PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अब नेपाली गीत 'लिसन्ने' हैन त !



अब नेपाली गीत 'लिसन्ने' हैन त !

  • अपार प्रमोद-
काठमाडौं: समस्या औंल्याउने त धेरै हुन्छन् तर त्यही समस्याको समाधान खोज्ने जमर्को गर्ने र त्यसैमा कम्मर कसेर लाग्ने धेरै कम छन् अथवा शुन्य प्राय: छन्।

स्थापित बाहेक आफूले गरेको लगानीनै नउठाउने कलाकार धेरै छन्। नेपालमा मात्रै नभएर विश्व सांगीतिक जगत नै अहिले पाइरेसीको शिकार बनेको छ। गीत संगीतको अनधिकृत बिक्री वितरण रोक्न र यस्तै अव्यवस्थित नेपाली सांगीतिक जगतको विकल्प दिन 'लिसन' सुरु भएको छ।नयाँ प्रयोगमार्फत नेपाली गायक गायीकाका रचना बचाउने जुझारु प्रयास सुरु गरेका छन् केही युवाहरुले।

लिसनले अहिलेको अन्यौललाई 'फ्री म्युजिक स्ट्रिम'मार्फत् सम्बोधन गरेको छ। लिसनमा संगीत सुन्न कुनै पैसा लाग्दैन। तर प्रयोगकर्ताले नि:शुल्क गीत सुनिदिँदा मात्रै पनि संगीतकर्मीलाई आम्दानीको बाटो खुल्नेछ।
लिसनको अफिसियल ब्लगमा लेखिएको छ-
"Waan. Tuu. Thiree. Isstart.
How do we feel?
Scared. Petrified. Terrified. Unsure. Nauseous.
But also…
Excited. Hopeful. Pumped up. Determined. and Overwhelmed. "

यीनै हरफसँगै नेपाली संगीत व्यवस्थापनमा नौलो नाम लिसन उदाएको छ। नि:शुल्क संगीत सुन्ने र भिडियो हेर्ने साइट इन्टरनेटमा प्रसस्त छन् तर आर्टिस्टलाई तपाईंले सुनेको वा डाउनलोड गरेको गीतमार्फत् पारिश्रमिक जान्छ या जाँदैन भन्ने थाहा हुँदैन। लिसनमार्फत तपाईंले सुनेका प्रत्येक गीतबाट कलाकारले रोयल्टीमार्फत केही आम्दानी गरिरहेका हुन्छन्। अहिले प्रत्येक वैधानिक लिसनमार्फत आर्टिस्टले ०.७५ पैसा कमाउने छन्।

राम्रो गाउने आफ्ना साथीहरु इन्टरनेटमा चर्चित बने पनि उनीहरुले आम्दानी नगरेको देखेर लिसनको परिकल्पना गरेको डेभलपर मध्येका एक आयुष श्रेष्ठ बताउँछन्। आफूले समस्या देखेर नै समाधान गर्न कम्मर कसेको पहिलोपोस्टसँगको कुराकानीमा उनले बताए। उनले थपे, 'हाम्रो उमेर समूहका धेरै युवा साउण्ड क्लाउड, युट्युब लगायत बाहिरकै साइटहरु प्रयोग गर्छन् जसमा नेपाली स्वाद भएका गित र आर्टिस्ट कम छन्, त्यसो भए हामी आफै किन नेपाली संगीतलाइ नसमेट्ने भन्ने सोचका लिसन सुरु गर्‍यौं।'

अहिले भने संगीत सुन्दा विज्ञापन राखिएको छैन। निकट भविष्यमा लिसनले ग्राफिकल र अडियो विज्ञापन राख्नेछ। तर राखिएको विज्ञापनले संगीतको मज्जाभने बिगार्ने छैन। लिसन रिलिज पश्चात् मोबाइल एप्स निर्माणमा जुटेको लिसन समूहले केही महिनाभित्रमा आफ्नो स्मार्टफोन एप सार्वजनिक गर्ने सोचमा रहेको जनाएको छ। अहिले लिसनमार्फत् संगीत किन्न भने मिल्ने छैन। नेपाली श्रोता र संगीतकर्मी लक्षित लिसन ‘ग्लोबल रिच’को सम्भाव्यता अध्ययनमा जुटेको छ।

औपचारिक  रुपमा नयाँ वर्षको दिनबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेको लिसनसँग अहिले ४५ गायक/संगीतकर्मी आबद्ध छन् जसमार्फत अहिले वैधानिक रुपमानै दुईसयवटा गीत सार्वजनिक भएका छन्। नयाँ कलाकारहरु पनि अहिले लिसनमा आबद्धता जनाउने क्रम जारी छ। रिलिजको एक हप्ताभित्रमै लिसनले पाँचहजार लिसन पार गरिसकेको छ।

लिसनमा प्रख्यात गीतहरु, भर्खरै अपलोड गरिएका, कलाकार, अल्बम र मिक्सटेप गरी पाँचवटा विधा राखिएको छ। गृहपृष्ठमा सबै एल्बमहरु देख्न सकिने छन्। प्रयोगकर्ताले आफूलाई मनपर्ने गीतहरुको संगालो (प्लेलिस्ट) बनाउन सक्नेछन् जसले सांगीतिक वातावरण झन् मनमोहक बन्ने छ।
 
अब लिसन्ने हैन त !



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell