PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

के भविष्य यस्तैको हो? आठ सय यात्रु अट्ने तीन तल्ले जहाज



अहिले विश्वमा सबैभन्दा ठूलो व्यवसायिक जहाज एयरबसको ए ३८० हो। यसमा  ५ सय २५ जनासम्म यात्रु अट्छन्। 

तर डिजाइनर अस्कर भिनाल्सले परिकल्पना गरेको भविष्यको जहाज अचम्मको छ। सिएनएनका अनुसार गत वर्ष उनले डिजाइन गरेको एडब्लुडब्लुए स्काइ ह्वेलमा ७ सय ५५ जनासम्म यात्रु अट्छ। 

यसपालि त उनले अझै अगाडि बढेर पटक्कै कार्बन नछाड्ने वातावरणमैत्री तीन तल्ले जहाजको डिजाइन गरेका छन्। एडब्लुडब्लुए-क्‍युजी प्रोग्रेस इगल नामको यो जहाजले उड्नका लागि छ वटा हाइड्रोजन इन्जिनको सहायता लिनेछ। 

विन्ड टर्बाइनको रुपमा काम गर्ने रियर इन्जिन रहने यो जहाजको छतमा र पखेटामा सोलार प्यानल हुनेछ। यसको मतलब यो जहाजले आफूलाई चाहिने ऊर्जा आफैले उत्पादन गर्ने क्षमता राख्छ। 

डिजाइनरका अनुसार यो जहाजले आवाज पनि निकाल्दैन। अनि यो जहाजको क्षमता ? अहिलेको सबैभन्दा बढी अट्ने जहाजभन्दा २ सय ७५ जना बढी अर्थात् ८ सयजनासम्म।

अहिलेका जहाजमा बिजनेस क्लास र इकोनोमी क्लास मात्र हुन्छन्। यो जहाजमा भने नयाँ पाइलट क्लास पनि हुनेछ जसबाट गज्जबका प्यानोरेमिक दृश्य हेर्न सकिन्छ।  प्राइभेट कोठा, पसल र रेस्टुरेन्टहरु पनि राख्न सकिनेछ। 

अस्करका अनुसार १२ घण्टा यो जहाजमा बस्ने हो भने जहाजमा होइन होटलमा बसेको जस्तो अनुभूति हुनेछ। यसले लामो फ्लाइटमा उड्नु पर्दाको तनाव हटाउने उनको आशा छ। 

यद्यपि अहिलेलाई उनको यो अवधारणा खासमा अवधारणाभन्दा अलि बढीमात्रै छ। उनको डिजाइनअनुसार काम हुनका लागि प्रविधि अझै धेरै परिवर्तन गर्न बाँकी नै छ। 

उनी स्वीकार गर्छन्, अहिलेलाई यस्तो बनाउन ४० प्रतिशत प्रविधिमात्रै छ। उनले सन् २०३० सम्म यस्तो जहाज उड्न सक्ने आशा पनि राखेका छन्। (सिएनएन)
 

















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell