PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दुर्घटनाका मृतक र घाइते लिएर भारतीय सैनिक विमान फर्कियो



दुर्घटनाका मृतक र घाइते लिएर भारतीय सैनिक विमान फर्कियो
फोटो : भारतीय दूतावास काठमाडौं

काठमाडौँ : हिजो धादिङमा बस दुर्घटनामा परी निधन भएका र घाइते भएका आफ्ना नागरिकलाई भारत सरकारले वायु सेनाको विशेष विमानमार्फत आज स्वदेश लगेको छ। भारतको गुजरातबाट आएका एकै गाउँका तीर्थयात्रु दुर्घटनामा परेका थिए।

हिजै भारतको विदेश मन्त्रालयका प्रवक्ताले सैन्य विमान राति नै काठमाडौं पठाउने जनाएका थिए। तर भारतीय विमान बिहानमात्र नेपाल आइपुगेको थियो। 


दुर्घटनामा परेकालाई उद्दार गर्दै काठमाडौंका ७ वटा अस्पतालमा राखिएको थियो। आफ्ना नागरिक दुर्घटनामा परे लगत्तै सक्रिय भएको दूतावासले सबै घाइतेलाई नर्भिकमा सारेका थिए। 

 
नेपालस्थित भारतीय राजदूतावासको समन्वयमा आज बिहान ११:३० मा नेपाल आएको विमान अपराह्न ३:२५ बजे फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका कामु महाप्रबन्धक वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
 
राससका अनुसार धादिङस्थित त्रिभुवन राजपथको झ्याप्लेखोलामा बुधबार बिहान भएको बस दुर्घटनामा परी १७ जनाको भारतीय तीर्थालुको निधन भएको थियो। दुर्घटनामा परी १४ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा मृत्यु भएको थियो।
 
भारतीय तीर्थयात्री बोकेको जिजेड १४ एक्स १९०० नम्बरको दुईतले बस बुधबार मोटरसाइकललाई ठाउँ दिन खोज्दा अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो। पशुपतिनाथको दर्शन गरेर छुटेको सो बसमा ४५ तीर्थालु सवार थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell