PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सरकार भन्छ : ​जाजरकोटमा मृत्युको कारण स्वाइन फ्लु होइन



सरकार भन्छ : ​जाजरकोटमा मृत्युको कारण स्वाइन फ्लु होइन

  • मनोज सत्याल/पहिलोपोस्ट -
काठमाडौँ : सरकारले जाजरकोटमा फैलिएको महामारीमा मानिसको ज्यान जानुको प्रमुख कारण स्वाइन फ्लु नभएको जनाएको छ। संसदको महिला, बालबालिका तथा समाज कल्याण समितिको छलफलमा सरकारका अधिकारीहरुले स्वाइन फ्लु प्रमुख कारण नभएको भन्दै गलत प्रचार भइरहेको टिप्पणी गरे।

'मिडियाले २७ जनाको मृत्यु भएको भनेको छ तर हामीसँग मृत्यु हुनेको डिटेल २४ जनाको मात्र छ। मृत्यु हुनेमा पनि ५० वर्षभन्दा कम उमेरका ३ जना मात्र छन्। मृत्युको कारण पुरानो दम र खोकी देखिएको छ। स्वाइन फ्लूले होइन। तर म अहिले विवादमा जान चाहन्न। पछि यो छुट्याउँला,' स्वास्थ्य मन्त्रालयका इपिडियोमियोलोजी तथा रोग नियन्त्रण विभागका प्रमुख डाक्टर बाबुराम मरासिनीले भने।

बुधबार नै संसदको लेखा समितिमा गृहमन्त्रीले समेत हालसम्म स्वाइन फ्लूले तीन जनाको मात्र ज्यान गएको तर हल्ला धेरै भएको बताए।
'जाजरकोटमा अहिले मान्छे जुनसुकै कारणले मरे पनि स्वाइन फ्लु भन्ने अवस्था आएको छ। हल्ला नै त्यस्तै छ। नपत्याए ढुङ्गाले हान्ने अवस्था आउनसक्छ। तर त्यहाँ पुगेर आउनेले तीन जना मात्रै मरेको भनेका छन्', गौतमले भने।

'एसएलसीको बेला वरिपरिका गाउँका मान्छे एकै ठाउँ भएका बेला यो रुघाखोकी फैलियो। अनि वर्षा र हिमपातका कारण छिटो फैलियो। नत्र यो समय रोग फैलने सिजन होइन', मरासिनीले भने।

'मौसमले साथ दिएकाले रोगी र मृत्यु दर बढेको छ, त्यसमा स्वाइन फ्लुको भाइरसले एट्याक गर्दा मृत्युमा लैजान्छ। नत्र स्वाइन फ्लूको लक्षण देखिन र मृत्यु हुन सात दिनसम्म समय लाग्छ। हामीले नयाँ रोगी, फलोअपमा आएका रोगी, पहिलाको बिरामी गरेर छुट्याएका छौँ। अब यो रोग दश दिनमा नियन्त्रणमा आउँछ', मरासिनीको भनाई थियो।

उनले जाजरकोटमा ५१ प्रतिशत जनता कुपोषित रहेको, प्रतिव्यक्ति आय सरदरको ठ्याक्कै आधा रहेको बताए।

स्वास्थ्य मन्त्रालयका निमित्त कमाण्ड प्रमुख डाक्टर बासुदेव पाण्डेले पनि अहिले नै भ्याक्सिन दिन आवश्यक नरहेको बताए। उनले १ हजारमा ३३ प्रतिशतमा मात्र स्वाइन फ्लु देखिएको बताए। तर जाजरकोटमा एक्सरे मेसिन र रगत परिक्षण गर्ने अवस्था समेत नहुँदा समस्या भएको उनले बताए।

यहाँ ल्याएर ल्याबमा परिक्षण गर्दा पनि सामान्य फ्लु देखिएको उल्लेख गर्दै उनले नेपाली मौसम अनुसार एन वान एच वान भाइरस फेरिएको त होइन भनेर डब्लुएचओको ल्याबमा परीक्षण गरिरहेको बताए।

पाण्डले डब्लुएचओका प्रतिनिधिले मिडिया रिपोर्टमा आश्चर्य व्यक्त गरेको उल्लेख गर्दै नर्मल फ्लुलाई स्वाइन फ्लुको रुपमा प्रचार हँदा रिस्क मेनेजमेन्ट समस्या हुँदैन भनेर प्रश्न उठाएको बताए।

'मैले त्यहाँको डाक्टरहरुसँग कुराकानी गर्दा सर्ट लगाएर बस्ने अवस्था दिउँसो छ भन्नु भएको छ, त्यसको मतलब अब त्यहाँ थप रोग फैलने अवस्था छैन,' उनले भने। 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डाक्टर सनेन्द्रराज उप्रेतीले ६ महिनाअघि रेबिजले टोकेर मृत्यु भएको व्यक्तिसमेत स्वाइन फ्लु भनेर आइरहेको बताए। उनले अधिकांश मृत्यु भएका मानिस डाक्टरको सम्पर्कमा नआउँदै ज्यान गुमाएको बताए।

सरकारले खटाएको स्वास्थ्य टोलीसँगको भेटपछि कसैको पनि ज्यान नगएको उप्रेतीको भनाई थियो।

उनले स्वाइन फ्लूको उपचारका लागि भ्याक्सिन उपलब्ध भएको तर भ्याक्सिन शतप्रतिशत उपचार नभएको बताए। 'भ्याक्सिन महङ्गो छ र काम गर्छ गर्दैन थाहा छैन', उप्रेतीले भने।

समिति बैठकमा सभासद् डा वंशिधर मिश्रले सूचनाका लागि मिडियामा भरपर्नु पर्ने अवस्था अन्त्य गर्न माग गरे। उनले मिडियामा भर पर्नु परेको अवस्थामा मिडियालाई सहि सूचना दिन सरकारको ध्यानाकर्षण गराए।

स्वास्थ्यमन्त्री खगराज अधिकारीले स्वास्थ्यकर्मीसँग सम्पर्कमा आएका धेरै बाँचेको बताए। उनले ग्राण्डी अस्पतालमा समेत स्वाइनफ्लुका कारण मृत्यु भएको उल्लेख गर्दै स्वास्थ्यकर्मी पुग्यो भन्ने बित्तिकै मर्दैन भनेर ग्यारेन्टी गर्न नसक्ने बताए।

त्यसअघि सभासद्हरुले तत्काल जाजकोरटको महामारीमा मृत्यु रोक्न माग गरे।

'अस्पताल छ भनेर के काम? इक्युप्मेन्ट छैन अस्पतालमा, हामीले एक गाँउ एक डाक्टर नीति नलिएसम्म बिरामी मर्ने अवस्था अन्त्य हुदैँन, महामारी हुदाँ समेत योजना आयोगले पाँच प्रतिशत भन्दा रकमान्तर नगर्न भन्छ, अधिकारीले गुनासो गरे, 'बिरामी ओसार्ने एयर एम्बुलेन्स किन्न बजेट आवश्यक छ।'

उनले मन्त्रिपरिषद्बाट केन्द्रीय समन्वय समिति गठन गरेपछि मात्र सेनाको हेलिकप्टर परिचालन लगयातमा सहयोग मिलेको बताए। 'नत्र बजेट अभावको विषय उठेकै हो',अधिकारीले भने।

टोलटोलबाट डाक्टर माग भएपनि सरकारले आवश्कता हेरेर डाक्टर खटाउने उनले बताए। ३७ जना डाक्टर जाजरकोट पुगेकोमा ७ जना फर्किएको र ३० जना अझै त्यहीँ रहेको बताए। झण्डै ६० को संख्यामा स्वार्थ्यकर्मी परिचालन भएको उनले बताए।

समितिले सरकारलाई स्वास्थ्य क्षेत्रको बजेट वृद्धि गर्न बुधबार नै निर्देशन दिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell