PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

बागलुङ १ मा उपनिर्वाचनः ७३ प्रतिशत मत खस्यो, परिणाम भोलि आउने



  • अर्जुन लामिछाने-
बागलुङः बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा शनिबार संविधानसभा उप–निर्वाचन सम्पन्न भएको छ।

जिल्लामा पहिलो पटक विद्यूतिय उपकरण मार्फत गरिएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

बिहान ७ बजे देखि साँझ ५ बजे सम्म भएको मतदानमा मतदाता उत्साहजनक रुपमा सहभागी भएको मुख्य निर्वाचन अधिकृत हरिप्रसाद जोशीले जानकारी दिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको उनले बताए।

कूल ५२ हजार २ सय २ जना मतदाता रहेको क्षेत्रमा प्रारम्भिक जानकारी अनुसार करिब ३८ हजार मत खसेको उनले जानकारी दिए। मतपेटिका आजै राति बाग्लुङ सदरमुकाम ल्याइने जिल्ला निर्वाचन अधिकारी टोलराज उपाध्यायले जानकारी दिए। उनका अनुसार आइतबार मतगणना थालिने र मतगणना सुरु भएको ३ घण्टामा अन्तिम मतपरिणाम आइसक्नेछ।

१९ गाविस र एक नगरपालिका रहेको बागलुङ क्षेत्र नम्वर १ मा निर्वाचनमा ७० मतदान केन्द्रको व्यवस्था गरिएको थियो। जसमा निजामति कर्मचारी ३ सय ५० र ४ सय २० स्वयंसेवक गरि कूल ७ सय ७० जना परिचालन गरिएको थियो। क्षेत्रका सबै गाविस र नगरपालिकामा सुरक्षा संवेदनशीलता हेरेर नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो।

२०७० सालको निर्वाचनवाट बिजयी सभासद हरिबहादुर खड्काको सडक दुर्घटनामा मृत्यु भएपछि उपनिर्वाचन भएको हो।

उपनिर्वाचनमा नेपाली कांग्रेसका चम्पा खड्का र नेकपा एमालेका मनकुमारी केसीबीच तीब्र प्रतिस्पर्धा भएको अनुमान छ। दुबै पार्टीले आ–आफ्नो जीत हुने दाबी गरेका छन्।

अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेको एकीकृत नेकपा माओवादीका कृष्णबहादुर केसी, राष्ट्रिय जनमोर्चाका नेत्र बुढाथोकी,  राप्रपा नेपाल र राप्रपाका तर्फबाट संयुक्त उम्मेदवारको रुपमा नवीनचन्द्र सर्बुजा, संघीय समाजवादीका रेशम थापामगर, नेकपा मालेका कुलबहादुर किसान, राष्ट्रिय जनमुक्ति पार्टीका रुकबहादुर पुन, राप्रपा नेपाल समानान्तरका नैनकुमारी केसी, राष्ट्रवादी एकता पार्टीका क्षेत्रप्रताप थापा, स्वतन्त्र उम्मेदवार तुलसी थापा पनि चुनावी प्रतिस्पर्धामा छन्।

यसअघि उम्मेदवारी दर्ता गराए पनि नेपाल परिवार दलले नेकपा एमाले र स्वतन्त्र उम्मेदवार सरस्वती पन्तले एकीकृत माओवादीलाई समर्थन जनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell