PahiloPost

May 25, 2018 | ११ जेठ २०७५

कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया


किशोर नेपाल/पहिलोपोस्ट

कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया
प्रधानमन्त्री देउवासँगको बीबीसी साझा सवाल कार्यक्रमका बारेमा आफनै स्तम्भकारको टिप्पणी भाइरल भएपछि कनिका दंग परेकी थिइ। उसले यो टिप्पणीको सपोर्टमा गरेको ट्विटलाई सयजनाले रिट्विट गरिसकेका थिए। डिजिटल पत्रिकामा कुनै समाचार वा कुनै तस्वीर अत्यधिक बढी संख्यामा पढिनु र हेरिनुलाई भाइरल भएको भन्ने रहेछन्। तस्वीर त धेरै भाइरल भइसकेका थिए। समाचार टिप्पणी यतिविध्न चलेका थिएनन्। उसका बाबाले त्यो टिप्पणी पढे र रमाइलो माने। ठीक बेठीक केही भनेनन्। बाबाको मुखबाट कनिका सुन्न चाहन्थी, ओहो। बिचरीले त्यो पाइन।
 
उसलाई रमाइलो लागेको दिन कनिकाको ड्रेस कोड बदलिन्थ्यो। आज पनि बदलियो। उसले स्लीभलेस टप लगाएकी थिइ जसले उसको वक्षस्थलको सुन्दरता बढाएको थियो। पिंक कलरको त्यो टपले उसका कर्भसहरुलाई अझै खुलाएका थिए। ऊ निकै मादक देखिएकी थिइ। कानमा पिंक कलरकै टप, घाँटीमा पिंक कलरको स्टोनको माला : कनिका सुपर सेक्सी देखिएकी थिइ। अक्सर उसका पत्रकार साथीहरु ‘हाइ सेक्सी’ भनेर जिस्क्याउँथे। मेकअप–ड्रेसअपपछि ‘सुपर मास्क’ले मुख छोपेर कनिका स्कूटीमा घुइँकिइ अफिसतिर। उसको मास्क पनि अलि अनौठो नै थियो। सामान्य मास्क वा कागजले बनेको मेडिकेटेड मास्क भन्दा बढी नै सुरक्षित थियो उसले प्रयोग गरेको मास्क। उसको ममले बैँककबाट ल्याइ दिएकी।

अफिस पुगेर कनिका आफनो कम्प्युटर अगाडि बसी। ऊ लेख्ने मूडमा थिइ। उसलाई सामाजिक संजालमा प्रयोग गरिने भाषाको बारेमा लेख्ने इच्छा थियो। उसले आफ्नै पत्रिकामा प्रकाशित बहुचर्चित समाचार टिप्पणीमाथि आएका प्रतिक्रिया हेरी। एकैछिनमा उसको आन्द्रा बटारिएर आयो। बान्ता होला जस्तो भयो। नेपालको सोसल मेडिया कस्ता बेकम्मा र अशिक्षित जमातको हातमा रहेछ। कनिकाले कतै पढेकी थिइ, बाहिरी संसारमा मिडियामा प्रकाशित समाचारहरुको अध्ययन हुन्छ। सचेत मानिसले सुझाव दिन्छन्। ती सुझावको अध्ययन गरेर सुधार गरिन्छ। हाम्रो देशमा मिडियाका उत्पादक र उपभोक्तालाई सामाजिक संजालले कठघरामा उभ्याउने प्रयास गर्दछ। यस्तै हो भने किन चाहियो गजेट? किन चाहियो गोरखापत्र? किन चाहियो कान्तिपुर दैनिक र यसका प्रकाशनहरु? किन चाहियो, काठमाडौं पोष्ट? किन चाहियो नागरिक र अन्नपूर्ण? किन चाहियो नेपाल समाचारपत्र र राजधानी? किन खुल्नु पर्‍यो सयौं चौबीस घण्टे अनलाइन पत्रिका? हजारौंको संख्यामा एफ एम र सयौंको संख्यामा टेलिभिजन? एउटा फेसबुक मात्रै भए काम तमाम भै गो त  अर्कालाई गाली गरेर आफनो राष्ट्रवादको किला ठोक्ने सबभन्दा विशाल किल्ला । 
संसारभरका मिडिया र सोशल मिडियाले जनतासँग सम्वन्धित विषय, स्थान, स्रोत र विचारको चर्चा गर्दछ। हामीकहाँ त हरेक विचार या त सुखको खोजमा युरोप अमेरिकातिर भासिएका राष्ट्रवादीबाट आउँछ या राजनीतिक दलका कारिन्दाहरुको दिमागबाट आउँछ। यसको सदुपयोग खाडी मुलुक, मलेसिया र कोरियातिर पुगेका सामान्य गरीखाने वर्गका नेपालीले गरेका छन्। होइन भने यसले आफनो अर्थ हराइसकेको छ । जन्म मृत्युको सूचना त आवश्यक भयो। बाढी पहिरोका समाचार महत्वपूर्ण भयो। व्यक्तिगत अभिव्यक्तिको महत्व छँदैछ। तर, आफनो टाइमलाइनमा राखेको विचारका कारण आमाचकारी गाली गर्नेको भीड कहाँबाट जम्मा हुन्छ एफबीमा?
 
कनिका फेसबुकमा टाइमलाइनको विचरण गर्दै थिइ। उसको आँखा झ्वाट्ट पर्यो यौटा रियाक्सनमा। पुष्करदेव मिश्र भन्ने कसैले लेखेको थियो – कुत्ता। घनश्याम रेग्मी नामधारी अर्को सज्जनले लेखेको थियो – ती पत्रकारले देउवाको कोटको खल्तीमा बसेर सत्ता पाउनका लागि धुर्त पाखण्डी दलाली पाराको लेख लेख्लान् भन्ने सोचेको थिइन। अर्का एकजना सचेत नेपाली नामका सज्जनको भनाइ गजबको थियो – सरलाइ म राम्रोसँग चिन्छु, उहाँ मध्यपानको पौरखी हो, र आफनो जीवनसँग सन्तुष्ट हुनुहुन्न, त्यसैले कहिलेकहीं भित्रको कुण्ठा विभिन्न रुपमा बाहिर निक्लन्छ ।
उहाँको असंवेदनशील पत्रकारिताको कारणले एक युवतीले केही वर्ष पहिले आत्महत्या गरेकी थिइन, त्यो घटनाबाट शिक्षा लिन छाडेर अझै पनि कमजोरीलाई नियोजित योजनाको रुपमा प्रस्तुत गरी नेपालको एक उदाहरणीय कार्यक्रममाथि हमलागर्दै हुनुहुन्छ। उहाँप्रति करुणा जागेर आउँछ। 

अर्को रमाइलो टिप्पणी थियो कुनै दिनेश दाहाल भन्नेको । उनले लेखेका थिए – देउवाको सल्लाहकारहुने लोभले बीबीसीलाई समेत आरोप लगाउन पछि परेनन । ...यो डिजाइन केपी ओलीको कसो भनेनन्।

कनिकालाई लाग्यो, ऊ पढेलेखेको सुशिक्षित समाजमा होइन, कुनै जंगलमा छे। उसलाई डर लाग्यो एकैपटक यति धेरै झुठ बोल्ने मानिसहरुको सामाजिक संजालका बारेमा केही लेख्नु नै बेकार र गैर जरुरी कुरा हो। उसले कम्प्युटर बन्द गरी। कफी पसलतिर लागी। कफी मंगाइ। सिगरेट सल्काइ र सोचमग्न भइ। 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


कान्तिपुर गाथा : अर्थ हराइसकेको सोसल मिडिया को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट