PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

यसरी भिरबाट झर्‍यो बस, धादिङबाट स्थलगत रिपोर्ट



यसरी भिरबाट झर्‍यो बस, धादिङबाट स्थलगत रिपोर्ट

  • ऋषिकेश दाहाल-
नौबिसे : कलंकीबाट १३ किलोमिटर पार गरेपछिको ठूलो घुम्ती पारमात्र के भएको थियो चालकको आत्तिएको आवाज सुनियो। 'हाम्रो बस खस्यो,' अघिल्लो बसका ड्राइभरले ब्रेक दबाउँदै दुर्घटनाको जानकारी गराइरहँदा दायाँतिरबाट देखियो : पारी एउटा बस सोझै भिरतिर झरिरहेछ।

भारतको गुजरातबाट तीर्थयात्राका लागि आएका दुई बसमध्ये एउटा बस धादिङको नौबिसे ३ मा भिरबाट झर्दा उनीहरुसँगै आएकाहरु सडक पारीबाट घटनाको साक्षी भइरहेका थिए। हो, त्यही दुर्घटनाले घटनास्थलमा १४ को ज्यान लियो र ३ जना अस्पतालमा छटपटिँदै बिते।

यसरी भयो दुर्घटना

थानकोटबाट नौबिसेसम्मै साना ठूला घुम्ती पार हुनुपर्छ। यो १० औं घुम्ती थियो। बिहान ६:४० को समय। बस आफ्नै ट्र्याकबाट एक्कासी दायाँतिरको भिरतिर ब्रेक लगाउँदै तेर्सियो। करिब ६६ फिट सडकमा टायर घिस्रिँदै बस ३ फिट अग्लो तारजाली ढुंगाको पर्खाल चढ्यो र तलतिर खस्यो।

'अगाडिबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस भिरतिर पुगेको हो,' अघिल्लो बसमा यात्रा गरिरहेका ईश्वर भाइ सतवाराले भने, 'यताबाट गएको मोटरसाइकल अनियन्त्रित रुपमा दौडिएको थियो।'

उनको भनाइ बाहेक मोटरसाइकल नै दुर्घटनाको कारण थियो या थिएन स्वतन्त्र रुपमा पुष्टि गर्न सकिन्न। यतिमात्र हो, मोड नै भए पनि फराकिलो सडकमा तीनवटा गाडी सहजै पास हुनसक्ने स्थानमा दुर्घटना त्यसै भएको छैन।

चालक, सहयोगी र यात्रु गरी ४५/४५ जना रहेको दुईवटा बस बिहान ५:३० बजे पशुपतिबाट छुटेको थियो। जी जे ९ एक्स ९८८८ नम्बरको बस अघिअघि र जी जे १४ एक्स ९९०० नम्बरको बस पछिपछि थियो। थानकोट सुरुङ मार्गको प्रस्तावित ठाउँको मोड पार गर्दा अघिल्लो बसका चालकले आफूहरुसँगै आएको बस दुर्घटनामा परेको जानकारी दिएपछि पछिल्लो बसभित्र खैलाबैला मच्चिएको थियो।

दुर्घटनामा उनीहरुले के देखे त ? अघिल्लो बसमा यात्रारत देवजी भाइले भने, 'घुम्ती कट्नासाथ बस तलतिर झर्‍यो। बसमा रहेकाहरु चिच्याइरहेको यहाँबाटै सुनिन्थ्यो।'

एकै गाउँका धेरै

देवजी भाइ सतवाराको भाइ र बुहारी दुवै पछिल्लो बसमा थिए। 'बुहारी (गौरी देवजीविन) बितिसकिन्,' बसबाट निकालिएको लाशहरु राखिएकै ठाउँमा अलमल्ल अवस्थामा भेटिएका उनले सुनाए, 'अरु को-को के भए जानकारी छैन।'

दुई बसमा ८० जना आफन्त र परिवारका सदस्यहरु तीर्थयात्राका लागि आएका थिए। दुर्घटनामा पर्नेहरु उनीहरुकै छिमेकी र आफन्तहरु हुन्। सबै आफ्नै वरिपरिका रहेकाले दुर्घटना र मृत्युले उनीहरुलाई नराम्ररी चिमोटेको छ।

सतवाराका अनुसार भारतको गुजरात राज्यको सुरेन्द्रनगर जिल्लाको बोधावन गाउँबाट तीर्थयात्रा गर्दै उनीहरु काठमाडौं आएका थिए। त्यसो त गुजरातको यो जिल्लाबाट काठमाडौंको सडक दुरी १ हजार ८ सय ८४ किलोमिटरमात्र हो। तर, उनीहरु दक्षिण भारतका रामेश्वरम, जगन्नाथ हुँदै कलकत्ता आएका थिए। त्यहाँबाट बिहार हुँदै नेपाल छिरेका थिए।
 

अपुरो यात्रा

हिन्दुहरुको चर्चित तीर्थस्थलमध्ये चार धाम र तीन धाम मुख्य हुन्। पशुपतिनाथलाई समेत समेटेर उनीहरु तीन धाम र चार धामको यात्रा पूरा गर्ने तयारीमा थिए। घरबाट निस्किएको ३२ दिन पूरा भएको थियो। केदारनाथ र बद्रीनाथ अब उनीहरुको गन्तव्य थियो।

केदारनाथ र बद्रीनाथको यात्राका लागि भारतको उत्तराखण्ड सरकारले स्वीकृति दिँदा उनीहरु नेपालभित्रै थिए। आज बिहान उनीहरु आफ्नै मुलुकको चर्चित धामका लागि हिँडेका थिए। सबै तीर्थ पूरा गरेर ६५ औं दिन गुजरातमा आफ्नै गाउँ फर्केने उनीहरुको योजना धादिङको दुर्घटनाले करिब करिब रोकेको छ।

त्यति मात्र होइन आफन्त तीर्थबाट फर्कने आशामा बसेकाहरुमध्ये कतिले त उनीहरुको मृत्युको मात्र खबर पाउनेछन्।

घरतिर खबर गर्नुभयो त ? राजमार्गमा अलपत्र अवस्थामा रहेका जगदीश भाइले भने, 'आफैँ के भइरहेको छ पत्तो छैन। को बाँच्यो को मर्‍यो ? फेरि यहाँ हाम्रो मोबाइल चल्दैन।'

६५ दिनको तीर्थ यात्राका लागि प्रतिव्यक्ति ४५ हजार भारु तिरेर उनीहरु यात्रामा आएका थिए। बस दुर्घटनापछिको दृष्यले सबै मध्यम वर्गीय परिवारका देखिन्थे। खेती किसानी गर्ने र साना दुकान चलाउनेहरु नै हुन् उनीहरु। आफैँ खाना पकाएर खाने भएकाले ग्यासका सिलिन्डरहरु पनि बसमै ल्याएका थिए। दुर्घटनामा पर्दा सिलिन्डरहरु उछिट्टिएका देखिन्थे। खाद्यान्न र लत्ताकपडा छरपस्ट।

बसमा चेपिएरै मारिए यात्रु

घटनास्थलमा १२ जनाको शव निकालिसकेपछि पनि यात्रारतमध्ये केही हराएका थिए। अघिल्लो बसमा रहेकाहरु पूरै विवरणसहित घटनास्थलमै थिए भने दुर्घटनाको ५ मिनेटभित्रै प्रहरी पुगिसकेको थियो।

'दुई जनाको शव गाडीको च्यासिसमा चेपिएको अवस्थामा भेटियो। निकै मुस्किलले निकाल्न पर्‍यो,' घटनास्थल पुगेका नेपाल प्रहरीका एसएसपी उत्तमकुमार कार्कीले भने।

कार्कीका अनुसार २९ जनाको रेस्क्यु गरिएको थियो। तीमध्ये तीन जना अस्पताल पुगे पनि बाँच्न सकेनन्।

बसको बडी र च्यासिस दुईतिर उछिट्एको अवस्थामा सडकबाट करिब १ सय ५० मिटर तल पुगेको थियो। मझौलाखाले ६ वटा रुख लछार्दै तलतिर झरेको बस फेदमै भने पुगेन। बस उत्तानो परेर घिर्सिँदै जाँदा झाडीले रोकिएको देखिन्छ। भिरबाट केही तल कान्ला बारी र त्यसभन्दा फेदमा खोला थियो। गाडिभित्र रहेको बाल्टिन र गाडीका केही चोइटामात्रै बारीसम्म पुगेका थिए।

उद्दारमा खटिएका सुरक्षाकर्मीले पहिलो शव सडकबाट ५० मिटरमै भेटेका थिए। त्यसपछि अरु शव फेदतिरै भेटिएका थिए। घटनास्थलमै मर्नेमा ६ महिला र ८ पुरुष छन्।




















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell