PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


कान्तिपुर गाथा : खाना खजानाको शहर


किशोर नेपाल

कान्तिपुर गाथा : खाना खजानाको शहर
प्रतीकात्मक फोटो : huffpost.com

कान्तिपुरका खाना–खजाना स्तम्भकार सुरज कुँवरले चाइनिज भान्सा भर्सन थ्रीमा वाउ जुआनको चर्चा गरेका छन्। सोल्टी होटेल परिसरको त्यो रेष्टुरामा चिनियाँ खानाको स्वाद लिन एक जनालाई जम्मा दुई हजार लाग्ने रहेछ। तर, सुरज भाइले खानाको उँचो वर्णन गरेर बिलको वजन घटाइदिए। रेष्टुराँमा खाना एक्लै खाने आइटम नै होइन। चारजनाको एउटा परिवार डिनर खान वान जुआन पुग्यो भने त्यसको सिधै आठ हजार खर्च भो। त्यसमा कोक र जुस जस्ता तपसिलका वस्तुहरु जोड्दा त एकै छाकमा दश हजार गयो। समाजमा धाक जमाउन खानाको मूल्यसहित फेसबुकमा स्टेटस लेख्ने हो भने कति नेपाली फेसबुक युजरले के के आरोप लगाएर लान्छित गर्ने हुन? के थाह! त्यसो त कान्तिपुर शहरमा महिनाको दश लाख कमाएर दिनको दश हजार खर्च गर्ने मानिसको कमी छैन्। तर, किन हो त्यस्ता मानिस कामदारलाई एभरेष्ट मोमो किन्न पठाउँछन्। मोमो खान्छन। डकार्छन।

कान्तिपुर शहर पल पलमा बद्लिरहेको हुन्छ। हाम्रो शहरसँग बद्लिने सम्भावनाहरु धेरै छन्। त्यस्ता सम्भावनाहरु हरेक दिन बढेर गइराखेका हुन्छन्। शहरमा कलाकारहरु छन्। कलाकारिता छ। कलाकारहरु गुनासो गर्छन्, यो शहरसँग आत्मा छैन। मेरो विचारमा कान्तिपुर शहरको आत्मा नभएको होइन। अहिले त्यो आत्मा शहरमा पानीको पाइप गाड्ने नाममा उत्पादन भएको धुलोमा लटपटिएर नचिनिने भएको मात्रै हो। अब यो आत्माको कथा पनि यस्तै उस्तै हो। मानिसहरु आत्मा र परमात्माबाट अलि परै बस्न थाले। 

शुक्रवार बिहानको समय उदासउदास बित्यो। चनमते रिपोर्टर कनिका बिदामा बसेकीले रुटिन गोलमाल भयो। पूरै समय सम्झनामा बित्यो। त्यो सम्झना चाहिँ पैंतिस वर्ष अघिको काठमाडौंको सम्झना थियो। 

त्यतिबेला मरु गणेशको छेउमा एउटा रेष्टुराँ थियो। पाँच रुपियाँ खल्तीमा राखेर गएपछि खाजा टन्न खान पाइने। शुध्द शाकाहारी। रेष्टुराँ संचालक टिलिक्क टल्किएका। टिपटप। त्यो रेष्टुराँ निकै समय चल्यो। पाँच रुपैयाँको खाजाको मूल्य दुई सय पुगेपछि भने संचालकले रेष्टुराँ नै बन्द गरिदिए। अर्को सम्झना थियो मोमो अर्थात् ममचाको। इतिहासविद, उपन्यासकार तथा कवि धूस्वाँ सायमीको घरको पसल कवलमा थियो झरना रेष्टुराँ। उतिबेलाका कवि, कलाकार र पत्रकारहरुको लुसुक्क पस्ने ठाउँ। गोलभेंडा र धनियाँको बेग्लाबेग्लै अचारसँग ममचाका साना साना गेडा। एक प्लेटले त पेटै नभरिने। अहिले झरना रेष्टुराँ छ कि छैन? थाह भएन। केही वर्ष अघिसम्म थियो अलिकति पर गल्लीमा। यस्ता रेष्टुराँहरु शहरका सम्पत्ति हुन्। यस्ता सम्पत्तिको लेखाजोखा नगर्ने हो भने शहर जिवन्त रहन सक्दैन। राम्रा र सस्ता रेष्टुराँमा गएर खान जति पनि खर्च गर्ने उत्सुकता छ मानिसमा। हुनुपर्ने त खाना खजानाको शहर नै हो कान्तिपुर। तर यो अहिले ब्रोइलर भएको छ। यता पनि बढेको छ उता पनि बढेको छ। तल पनि तानिएको छ माथि पनि तानिएको छ। 

खाना र खाजाको दुनियाँमा नमीठो भन्ने केही हुँदैन। कसैलाई चाइनिज खाना मीठो लाग्ला कसैलाई भारतीय। कसैलाई कोरियन नमीठो लाग्ला। चीन र कोरियातिर कुकुरको मासु खान्छन्। कुकुरको मासु खाने चलन र संस्कार नहुने हामी भनिदिन्छौं 'छि!' तर, कुकुरको मासु खानेले त छि भन्दैन। यो शहरमा त्यस्ता धेरै रेष्टुराँ छन् जहाँ एकपटक पसेपछि फेरि सित्तैं खान दिए पनि पस्न मन लाग्दैन। ती रेष्टुराँले समयसँगै आफूलाई सुधारे राम्रै हो। नभए बन्द हुन्छन्।

कुनैबेला कान्तिपुर शहरको हव थियो झोछें। अहिले त्यो हव ठमेल बनेको छ। यता आएर, ठमेल कान्तिपुर शहरको इन्टरटेनमेन्ट सेन्टरबाट बिजिनेस डिस्ट्रिक्टमा रुपान्तरित भइसकेको छ। अब यो फेरि झोंछें सर्छ कि अलमलिएर सकिन्छ? यसै भन्न सकिन्न। यति पक्कै हो कान्तिपुरमा खाना गाना र बजानाको अभाव पक्कै हुने छैन।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



कान्तिपुर गाथा : खाना खजानाको शहर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट