वाग्मती सफाई कार्यक्रममा ऐक्यबद्धता जनाए।

उनले वाग्मतीको सफाई अभियानले समग्र नेपाललाई स्वच्छ वातावरण,शान्ति,लोकतन्त्र र विकासको पक्षमा लाग्न प्रेरणा दिएको बताए।

प्रधानमन्त्री कोइरालाले मदर टेरेसाको उदाहरण दिँदै भने- एक विदेशी महिला कलकत्ताको गल्लीमा कोठा भाडामा लिएर अपाङ्गहरुको सेवा गर्दा गर्दै उहाँको संस्था संसारभर विस्तारित भयो।  उहाँले नोवल शान्ति पुरस्कार पाउनु भयो। प्रतिबद्धता भयो भने सफलता अवश्यंभावी छ।”

लाखौ जनताको सहभागिता भएको, सरोकार र आस्था तथा प्रतिबद्धता रहेको बाग्मती नदीको सफाई अभियान सफल हुनेमा आफू विश्वस्त रहेको उनले बताए। 

निरन्तरता दिन मुख्य सचिवको आह्वान

मुख्य सचिव लीलामाणि पौड्यालले वाग्मती सफाइ अभियानलाई निरन्तरता दिन सबै नागरिकलाई आह्वान गरे।
१०० औँ हप्ताको महाअभियानमा एक लाख २५ हजारको सहभागी रहेको उनले बताए। उनले भने- “लाखौँ मानिसको प्रतिबद्धतालाई बचाइराख्नका लागि निरन्तर सफाइ अभियानमा जुट्न र नदी तथा आफ्नो बासस्थान वरपर फोहोर नगर्ने प्रतिबद्धतालाई व्यवहारमा उतार्नुपर्छ।” 

अभियानमा सहभागी भएर सर्वसाधारण र राष्ट्रसेवलगायत सबैलाई हौसला प्रदान गरेकामा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश रामकुमार साहलगायत, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, कूटनीतिक नियोग, पत्रकार, कलाकार, राजनीतिज्ञ, धार्मिक विभिन्न सामाजिक –धार्मिक सङ्घसंस्था तथा नागरिक समाजप्रति आभार व्यक्त गरे।  

सो अवसरमा मुख्य सचिव पौड्यालले काठमाडौँ महानगरपालिकाले तयार गरेको ‘क्लिन केटिएम’ नामक मोबाइल एप्स पनि सार्वजनिक गरे।

संविधान निर्माणमा पनि यस्तै ऐक्यबद्धता रहोस्ः नेम्वाङ

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले आन्दोलनकारी शक्ति र सरकारको नेतृत्व गरेका राजनीतिक दल वाग्मती सफाइ महाअभियानमा सहभागी भएर देखाएको ऐक्यबद्धता संविधान निर्माणमा समेत कायम हुनुपर्नेमा जोड दिए।

महाअभियानमा लागेकालाई हौस्याउन प्रमुख तीन राजनीतिक दलका प्रमुख सचेतकसहित कुपण्डोल पुगेका अध्यक्ष नेम्वाङले वाग्मती सफा गर्न निर्मित मानव साङ्लोझै संविधान निर्माणका लागि दललाई पनि एकजुट हुन आग्रह गरे।

‘‘आज जसरी मानव साङ्गो बनेको छ, त्यो सिंहदरबार र संविधानसभा भवनबाट टाढा छैन, यो एकताको सन्देश संविधान लेखनका लागि पनि बनाउन म सबै राजनीतिक दललाई आग्रह गर्दछु’’, उनले भने। 

वाग्मतीलाई सफा गर्न आवश्यक पर्ने नीति निर्माणमा सहयोग गर्न आफू तत्पर रहेको भन्दै अध्यक्ष नेम्वाङले नदीको फोहर उठाउने र फेरि फाल्ने प्रवृत्ति सधैँका लागि अन्त्य गर्न जरुरी भएको बताए।

वाग्मती नेपाली सभ्यताको मुहानः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वाग्मती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्ने बताए।  

महाअभियानमा सहभागी हुन थापाथली क्षेत्रमा पुगेका अध्यक्ष ओलीले फोहरमैलाको समुचित व्यवस्थापन गरेर मुलुकवासी र विश्वलाई नयाँ नै सन्देश दिनुपर्ने विचार व्यक्त गर्दै स्वच्छ वातावरण भए देशको गौरव र प्रतिष्ठा बढ्ने बताए।

नेपालको सभ्यता वाग्मतीको सभ्यतासँग गाँसिएको बताउँदै उनले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे।

सो स्थानमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपाएमालेका मुख्य सचेतक अग्नि खरेल, एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललगायत सहभागी थिए।

महाअभियानले जनचेतना वृद्धिः प्रचण्ड

एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मानव साङ्लो बनाउन र सरसफाइ अभियानमा जुट्न तीनकुनेस्थित वाग्मतीमा पुगेका थिए। उनले वाग्मती सरसफाइ महाअभियानले सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था र आमजनतामा जागरण बढाएको बताए।

‘वाग्मती सभ्यताको रक्षाले नेपाल राष्ट्र र राजधानीको महत्वलाई स्थापित गर्छ’, उनले भने, ‘वाग्मती सफाइ महाअभियान सिङ्गो नेपालको सफाइ अभियान हो।‘ अभियानलाई सांस्कृतिक अभियानका रुपमा जिल्ला र गाउँ–गाउँमा पुर्‍याउनुपर्ने र अभियानबाट स्थापित हुने राजनीतिक र सामाजिक सफलताले समाज रुपान्तरणमा समेत योगदान पुग्ने उनले बताए।

सम्पूर्ण जनता मिलेमा ठूलो काम गर्न सकिन्छ भन्ने उदाहरण दिएको तथा जनताको स्वतःस्फूर्त सहभागिता र एकताले घुमाउँरो पाराबाट राजनीतिक दलहरुलाई सहमति र एकताको सन्देश दिएको प्रचण्डले बताए।   

मुलुकभरका नदी सफा गर्नुपर्छः नेता नेपाल

नेकपा एमाले का नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वाग्मती नदी सफाइ जस्तै मुलुकभरिका अन्य नदी पनि सफा गर्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

शान्तिनगर हुँदै शङ्खमूल क्षेत्रमा वाग्मती सफाइ महाअभियानमा सहभागी हुँदै नेता नेपालले वाग्मती अभियानले विकासको अन्य काम गर्नका लागि सकारात्मक सन्देश दिएको बताए।

“वाग्मती सफाइ अभियान अहिले अभियानको रूपमा रहे पनि त्यसलाई आगामी दिनमा राज्यले कानुनी प्रतिबद्धताको रूपमा लिनुपर्छ”– उनले भने। सफाइ अभियान सुरू भएसँगै वाग्मती स्वच्छ र सफा हुँदै गएको बताउँदै उनले मेलम्चीको पानी काठमाडौँमा आएपछि अझै सफा हुने दाबी गरे।

शङ्खमूल क्षेत्रमा विभिन्न राजनीतिक दलका नेता, नेपाली सेना, प्रहरी, विभिन्न सङ्घसंस्था र स्कुले विद्यार्थीलगायतको सहभागिता थियो।

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, अनुशासन आयोगका अध्यक्ष अमृत बोहरा, उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठलगायतका नेता महाअभियानअन्तर्गत राधास्वामी सत्सङ्ग बल्खुमा सहभागी थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell