PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

१० हजार रुपैयाँ २२ वर्षपछि यसरी बन्यो साढे ४८ लाख



ललितपुर : "२२ वर्ष अगाडि हिमालयन बैङ्कको १०० कित्ता शेयर १० हजार रुपैयाँमा खरिद गर्ने व्यक्तिको हाल सेयर सङ्ख्या पाँच हजार ५५४.६८ रहेको र त्यसको बजार मूल्य ४८ लाख ४९ हजार २३७ रुपैयाँ पुगेको छ।"

सेयर विशेषज्ञ रविन्द्र भट्टराईले यो जानकारी दिँदा धेरै जना अचम्ममा परे। ललितपुर बार एसोसिएसनले कानुन व्यवसायीलाई यस विषयमा जानकारी दिन शुक्रबार आयोजना गरेको शेयर विशेषज्ञसँगको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

एसएलसी तथा दश जोड दुई परीक्षा सक्याएका विद्यार्थीलाई सेयरका विषयमा जानकारी दिई उनीहरूलाई यस क्षेत्रमा लगानी गर्न आकर्षण गर्न सके उनीहरूले पैसाको मूल्य बुझ्ने र सरल रूपमा आयआर्जन गर्नसक्ने धारणा यस क्षेत्रका विशेषज्ञ तथा कानुनविद्हरूले कार्यक्रममा व्यक्त गरे। 

उनीहरूले काठमाडौँको करिब दुई किलोमिटरको क्षेत्रभित्र यसको बजार केन्द्रित रहेको र दिनको एक घन्टा इन्टरनेट तथा आर्थिक पत्रपत्रिकाको अध्ययनबाट यस विषयमा धेरै जानकारी प्राप्त गर्न सकिने बताए । 

रविन्द्र भट्टराईले उद्योगपति विनोद चौधरीले आफ्नो आत्मकथामा नबिल बैंकमा उनको ५० प्रतिशत लगानी भएको जानकारी दिएको, यस बैङ्कको ३५० करोड लगानीमा उनको १७५ करोड लगानी रहेको, सन् २०७०/७१ मा यस बैङ्कले ६५ प्रतिशत नाफा बाँडेको र उनको हातमा ११३ करोड परेको बताए। 

उनले सेयर बजारमा सही रूपमा काम गर्नसके नाफा प्रतिशत निकै उच्च रहेको बताए। 

उनले विश्वका सर्वाधिक धनीमध्ये एक वारेन बफेटले १३ वर्षको उमेरमा २५ अमेरिकी डलरमा सेयर किन्न आरम्भ गरेको र उनी हाल ८४ वर्षको हुँदा करिब ७४ अर्ब अमेरिकी डलरका मालिक भएको बताए। उनले सेयर बजारमा लगानी गर्ने व्यक्तिले आश, लोभ र डर नियन्त्रण गर्न सिक्नुपर्ने बताए। उनले युवा अवस्थामा विद्यार्थीलाई यस क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताए। 

कार्यक्रममा ललितपुर बार एसोसिएसनका अध्यक्ष प्रकाश महर्जनले सेयर, कम्पनी तथा वाणिज्य कानुन एकअर्कासँग सम्बन्धित विषय भएको र वाणिज्यका क्षेत्रमा क्रियाशील कानुन व्यवसायीले यसको कानुनी मात्र नभई व्यावहारिक पक्षको समेत ज्ञान हासिल गर्न आवश्यक रहेको बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell