PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​रसियासँग मूल्यको युद्ध



  • आन्द्रेस फग रासमुसेन -
नेटोको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा डेनमार्क संलग्न भए उसको युद्धकजहाजलाई पारमाणविक क्षेप्यास्त्रको लक्ष्य बनाइने चेतावनी रसियाली अधिकारीहरूले हालै दिएका छन् । रसियामाथि आक्रमण गर्ने कुनै मनसाय नभएको एउटा मुलुकमाथि यो स्पष्ट रूपमा अपमानजनक धम्की हो । क्रेमलिनको विदेशनीतिको विषयमा एउटा बढी आधारभूत तत्वलाई यसले प्रतिविम्बित गर्छ । रसियाको अधिकारमाथि अभूतपूर्व रूपमा चुनौती देखिएको समयमा आफ्नो रणनीतिक प्रभाव कायम राख्न क्रेमलिन दुस्साहस गरिरहेको छ । 

नेटोको क्षेप्यास्त्र प्रतिरक्षा आफ्नो मुलुकप्रति लक्षित छैन भन्ने कुरा निश्चय पनि रसियाली नेताहरूलाई राम्रोसँग थाहा छ । सन् २००९ देखि २०१४ सम्म मैले नेटोको महासचिवको रूपमा सेवा गरेको समयमा यसको उद्देश्य गठबन्धनका सदस्यलाई युरो–आन्ध्रक्षेत्रबाहिरबाट आउने चुनौतीबाट जोगाउनु रहेको भनी हामीले पटकपटक जोड दिएका थियौँ । रसियाली जनताले उत्तम स्थान हासिल गरेका दुई विषय भौतिकशास्त्र तथा इन्जिनियरिङका आधारभूत ज्ञान मात्र हासिल गरेको कुनै पनि व्यक्तिले निश्चित रूपमा सोही कार्य गर्न यस प्रणालीको ढाँचा तयार गरिएको छ भन्ने कुरा देख्नसक्छ । 

डेनमार्क तथा अन्य मुलुकविरुद्ध रसियाको पारमाणविक चुनौती आर्थिक, जनसाङ्खिक तथा राजनीतिक रूपमा गिर्दो कमजोर मुलुकको प्रमाणचिन्ह हो । क्रेमलिनको प्रचारप्रसारमा दाबी गरिए झैँ नेटोले रसियालाई उग्ररूपमा पीडित बनाएको छैन । रसिया तथा पश्चिमी मुलुकबीच वर्तमान द्वन्द्व युक्रेनको सङ्कटमा केन्द्रित रहेको छ र यो मूल रूपमा मूल्यको द्वन्द्व हो । 

युक्रेनी द्वन्द्व कसरी आरम्भ भयो भनी स्मरण गरौँ । युक्रेनी समाजका सबै भागका लाखौँ नागरिकले अत्यधिक रूपमा शान्तिपूर्ण प्रदर्शनमा युरोपेली युनियनसँग आवद्धताको सम्झौता गर्न माग गरेका थिए । क्रेमलिनले आफ्नो मुलुकमा दाबी गरे पनि कसैले पनि युक्रेनका रसियाली भाषा बोल्ने व्यक्तिको विनाशको माग गरेका थिएनन् । नेटोको सदस्यता उक्त सम्झौताको भाग थिएन । 

यसो भए पनि रसियाले तत्कालै र कडा रूपमा प्रतिक्रिया व्यक्त ग¥यो । प्रदर्शनमा हिंसा देखिनुभन्दा निकै अगाडि रसियाली अधिकारीहरूले प्रदर्शनकारी नवनाजी, कट्टरपन्थी तथा उत्तेजक भएको आरोप लगाउन थालेका थिए । युक्रेनका तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिच किभबाट भाग्दै गर्दा रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमियालाई गाभ्ने योजना आरम्भ गर्नुभयो । 

उक्त कार्य अन्तर्राष्ट्रिय कानुनको ठूलो उल्लङ्घन मात्र थिएन त्यो कुनै पनि मुलुकलाई अरूको खर्चमा आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छैन भनी रसियाले प्रायः दिइहेको जोडको पनि प्रत्यक्ष उल्लङ्घन थियो । युक्रेनका प्रदर्शनकारीले रसियाको नभई आफ्नै सरकारको विरोधमा प्रदर्शन गरेका थिए । वास्तवमा युक्रेन रसियाका लागि सैनिक चुनौती बन्नसक्छ भन्ने अभिप्रायः हास्यास्पद भन्दा बढी केही थिएन । युक्रेन नेटोको सदस्य भए पनि रसियाविरुद्ध उग्रताको युद्धले गठबन्धनको कुनै पनि अभिरुचि पूरा गर्ने नभएकाले त्यो हास्यास्पद परिदृष्य हुनेथियो । 

युक्रेनका प्रदर्शनकारीको चुनौती रसियाका लागि उसको अस्तित्वको विषय थियो । रसियाको ढोकाबाहिर परिवर्तन, स्वतन्त्रता तथा प्रजातन्त्रको माग रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनको ‘‘सार्वभौम प्रजातन्त्र’’ को नमुनाप्रति प्रदर्शनकारीले दिएको चुनौती भन्दा कम थिएन । ‘‘सार्वभौम प्रजातन्त्र’’को नमुनामा राष्ट्रपति पुटिन सबै विरोधलाई नष्ट गर्नुहुन्छ, आमसञ्चारको स्वतन्त्रतामा प्रतिबन्ध लगाउनुहुन्छ र जनतालाई अब उनीहरू आफ्नो नेता छनौट गर्नसक्ने अवस्थामा पुगेको बताउनुहुन्छ । युक्रेनी जनताले चाहेको कुरा पाए रसियाली जनता पनि सोही उदाहरणको पछि लाग्न अभिप्रेरित हुनेछन् भनी क्रेमलिन डराएको थियो । 

यसैले युक्रेनका नेता रसिया विरोधी (रुसोफोब्स) तथा फासिवादी भएको भनी नाम दिन रसियाली नेताहरू बढी इच्छुक देखिएका थिए । यसैले बाल्टिक राज्यलाई वर्षौँसम्म आफ्ना रसियाली नागरिकमाथि गलत रूपमा दमन गर्ने राज्यको रूपमा उनीहरूले चित्रण गरेका थिए । यसैले अहिले उनीहरूले युरोपेली युनियनलाई पतनोन्मुख, अनैतिक तथा भ्रष्टको रूपमा चित्रण गरिरहेका छन् । क्रेमलिन रसियाली जनतालाई उदारवादी प्रजातन्त्र खराब कुरा हो र राष्ट्रपति पुटिनअन्तर्गत जीवन राम्रो छ भन्ने कुरामा विश्वास पार्न हतासपूर्ण रूपमा प्रयास गरिरहेको छ । यसका लागि क्षतिकारक झुटा बयान आफ्नै मुलुकमा फैलाउनु आवश्यक छ भने आफ्ना छिमेकमा हिंसा तथा अस्थिरता भइरहेको देखाउनुपर्छ । 

रसियाको व्यापक प्रचार आक्रमणका अगाडि हामीले युक्रेनका साथै जर्जिया तथा इस्टोनिया, लात्भिया, लिथवेनियाजस्ता नेटोका सदस्यका लागि निरन्तर रूपमा उभिनुपर्छ । जुनसुकै पीडा भोगे पनि हामीले रसियाविरुद्ध प्रतिबन्ध कायम गर्नुपर्छ र आवश्यक परेमा त्यसलाई अझै गहिरो बनाउनुपर्छ र नेटोको अग्रपङ्क्ति बलियो बनाउनुपर्छ । हाम्रो प्रतिरक्षाको मूल्य लामो समयसम्म तिर्नुपर्छ भन्ने वास्तविकतालाई हामीले सामना गर्नुपर्छ । 

पश्चिमी मुलुकको सबैभन्दा ठूलो बल भनेको प्रजातन्त्र हो । यसले नै हामीलाई दुई पुस्ताका लागि शान्ति सुनिश्चित गरिदिएको छ र एउटा पनि गोली नहानिकन युरोपमा कम्युनिस्ट शासन अन्त्य गराइदिएको छ । उदारवादी प्रजातन्त्र पूर्ण हुन निकै बाँकी भए पनि कट्टरपन्थी, असहिष्णुपनाविरुद्ध यो सबैभन्दा राम्रो प्रतिरक्षा बनेको छ र यो मानव प्रगतिको सबैभन्दा शक्तिशाली सहजकर्ता बनेको छ । 

रसियाली जनतालाई सुधार खोज्न उसका छिमेकीले अभिप्रेरित गर्नसक्छन् भन्ने कारणले मात्रै उनीहरूमाथि आक्रमण गर्न पश्चिमी मुलुकले रसियालाई अनुमति दिने हो भने प्रजातान्त्रिक मूल्यको प्रतिरक्षा गर्नुको कुनै अर्थ छैन भन्ने यसले सन्देश दिन्छ । विश्वभरका समाजले अनुसरण गर्ने अपेक्षा गरिएका समृद्धि तथा स्वतन्त्रताको नमुनाको रूपमा पश्चिमी मुलुकको भूमिकालाई यसले कमजोर बनाउँछ । यसले पश्चिमी मुलुकको बाँकी भएको नैतिक अधिकार मात्र होइन नेटोलाई जीवित राख्ने उद्देश्यको भावनालाई पनि मेटाइदिन्छ । 

यस्तो विधिले पश्चिमी मुलुकलाई रसियाली राष्ट्रपति पुटिन तथा उहाँजस्तै आक्रमणकारीबाट आक्रमण गर्नसक्ने बनाउँछ । स्वतन्त्रता तथा प्रजातन्त्रको खोजमा हरेक दिन आफ्नो जीवन जोखिममा पार्ने विश्वभरका साहसी महिला तथा पुरुषको अनुहारमा यो थप्पड हुनेछ । 

क्रेमलिनका भ्रम प्रचारक नेता (स्पिन डक्टर्स) बाट कोही पनि मुर्ख बन्नु हुँदैन । युक्रेनको सङ्घर्ष युक्रेनसँग मात्र सम्बन्धित कुरा होइन । न त यो रसियासँग सम्बन्धित कुरा हो वा नेटोसँग सम्बन्धित कुरा नै । यो प्रजातन्त्रसँग सम्बन्धित कुरा हो । पश्चिमी मुलुकले यसलाई त्यस्तै प्रकारले जवाफ दिनुपर्छ ।

​(आन्द्रेस फग रासमुसेन नेटोका पूर्व महासचिव र डेनमार्कका पूर्व प्रधानमन्त्री हुनुहुन्छ र हाल उहाँ रासमुसेन ग्लोबलका अध्यक्ष हुनुहुन्छ)

​अनुवाद: सुरेन्द्रबहादुर नेपाली, प्रोजेक्ट सिन्डिकेट/रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell